Sunday, October 27, 2024

बल्खुबासी भन्छन्, ‘सडकको धुलोले स्वास फेर्नै गाह्रो भयो’

काठमाडौं– बल्खुबासीलाई धुलो र धुँवा कुनै नौलो विषय होइन्, बरू धुँवा धुलो नउडेको दिनभने उनीहरूका लागि नौलो लाग्छ । क्षणभरमै हिलो र क्षणभरमै धुलो उड्नु बल्खुको विशेषता नै बनिसकेको छ । सडक विस्तार र गाडीबाट निस्कने विषाक्त धुँवा,धुलोको कारण बल्खुबासीले वर्षौदेखि सास्ती भोगिरहेका छन् । धुलो धुँवाले उनीहरूलाई पारेको असर बुझ्न हाकाहाकीले केही स्थानीयसँग कुराकानी गरेको छ । उनीहरूको विचार जस्ताको त्यस्तै:

मन्द विषजस्तै काठमाडौंको धुलो :रत्न बहादु श्रेष्ठ(५५)
निल्नु न ओकल्नु भएको छ, हामीहरूलाई यहाँको बसाई । वर्षाले हिलाम्मे बनाएको सडक घाम लाग्नासाथ धुलो उडेर हिँडिसक्नु हुँदैन । यहाँको धुलोले हामीलाई विस्तारै खाइरहेको छ जस्तो लाग्छ । काठमाडौंको धुँवा,धुलो मन्द विषजस्तै हो भन्दा फरक पदैन् । यहाँको धुलोले हाम्रो स्वास्थ्यलार्इ मात्र असर गरेकाे छैन्, आर्थिक भार पनि बढाएको छ । धुलो पखाल्न पानी चाहिन्छ । साबुन किन्नै पर्याे । माक्स पनि बदल्नै  पर्याे।

महिनाको एकपटक घरका चार जना सदस्यमध्ये एकलाई एलर्जी र आँखा चिलाउने रोगको लागि अस्पताल लैजानुपर्छ । सरकारले चाँडो भन्दा चाँडो यो सडक निर्माणको काम सम्पन्न गर्नुपर्याे । निर्माण कार्यसम्पन्न नहुन्जेल यो धुलो न्यूनीकरण गर्ने उपाय दिनुपर्यो ।

ज्यानमारा धुलो :पार्वती दाहाल(४३)
मैले यहाँ फलफूलको व्यापार गर्न थालेको ३० वर्षजति भयो । यो भन्दा पहिला यति धेरै धुलो उडेको थिएन । अहिले बाटो बनाउन थालेपछि धेरै धुलो उड्न थालेको हो । म वर्ष मात्र ४ पटक अस्पताल पुगिसकेको छु । मलाई धेरै एलर्जी र आँखा चिलाउने राेेगले सताउने गरेकाे छ ।अस्पताल जान्छु, औषधी खान्छु र केही दिन सन्चो हुन्छ। तर फेरि एलर्जीले सताउन थाल्छ। यो ज्यानमारा धुलोले हामीलाई खानुभन्दा पहिला यसलाई हटाउन सकिन्न ? खै, हामीले काठमाडौंमा स्वच्छ हावा कहिले खान पाउँछौ !

स्वास फेर्नै गाह्रो हुन्छ : सागर स्याङत्याङ (२५)
घरबाट बजार निस्केपछि घर फर्किदा आफैँलाई चिन्न मुस्किल पर्छ । सबैभन्दा बढी त स्वास फेर्नै गाह्रो, स्वास फेर्दा पनि धुलोको कारण उकुसमुकुस हुन्छ । यो धुलोले मलाई धेरै एलर्जी हुने गरेको छ ।

सरकारले जनताको स्वास्थ्य सुरक्षाको पनि ख्याल गरेर धुलो न्यूनीकरणसँगै जनताले स्वच्छ हावामा बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ ।

हाम्रो स्वास्थ्य उपचार कस्ले गर्छ : फुलमाया तामाङ(६०)
काठमाडौंको धुलो हामीले धेरै वर्षदेखि देखिरहेका छौं,खाइरहेका छौं र वर्षादेखि रोग पालिरहेका छौं । समाचारमा सुन्छु यो धुलो धुँवाले रूघाखोकी, दम, छाती दुख्ने, रक्तचाप, मुटु, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीलगायतका रोगहरू लाग्छ रे । यसको उपचार कस्ले गर्छ ? किन सरकारले धुलो धुँवा न्यूनीकरण गर्न सकिराखेको छैन ।

हामी यो विषाक्त वातावरणमा जीवन बिताइरहेका छौँ । के नयाँ पुस्ता पनि यही वातारणमा बस्नुपर्ने हो ?

काठमाडौं बस्नै मन लाग्दैन :महेन्द्र भण्डारी(३८)
नेपालको राजधानी काठमाडौं सफा र सुन्दर हुनसके नेपालका अरू सहरले पनि त्यस्तै सिक्थे होला तर नामको मात्र राजधानी भएको छ । यहाँ आयो की धुलो धुँवाले कहिले आफ्नै घर जाउँ जस्तो लाग्छ ।

बसाैँ–बसौं हुनुपर्ने राजधानीमा बाध्यताले मात्र म जस्ता धेरै मानिसहरू काठमाडौं आउने गर्छन् । उपचार गर्न आउने धेरै बिरामीले उपचारसँगै थप रोग पनि लिएर जान्छन् ।

प्रस्तुतीः खेमा बस्नेत

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार