काठमाडौं– प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।
टोलीका पाँच सदस्यमध्ये चार जनाले बुुधबार बिहान ६ बजे आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका हुन्। उनीहरूले सगरमाथाका चुुचुुरोमा नेपाल पत्रकार महासंघको झण्डा पनि फहराएका छन्।
‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित गएको उक्त टोलीकी अर्की सदस्य न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्। कार्की अस्वस्थताका कारण फर्किएकी थिइन्।
यसअघि उक्त टोलीबाट सगरमाथा आरोहणको संकल्प लिनेमा १३ जना पत्रकार महिला थिए। पछि घट्दै ७ पुगे। ७ बाट पनि ५। र, अन्ततः चार जनाले सफल आरोहण गरेका हुन्।
८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा शिखरमा सर्वप्रथम, सन् १९५३ मे २९ तारिखको बिहान ११ः १५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एड्मन्ड हिलारीले पाइला टेकेका थिए ।
जापानी पर्वतारोही जुनको ताबेइल सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारभरका महिलालाई साहसिक र जोखिमपूर्ण काम गर्न हौस्याउँदा ‘पासाङ ल्हामुु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला बनेकी थिइन्।
आरोहणमा हिँड्नुअघि पत्रकार महिलाको टोलीका सदस्यहरुले संवाददातासँग भनेका थिए, ‘हामी सगरमाथा चढ्दैमा ‘समानता’ हुने त होइन तर, सशक्तिकरणमा टेवा पुुग्ने विश्वास छ।’
श्रेष्ठका अनुसार बुुधबार बिहानसम्म ३ सय ४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।