Friday, October 25, 2024

प्रदूषित खानेपानीले दाङमा झाडापखाला फैलिएको पुष्टी

काठमाडौं– दाङमा प्रदूषित खानेपानीका कारण झाडापखाला फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दाङको शान्तिनगर गाउँपालीकाको वडा नम्बर ३ र ४ मा वितरण गरिएको खानेपानी प्रदूषित भएका कारण झाडापखाला फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।

निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख प्रकाश कुमार योगीले पानीको मुहानदेखि घरघरमा बाँडिएको पानीमा ब्याक्टेरिया र अन्य किटाणु देखीएको जानकारी दिए । ‘मुहानदेखि घरघरमा वितरण गरिएको पाइपलाइनमा नै पानी प्रदुषित भेटियो’ उनले भने, ‘यही कारणले पानी पीउने धेरैजना विरामी परेका छन् ।’

जिल्ला जनस्वास्थ्य प्राबिधिक टोलीले सिमलगौराको मुहानमा ल्याब परिक्षण गर्दा दुषित पानी भेटिएको हो । सिमलगैरा मुहानबाट आएको पानीमा यस्तो खाले कैफियत भेटिएको टोलीले जानकारी दिएको छ ।

खानेपानीको मुहानलाई खानेपानी उपभोक्ता समितिले शुद्धिकरण नगरी बितरण गरिएको र पछिल्लो समयमा आकाशेपानीको भल मिसिएको पानी पिउँदा धेरै जना एकै पटक बिरामी भएको स्वास्थ्यको टोलीले पुष्टि गरेको छ ।

पानी फोहोर भएकाले सोे मुहानको पानीले नै दाङको शान्तिनगर गाउँपालीकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको दाबी ल्याब टेक्निशियन पर्शूराम पोखरेलले गरेका छन् । स्थानीयका अनुसार पहिलेको माइली पानी मुहानमा पानी सुक्दै गएपछि पछिल्लो समयमा सिमलगौराबाट ल्याएको पानी बितरण गर्न थालिएको हो । यो मुहानको पानीलाई शुद्धिकरण नगरी उपभोक्ता समितिले बितरण गरेपछि पानी पीउने उपभोक्ताहरु धमाधम विरामी परेका हुन् ।

झाडापखालाबाट आइतबार विहानसम्म ६ सय १९ जना विरामी परिसकेको निमित्त जनस्वास्थ्य प्रमुख योगीले हाकाहाकीलाई जानकारी दिए । विरामीको शान्तिनगर स्वाथ्य चौकीमा उपचार भइरहेको छ । नेपाली सेनाको स्वास्थ्य शिविरको टोली र अञ्चल अस्पतालबाट गको स्वास्थ्यकर्मीको टोलीले टेन्ट गाडेर विरामीलाई स्वास्थ्य सेवा दिइरहेको पत्रकार दुर्गालाल केसीले जानकारी दिए ।

त्यहाँको खानेपानी समितिको गैर जिम्मेवारीका कारण धेरै जनामा झाडापखाला देखिएको स्थानीयको आरोप छ । अहिले कस्तो खालको व्याक्टेरियाले असर पु¥याएको भन्ने स्पष्ट नभएकाले यसको थप कल्चर परिक्षणका लागि केही नमुनाहरु काठमाडांैमा ल्याइएको ल्याब टेक्निशियन पर्शूराम पोखरेलले बताए । झाडापखालाको अवस्था बुझ्नका लागि केन्द्रबाट पनि टोली थप जानकारीका लागि शान्तिनगर गाउँपालिका पुगेको छ ।

बिरामीहरुमा झाडापखाला लाग्ने , पेट दुख्ने ,बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखा परेका छन् । अहिले मुहान नै दूषित भएकाले त्यो पानी नपिउन गाउघरमा माइकिङ गरिएको त्यहाबाट पत्रकार केसीले जानकारी दिए । त्यसैगरी शान्तिनगर गाउँपालिकाले मुहानदेखि पाइपलाइनसम्मकै पानी प्रदूषित भएकाले ट्याङकरबाट पानी वितरण गर्ने तयारी गरेको छ । माइली पानी उपभोक्ता समितिले ८ सय ५१ घरधुरीमा खानेपानी बितरण गर्दै आएको छ ।

समितिले पछिल्लो समयमा पुरानो मुहानमा पानी पर्याप्त नभएपछि नयाँ मुहानबाट पानी बितरण गर्न थालेको हो । दूषित पानी शुद्धिकरण गर्ने फिल्टर मेसिन केही नहुदा त्यो पानी सिधै उपभोक्ताको घरघरमा वितरण हुदै आएको समितिका अध्यक्ष माधब बस्यालले स्वीकार गरेका छन् ।

तस्बिर : हाम्रो नेपाल मिडिया

ताजा समाचार

सम्बन्धित समाचार