Friday, October 25, 2024

सगरमाथा आरोहण सम्पन्न: ४०० बढी शिखरमा, ३६ करोड राजश्व

रमेश लम्साल र सिबी अधिकारी
काठमाडौँ –यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।
यो सिजनमा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।
यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक÷फरक नै छ । विभागका अनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार