मधेशमा समेत काँडे भ्याकुरको अभिलेख

२४ जेठ, काठमाडौँ

नेपालका पहाडी क्षेत्रहरूमा नियमित पाइने पक्षी काँडे भ्याकुर मधेश प्रदेशमा पनि अभिलेख गरिएको छ ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोला नजिकको चुरे क्षेत्रमा यो पक्षी फेला परेको हो । सो क्षेत्रका पक्षीहरूको सर्वेक्षणका क्रममा उक्त चराको अभिलेख गरिएको नेपाल पक्षीविद् संघले जनाएको छ ।

पक्षीविद संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको सहकार्यमा मधेश प्रदेशका जिल्लाहरूमा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा गत साता (२१ जेठमा) काँडे भ्याकुर फेला परेको हो ।

नेपालमा समुद्री सतहदेखि ४ सय ४३ मिटर उचाइमा यो पक्षी फेला परेको यो पहिलो आधिकारिक पुष्टि हो । यससँगै काँडे भ्याकुरको अभिलेख नेपालमा हालसम्मकै होचो भू–भागमा समेत रहेको पुष्टि भएको छ ।

पक्षीविद् हठन चौधरी र सुरज बरालले अवलोकन गरेको यस चरालाई वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसका विद्यार्थीहरू आशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेलले समेत अवलोकन गरी तस्बिर खिचेका छन् ।

बारामा काँडे भ्याकुर फेला परेको क्षेत्र चुरे पर्वत शृंखला अन्तर्गतको मिश्रित वन क्षेत्र हो । यो खयर, सिसौ, झाडी तथा घाँसे मैदान भएको क्षेत्र हो । जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने यो क्षेत्र विभिन्न प्रजातिका पक्षी तथा वन्यजन्तुहरूको आश्रयस्थल हो ।

बारामा काँडे भ्याकुरको अभिलेखसँगै नेपालका सबै प्रदेशमा यसको उपस्थितिको पुष्टि भएको छ । बेलायती अन्वेषक ब्रायन हड्सनले सन् १८३६ मा यस प्रजातिको वैज्ञानिक विवरण प्रस्तुत गरेका थिए ।


ताजा समाचार

सम्बन्धित समाचार