Sunday, October 27, 2024

जनस्वास्थ्यमा खेलवाड गर्ने २५ दुध उद्योगलाई कारवाहीको तयारी

काठमाडौँ – जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्ने २५ दुघ उद्योगलाई सरकारले कारवाही गर्ने तयारी गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दैनिक रुपमा प्रयोग हुने दुधमा अखाद्य पदार्थ मिसाउने दुध उद्योगहरूलाई कारवाही गर्ने तयारी गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेलाई ऐन अनुसार कारवाही गरिने बताए।

उनका अनुसार ४० वटा ब्राण्डका दुधमा अखाद्य पदार्थ मिसावट भएको पाइएको छ। ‘हामीले ती दुधहरूको परीक्षण गरिरहेका छौँ, अनुसन्धान अझै भइरहेको छ । दुधमा के के मिसाइएको छ रिपोर्ट आएपछि सबै थाहा हुन्छ,’ उनले भने, ‘दुधमा मानिसको स्वास्थलाई असर पर्ने खालका सोडाहरू मिसाइएको पाइएको छ।’ दुधमा मिसाइएका अन्य पदार्थ र कुन कुन ब्राण्डका दुधमा यस्तो पाइएको केही दिनमै थाहा पाउने बताउँदै उनले भने, ‘उपत्यकाका ४० ब्राण्डमा यस्तो मिसावट पाइएको छ । तिनीहरूको लिस्ट र अन्य के के पदार्थ मिसाइएको छ त्यो आउन बाँकी नै छ, एक दुई दिन मै सबै कुरा थाहा हुन्छ, त्यसपछि त्यस्ता उद्योगलाई ऐन अनुसार कारवाही गरिन्छ।’

कृषि मन्त्रालयले गरेको अनुगमन अनुसार हामीले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको दुधमा स्वास्थ्यलाई हानी पुर्याउने अखाद्य पदार्थ मिसावट हुने गरेको पाइएको हो।

कृषिमन्त्री चक्रपाणी खनालले सोमबार राजधानीका विभिन्न डेरीमा छापा मारेका थिए । काठमाडौँमा भएका दुग्ध प्रशोधन उद्योग मध्ये २५ डेरीका ४२ ब्राण्डका दुधको परीक्षण गरिएको हो। त्यसमध्ये ४० वटामा स्वास्थ्यलाई हानी पुर्याउने साबुन बनाइने रसायन, कास्टिक सोडा, नुन तथा युरिया मिसावट भएको पाएको छ। ती दुधहरूको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो भने अझै पनि विस्तृत रुपमा अनुसन्धान भइरहेको छ।

गर्मीयाममा दुध फाट्नबाट बचाउन उद्योगहरूले यस्तो मिसावट गर्ने गरेको जनाइएको छ । दुग्ध संकलन केन्द्रहरूले संकलन गरेको दुध यहाँसम्म आइपुग्न समय लाग्ने र दुधमा अम्लीयपन बढ्ने भएकाले विभिन्न रसायनिक पदार्थ मिसाउने गरेको जानकारहरू बताउँछन्।

यसरी दुधमा रासायनिक पदार्थ मिसाउँदा विभिन्न प्रकारका सरुवा रोगको समेत संक्रमण हुने जोखिम रहन्छ। खाद्य प्रविधि विभागले फुड स्ट्याण्डर्ड निर्देशिका मार्फत दुधमा पानी समेत मिसाउन रोक लागाएको अवस्थामा उद्योगहरूले भने यसरी अखाद्य पदार्थ मिसाउँदा त्यसको प्रत्यक्ष असर जनतालाई परिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार