Sunday, December 14, 2025

निजगढ विमानस्थल: रुख काट्ने निश्चित, विरुवा रोप्ने जमिनको अत्तोपत्तो छैन

काठमाडौं– बाराको निजगढस्थित प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि साढे २४ लाख रुख काटेबापत ६ करोड विरुवा रोप्नुपर्ने भएपनि स्थानको अझै एकीन हुन सकेको छैन।

१० जेठमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (इआइए) मा ‘जिल्ला वन कार्यालय बाराले तोकेको स्थानमा वृक्षरोपण गर्ने’ उल्लेख छ। तर त्यो स्थान कहिलेसम्म तोकिने हो कुनै समयसिमा तोकिएको छैन। खाली रुख काट्ने कार्यलाई अगाडी वढाउने ढंगले मात्र प्रतिवेदन स्वीकृत गरीएको देखिन्छ।

बाराका जिल्ला वन अधिकृत ज्ञानेन्द्र मिश्र अहिले रुख कटानका लागि छपान (रुखको गणना गरेर चिह्न लगाउने) काम समेत नभएकाले वृक्षरोपणका लागि जमिन खोज्ने काम बाँकी नै रहेको बताउँछन्। ‘ठूलो परीमाणमा विरुवा रोप्नुपर्ने देखिएको छ। खोला किनारा, हैसियत बिग्रिएको जंगल र अन्य खाली स्थानमा रोप्नुपर्ने हुन्छ होला,’ उनले भने, ‘बारामा ठाउँ नभेटिएमा छिमेकी जिल्लामा रोप्न सकिन्छ।’

इआइए रिपोर्टमा उल्लेख भए अनुसार विमानस्थल निर्माणका लागि पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफल जमिनमध्ये ७ हजार ९ सय ६९ दशमलव ३७ हेक्टर वन क्षेत्रमा रहेका २४ लाख ५० हजार ८ सय २१ रुख कटान गर्दा सोधभर्नाबापत ६ करोड १२ लाख ७० हजार ५ सय २५ विरुवा रोप्नुपर्नेछ। जसका लागि ३८ हजार २ सय ९४ हेक्टर क्षेत्रफल आवश्यक पर्ने पनि रिपोर्टमा उल्लेख छ।

तर, आवश्यक पर्ने क्षेत्रफल हेर्दा वारामा हाल कायम रहेको जंगलको ८ हजार ८ सय ८८ हेक्टर कम मात्र हो। बारा जिल्लाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनामा ‘४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको र त्यसमध्ये १ हजार १ सय ९४ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको’ उल्लेख छ। उक्त वन क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जले ओगटेको बाहेकको हो।

इआइए रिपोर्टमा ‘विरुवा १ दशमलव २५ मिटरको दुरीमा रोप्ने’ उल्लेख भएअनुसार वृक्षरोपणका लागि ९ हजार ५ सय ७३ हेक्टर जमिन मात्र चाहिन्छ। तर, १ मिटर २५ सेन्टिमिटरको दुरीमा एउटा विरुवा रोप्दा एक हेक्टर जमिनमा ६ हजार ५ सयभन्दा बढी रोपिन्छन्। जुन बाक्लो हुन जान्छ। विमानस्थल निर्माण हुने क्षेत्रमा साल, सिसौं, खयर लगायत प्रजातीका विरुवा रहेका छन्।

सम्बन्धित समाचार
निजगढ विमानस्थलः २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना–ठूला २४ लाख रुख काटिने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत

ताजा समाचार

सम्बन्धित समाचार