११ साउन, झापा।
‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका २ जना महिला जंगली हात्तीको आक्रमणमा घाइते भएका छन् ।
दमक –१ की ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जंगलबाट निस्किएको हात्तीसँग उनीहरूको आज बिहान (आइतबार बिहान) जम्काभेट भएको थियो ।
राईद्वयलाई हात्तीले सुँढले बेरेर लडाएको थियो । उनीहरूको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ । घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ ।
आक्रमणपछि हात्ती जंगलतिर पसेको थियो । झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा १ दर्जनभन्दा बढी संख्यामा रैथाने छन् । जंगल छेउका बासिन्दा हरेक वर्ष हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा निस्किँदा हात्तीले आक्रमण गर्दै आएको छ ।
एक वर्षमा ६ जनाको मृत्यु
आर्थिक वर्ष २०८१/८२ मा झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा ६ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार यो अवधिमा हात्तीको आक्रमणबाट ७ जना मानिस घाइते भएका छन् । १ वर्षको अवधिमा ४ वटा हात्ती मृत भेटिएका छन् ।
रासस