Friday, August 1, 2025

राप्ती नदीमा छाडियो १३३ गोही

१५ साउन, चितवन।

गोही प्रजनन् केन्द्रमा हुर्काइएका १ सय ३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये २ वटा भाले र अन्य पोथी छन् ।
गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोहीसहित २ हजार ९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १ हजार ३ सय ३५ छाडिएको उनले जानकारी दिए ।

नारायणीमा ४ सय १९ सप्तकोशीमा १ सय १५, बबहीमा १ सय १०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो । अघिल्लो आर्थिक वर्ष १ सय ५ वटा गाही छाडिएको थियो ।

त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहाँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२० का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरिए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुसमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३ सय ५२ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन् केन्द्रमा ७ सय ८२ वटा गोही छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १ सय ८५ हुन् । अघिल्लो वर्षका १ सय ५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन् । प्रजनन् केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुट्एिको छैन ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको अनुमान थियो । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १ सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।

नदीमा बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा संख्या भने बढेको छैन ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार