Friday, September 20, 2024

कहिले सुध्रने हामी ?

काठमाडौं –ललितपुरको मंगलबजार । एक युवक निकै सुकिला–मुकिला देखिन्थे । हातमा पानीको वोतल थियो । झट्ट हेर्दा लाग्छ –उनी हुनेखाने र सभ्य परिवारका सदस्य हुन् । तर अनुमान त्यतिवेला गलत सावित भयो जतिवेला उनले आफुले खाएको पानीको वोतल सडकमा फ्याँके र हिँडे ।

ति युवक त एक प्रतिनिधी पात्र मात्र हुन, यस्तो दृश्य हामी जताततै देख्छौ । आफुले प्रयोग गरिसकेपछि नचाहिने फोहोर हामीले यसरी नै सार्वजनिक ठाउँमा फाल्दै आएका छौं जसले प्रदूषण बढाइरहेको छ ।

शिक्षित र सभ्य देखिने हामीहरू कति छौं जो आफुले प्रयोग गरिसकेको फोहोर नजिकै डस्टबिन छैन भने आफ्नो खल्ती वा झोलामा राख्छौं ? निश्चय नै यसमा हामी अभ्यस्त भईसकेका छैनौं।

आफ्नो पाँच वर्षीय छोरो लिएर एक महिला शंखमुलबाट पाटन जादैँ थिइन् । त्यो बालकको हातमा बिस्कुट थियो । बिस्कुट खाइसकेपछि उसले आमालाई सोध्यो, मामु यो कहाँ फालु ? आमाले सडकमा नै फाल्न भनिन र त्यो बालकले आमाले भने अनुसार नै सडकमा फाल्यो ।

हामी आफ्ना केटाकेटीहरुलाई कखरासँगै आफुले प्रयोग गरिसकेको फोहोर जथाभावी फाल्नु हुँदैन भनेर किन सिकाउँदैनौं ? यस्ता नानी बाबुहरूलाई हामीले घर र विद्यालयमा शिक्षासँगै सभ्य नागरिक कसरी बन्ने भन्ने ज्ञान सिकाउनु उत्तिकै आवश्यक छ ।

काठमाडौं बस पार्कमा एक युवकले गुट्का किने अनि अरूले जस्तै मुखमा गुट्का हाले । त्यसको खोल बाटोमै फाले । यसरी हामीले दिनहुँ प्रयोग गर्ने प्लास्टिकजन्य तथा अन्य फोहोरहरू यसरी नै दैनिक सडकमा तथा सार्वजनिक स्थलमा फाल्दै आएका छौं । यसरी फालेको फोहोरले हाम्रो पर्यावरणमा निकै ठुलो नकारात्म असर पु¥याउँछ ।

काठमाडौं उपत्यकाका सार्वजनिक क्षेत्रमा हामी जहाँ जान्छौ त्यहाँ,बिस्कुट,चाउचाउ,पुकार,गुट्काजस्ता प्लाष्टिकजन्य पदार्थले हाम्रो पर्यावरणमा नकारात्मक असर गरेको छ ।

यस्ता वस्तुहरूलाई न त जलाउन सकिन्छ न त रिसाइकल नै गर्न सकिन्छ । तर हामी सभ्य नागरिक बन्यौं भने यस्ता वस्तुहरूको प्रयोग घटाएर, आफ्नो वातावरणको संरक्षण चाहिँ पक्कै गर्न सक्छौँ ।

नेपालीहरुले आफ्नो व्यवहार परिवर्तन गर्न नसक्दा उपत्यका अझै प्रदूषित बन्दै गएको वातावरणविद् सुर्यमान शाक्य बताउँछन् ।

उनले काठमाडौंवासीलाई फोहोर र दुर्गन्ध सहने बानी परिसकेकोले फाहोरमाथी फोहोर गर्दौ गएको बताए । ‘फोहोरलाई सहन गर्न क्षमता बढी भयो । यो क्षमतालाई कसरी घटाउने भन्ने तर्फ लाग्नुपर्छ,’ शाक्यले भने ‘हामीले हेलचेक्राई र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यक छ ।’ उनले काठमाडौंको कुनै एउटा क्षेत्रलाई फोहोरमुक्त क्षेत्र घोषण गरेर त्यस्तै अन्य क्षेत्र बनाउनुपर्ने सुझाब दिए ।

फोहोर व्यवस्थापन कम्पनी डोको रिसाईक्लर्सका व्यवस्थापक शिवानी सरियाका अनुसार प्लास्टिकका वस्तुहरू सामान्यतया जमीनमा डीकमपोज हुन लगभग १००० वर्ष लाग्छ । उनले उत्पादन कम्पनीले वातावरणमैत्री बाहिरी खोलको प्रयोग गर्नुपर्नेमा जोड दिईन् । ‘प्रयोगकर्ताले प्रयोग गरेका प्लास्टिकका सामान जथाभावी नफाल्ने र कम्पनीले पनि वातावरणमैत्री खोलहरू बनाउँदा राम्रो हुन्छ,’उनले भनिन् ।

प्लास्टिकका वस्तुको कम प्रयोग र आफुले प्रयोग गरेको त्यस्ता वस्तु सहि ठाउँमा फाल्न सके केही हदसम्म हामी पर्यावरणलाई जोगाउन सक्छौं की ?

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र ३९ मा जथाभावि फोहोर फाल्नेलाई ५ सयदेखि १ लाखसम्म जरिवाना वा ३ महिना कैद वा दुुुुवै सजाय हुने व्यवस्था छ ।

सरकारले यो यो व्यवस्था कडाइका साथ लागू गर्न भन्दै २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने तयारी गरेको थियो । तर, सरकारले आफुले घोषण गरेको काम कार्यान्वयन गर्न नसक्दा काठमाडौं प्लास्टिकजन्य वस्तुका कारण प्रदूषित बन्दै गएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार