Sunday, October 27, 2024

विकासका नाममा मासिँदै वन, जनप्रतिनिधि भन्छन्– रुख रोपिन्छ

काठमाडौँ – यतिबेला काभ्रेका विभिन्न स्थानहरूमा सडक निर्माणका कार्य धमाधम भइरहेका छन् । सडक निर्माणसँगै स्थानीयमा हर्षोल्लास छाएको छ । नमोबुद्ध नगरपालिकाका स्थानीय पनि सडक विस्तार भएसँगै खुसी छन् तर सडक विस्तारसँगै त्यहाँका वन भने नराम्ररी फँडानी भएको छ ।

नमोबुद्ध नगरपालिकामा हरेक वडा जोड्नका लागि सडकबाटो खोलिएको छ । तर प्राय सबै क्षेत्रमा रहेका जंगल फँडानी भएको छ । सडक निर्माण गर्दै गर्दा वन कटानी गरिएको स्थानहरूमा अहिले पहिरो जाने सम्भावना निकै नै रहेको स्थानीयवासीहरू बताउँछन् । सडक बाटो बनाउँदा बीचमा रहेका जंगलका सल्लो, चिलाउने, कुटमिरोलगायतका रुखहरू मासिएको छ । यसरी वन फँडानी गरेर सडक बनाउँदा वातावरणलाई नराम्रो असर परेको स्थानीयको धारणा छ।

सडक बनाउँदा मनलाग्दी हिसाबले रुख काट्दा अहिले वर्षायाममा पहिरोको डर भएको बताउँछन् स्थानीय कृष्ण खनाल । रुख फँडानी मात्र गरिएको र दीगो हिसाबको सडक पनि निर्माण नगरिएको उनको धारणा छ । उनी भन्छन, ‘सडक त बनाएको छ, तर सडक बनाउँदा वनको सबै रुख फँडानी गरियो, दीगो हिसाबले भन्दा सडक बनाउनु पर्छ भन्ने हिसाबले सडक बनाइएको छ ।’ यसरी सडक बनाउँदा पहाडको स्वरुप नै परिवर्तन भएको बताउँन् उनी, ‘पहिला पहाड पूरै हरियो देखिन्थ्यो अहिले भने बीचमा उजाड देखिन्छ । अब त वर्षायाम सुरु भयो झनै पहिरोले कुरुप नै बनाइदिन्छ अनि मानिसलाई पनि बसोबास गर्न डरलाग्ने भएको छ ।’

विकास निर्माणका काम गर्दा केही क्षति हुनु सामान्य रहेको बुझाइ छ नमोबुद्धका अर्का स्थानीय कविराज श्रेष्ठको । उनी भन्छन्, ‘सडक नभए कसरी विकास गर्न सक्नु र मुख्य कुरा नै सडक हो, सडकबिना त अरु कामै गर्न गाह्रो हुन्छ नि, सडक बनाउँदा अलि अलि रुख त काटिहाल्छ नि त्यसलाई राम्रो रुपमा लिनुपर्यो, पछि फेरि सडकको छेउछाउमा रुख रोप्न सकिन्छ नि ।’

यसरी निर्माण भइरहेको सडकलाई व्यवस्थित तथा वातावरणमैत्री बनाउने सोच रहेको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण भइसकेको सडकजति सबैलाई स्तरोन्नति गरी नयाँ सडक नबनाउने सोचमा छ नगर।

सडक खन्दा मासिएका रुखहरूलाई पुनः सडक छेउछाउमा रोक्ने योजना रहेको बताउँछन्, नगर प्रमुख सीपी शर्मा । उनी भन्छन्, ‘हामी हाम्रो नगरलाई नै वातावरणमैत्री बनाउन लागेका छौँ, भर्खरै इँटा उद्योगहरू बन्द गर्ने निर्णय गरेका छौ, अनि सडकको कुरामा भन्नुपर्दा, जति पनि सडकहरू छन् ती सबैको छेउमा हामी बाँस, नियालालगायतका अन्य वृक्षरोपणमा लाग्ने योजनामा छौँ ।’

अहिले बनेका सडकलाई स्तरोन्नति गरेर बाँकी सडक खन्न नदिने योजना रहेको उनको भनाई छ । हामी अहिले भएका सडकलाई ग्राभेल गर्नेदेखि त्यसको मर्मत संभारमा लाग्नेछौँ, प्रत्येक वडामा रहेका सडकलाई स्तरीय बनाउने हाम्रो योजना छ र अब अहिले भएका सडक बाहेक अन्य खन्न बन्द गरेका छौँ, अहिले हामी इँटा उद्योगको काममा लागेका छौँ, यो सकिनेबित्तिकै सडक र नदीनालाको कार्य तर्फ लाग्नेछौँ।’

ताजा समाचार

सम्बन्धित समाचार