निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

१० जेठ, चितवन।

निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ ।

गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ । टिकौलीबाट देवनगरसम्मको ९ किलोमिटर नहरमा पानी छोडिएको हो ।

यससँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज) का लागिसमेत पानी छोडिएको छ । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ ।

अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उनले बताए । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।

हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरूंगीको बासस्थान रहेको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार