Thursday, February 6, 2025

स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालको भूमिका

डा. रामहरि पौड्याल

२२ माघ काठमाडौं
नेपाल, प्राकृतिक स्रोतहरूले भरिपूर्ण, स्वच्छ ऊर्जा क्रान्तिको नमुना राष्ट्रका रूपमा सँघारमा उभिएको छ । करिब ६ हजारभन्दा बढी नदी संसारको छानो मानिने सगरमाथा हुँदै बग्ने गर्छन् । वार्षिक ३ सय दिन लाग्ने घाम, सफा आकाश र जैविक ऊर्जाका लागि उपयुक्त कृषि भूमि भएको देशका रूपमा नेपालले आफ्नो ऊर्जा स्रोतलाई विविधीकरण गर्न अद्वितीय सम्भावना राख्छ ।

विश्व समुदाय कार्बन न्युट्रालिटीतर्फ दौडिरहेको अवस्थामा नेपालले नवीकरणीय ऊर्जा विकासमा नेतृत्वदायी भूमिका खेल्न सक्ने अद्वितीय सम्भावना छ । यद्यपि, यो सम्भावना साकार पार्नका लागि तत्काल नीतिगत पहल र दिगो अभ्यासको आवश्यकता छ । ‘ऊर्जाको समस्या समाधान गर्न ऊर्जा मिश्रणको आवश्यकता छ’ भन्ने भनाइले नेपालको सहनशील र समावेशी ऊर्जा भविष्यको दृष्टिकोणलाई परिभाषित गर्छ ।

जलविद्युत्को योगदान

जलविद्युत् नेपालका नवीकरणीय ऊर्जा महत्वाकांक्षाको सबैभन्दा ठूलो आधारशिला हो । करिब ८३ हजार मेगावाट अनुमानित क्षमतासहित नेपालका नदीहरूले स्वच्छ र निरन्तर ऊर्जा स्रोत प्रदान गर्छन् । हाल मुख्यतः साना र मध्यम आकारका जलविद्युत् परियोजनाबाट क्षमताको मात्र ४ प्रतिशत प्रयोग गरिएको छ । यी परियोजनाले बर्खायाममा देशको ऊर्जा आवश्यकता मात्र पूरा गर्दैनन् अतिरिक्त ऊर्जा छिमेकी मुलुक भारत र बंगलादेशसम्म निर्यात गरेर नेपालको अर्थतन्त्रलाई समेत बलियो बनाउँछन् । तथापि, हिउँदमा हाम्रा नदीहरूको प्रवाह घट्छ ।

बिजुली उत्पादन आधा हुन्छ र भारतबाट बिजुली किन्नुपर्ने हुन्छ । नदी प्रवाही आयोजनाको आधिक्य नेपालको ऊर्जा क्षेत्रको एउटा ठूलो समस्या हो । भारत र बंगलादेशसँगको नेपालको पावर एक्सचेन्ज सम्झौता र सीमापार विद्युत् प्रसारण परियोजनाले जलविद्युतको रणनीतिक महत्वलाई उजागर गर्छ । हालै नेपाल विद्युत् प्राधिकरणद्वारा गरिएको ८ सय मेगावाटको सोलार पिभी परियोजनाको बोलपत्रले जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा स्रोतबिचको समन्वयलाई थप उजागर गरेको छ । तथापि, जलविद्युत्मा मात्र निर्भरता जलवायु परिवर्तन र चरम मौसमी घटनाका जोखिमको सामना गर्न असक्षम हुन्छ । यो वैश्विक यथार्थतालाई नेपालले समयमै बुझ्न र चिन्न ढिला गर्नु हुँदैन ।

जलवायु चुनौती

नेपालका नदीहरू मुख्यतः हिमाली क्षेत्रका हिउँले भरिएका छन् जसमा मौसम परिवर्तनका कारणले सृजित बढ्दो तापक्रमका कारण तीव्र रूपमा पग्लिने प्रक्रिया भइरहेको छ । ग्लेसियल लेक आउटबस्र्ट फ्लड (ग्लोफ) जस्ता चरम मौसम घटनाहरूले तल्लो इलाकाका जलविद्युत् परियोजना र समुदायलाई ठूलो जोखिम पु-याउँछन् । ठूला बाँधहरूले धेरै ऊर्जा उत्पादनको वाचा गरे पनि तिनीहरूले पारिस्थितिक प्रणालीलाई अवरोध गर्न, समुदायलाई विस्थापित गर्न र तल्लो इलाकामा खतरा निम्त्याउन सक्छन् । ऊर्जा विकास र वातावरणीय संरक्षणबिच सन्तुलन राख्न अत्यन्त आवश्यक छ । यस्तो चुनौतीका लागि बहुराष्ट्रिय जोखिमसम्बन्धी वातावरणीय अनुसन्धानमा सम्बद्ध राष्ट्रले संयुक्त रूपमा यथाशीघ्र कदम चाल्नु पर्छ ।

ऊर्जा मिश्रणको विविधीकरण

ऊर्जाको विविधीकरणका लागि ऊर्जा मिश्रणको विविध पोर्टफोलियोले यी जोखिम कम गर्न सक्छन् । नेपालको भूगोल र मौसमले हाइड्रोपावर मात्र नभएर अन्य नवीकरणीय ऊर्जा स्रोतहरूको पर्याप्त सम्भावना उजागर गरेको छ ।

सोलार ऊर्जाः १२ हजार मेगावाट क्षमता र ६.८ घण्टा प्रतिदिन घाम लाग्ने र सोलार रेडिएसन ३.६–६.२ किलोवाट प्रतिघण्टा वर्गमिटर रहेको छ । वार्षिक झन्डै ३ सय दिन घाम लाग्ने नेपालमा सोलार ऊर्जाको विशाल सम्भावना छ । सोलार पिभी प्रणालीले सुक्खा मौसममा जलविद्युत्लाई पूरक गर्न सक्छ । सहरी क्षेत्रमा छत सोलार अभियान र ग्रामीण क्षेत्रमा अफग्रिड सोलार प्रणालीले ऊर्जा पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्छ । सिँचाइका नहरमा, कुलेखानीका रिजर्बाेयरमा, देशका सबै सरकारी कार्यालयमा, स्कुल र कलेजमा अनिवार्य सोलार जडान गर्नुपर्ने, नयाँ घर बनाउँदा कम्तीमा ३ किलोवाटको सोलार अनिवार्य गरे काठमाडौँका १ लाख घरबाट ३ सय मेगावाट बिजुली निस्कन सक्छ ।

वायु ऊर्जाः नेपालको पर्वतीय भू–भागले वायु ऊर्जा उत्पादनका लागि अनुकूल अवस्था प्रदान गर्छ । ७ सय ६१ मेगावाट क्षमता उच्च भू–भाग क्षेत्रमा वायु टर्बाइनको रणनीतिक प्रयोगले ऊर्जा विश्वसनीयता बढाउन र जलविद्युत्मा निर्भरता घटाउन सक्छ । नेपालको मुस्ताङ, मनाङ जस्ता हिमाली क्षेत्र सौर्य र वायु दुवै ऊर्जाका लागि उपयुक्त स्थान हुन् । त्यस्ता क्षेत्रमा स्याउ तरकारीजन्य हिमाली जडीबुटीजन्य उद्योग खोल्न सके स्थानीय बिजुलीको प्रयोग हुन सक्थ्यो । रोजगारी सिर्जना गर्दै मान्छेको पलायनलाई रोक्न सकिन्थ्यो ।

जैविक ऊर्जाः कृषिप्रधान देशका रूपमा नेपालले जैविक फोहोरको ठुलो परिमाण उत्पादन गर्छ, जसलाई बायोग्यास र जैविक ऊर्जा बनाउन प्रयोग गर्न सकिन्छ । जैविक ऊर्जा प्रवर्धन गर्नाले ग्रामीण समुदायलाई परम्परागत इन्धनको दिगो विकल्प प्रदान गर्न सक्छ ।

दिगो ऊर्जा भविष्यका लागि नीतिगत पहल

नवीकरणीय ऊर्जा सम्भावनालाई आत्मसात् गर्न नेपालले तपसिलका अग्रगामी नीति र रणनीति अपनाउनु पर्छः

समेकित ऊर्जा नीतिः नेपाललाई जलविद्युत्, सोलार, वायु र जैविक ऊर्जाको सन्तुलित मिश्रणलाई प्राथमिकतामा राख्ने समग्र ऊर्जा नीतिको आवश्यकता छ । नेपालको ऊर्जा नीतिले नवीकरणीय ऊर्जा अपनाउने स्पष्ट लक्ष्य तोक्न र निजी क्षेत्रको सहभागिताका लागि प्रोत्साहन प्रदान गर्नु पर्छ । अनुपातिक रूपमा सबै प्रकारका नवीकरणीय ऊर्जालाई प्रोत्साहित गर्ने र अनावश्यक क्याप लगाएर सीमित पार्नु हुँदैन ।

जलवायु सहनशील पूर्वाधारः जलविद्युत् परियोजनाले जलवायु अनुकूलन उपायलाई समावेश गर्नु पर्छ । जस्तैः ग्लोफका लागि पूर्वसूचना प्रणाली र ठोस बाँध सुरक्षा प्रोटोकल । साना आकारका ‘रन अप दी रिभर’ परियोजनाले वातावरणीय प्रभावलाई न्यून गर्न र ठुला बाँधसँग सम्बन्धित जोखिमलाई कम गर्न सक्छ । बहुउद्देश्यीय जलविद्युत् परियोजनाले ऊर्जा, सिँचाइ, इको टुरिजम, साहसिक खेल र नवीकरणीय ऊर्जाको सेन्टर अफ एक्सलेन्सका रूपमा विकास र विस्तार गर्ने बृहत् अभियानमा नेपालको ऊर्जा नीति परिलक्षित हुनु पर्छ ।

छत सोलार प्रोत्साहनः छत सोलार स्थापना गर्न आम्दानी कर छुट र अनुदान प्रदान गर्दा सहरी घरपरिवार र व्यवसायलाई सोलार ऊर्जा अपनाउन प्रोत्साहन गर्न सकिन्छ । नयाँ सरकारी भवन, विद्यालय र अस्पतालका लागि सोलार पिभी प्रणाली अनिवार्य बनाउँदा यसलाई थप तीव्रता दिन सकिन्छ ।

विकेन्द्रित ऊर्जा प्रणालीः अफग्रिड सोलार र माइक्रो हाइड्रो परियोजनाले दुर्गम क्षेत्रमा बिजुली पु-याउन सक्छन् । विकेन्द्रित प्रणालीले केन्द्रीय ग्रिडहरूमा निर्भरता घटाएर ऊर्जा सुरक्षा बढाउँछ ।

क्षेत्रीय सहयोगः नेपालले बिआइएमएसटिइसी र सारी जस्ता क्षेत्रीय रूपरेखालाई उपयोग गरेर सीमापार ऊर्जा व्यापारलाई प्रवर्धन गर्नु पर्छ । प्रभावकारी प्रसारण मार्गहरू विकास गर्नु र सार्वजनिक निजी साझेदारी (पिपीपी) मोडल अपनाउनुले लगानी आकर्षित गर्न र दिगो ऊर्जा उत्पादन सुनिश्चित गर्न सक्छ ।

सार्वजनिक सचेतना र सहभागिताः स्थानीय समुदायलाई ऊर्जा परियोजनामा संलग्न गर्दा उनीहरूको आवश्यकता र चिन्ता सम्बोधन गरिन्छ । नवीकरणीय ऊर्जा लाभबारे शैक्षिक अभियानले स्वीकार्यता र सहकार्यलाई प्रवर्धन गर्न सक्छ । ऊर्जालाई कसरी बचाउने र कसरी ऊर्जा दक्षता बढाउने भन्नेबारे तालिमको व्यवस्था गर्नु पर्छ ।

अगाडिको बाटो

सन् २०२५ जनवरी २६ मा संसारले तेस्रो वार्षिक अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाइरहँदा स्वच्छ ऊर्जामा न्यायपूर्ण र समावेशी संक्रमणका लागि चेतना जगाउन र सबैलाई जुटाउन समर्पित छ । यो क्षणले नेपालको नवीकरणीय ऊर्जा लक्ष्यप्रति प्रासङ्गिकता थप्दै सतत भविष्य निर्माणका लागि नवीकरणीय ऊर्जाको महत्वपूर्ण भूमिकाको सम्झना गराउँछ । नेपालले स्वच्छ ऊर्जा भविष्यतर्फ लम्किँदै गर्दा नवीनता र समावेशितालाई अँगाल्नु पर्छ ।

ऊर्जा मिश्रणको विविधीकरण, जलवायु सहनशील पूर्वाधारको स्वीकृति र क्षेत्रीय सहकार्य प्रमुख कदम हुन् । नवीकरणीय ऊर्जा नेपालको ऊर्जा आवश्यकताका लागि मात्र समाधान होइन । यो आर्थिक वृद्धि, वातावरणीय संरक्षण र सामाजिक समानताको साँचो समावेशी मार्ग पनि हो । ऊर्जा विकासलाई मात्र ध्यान दिँदा र वातावरणीय सत्यलाई ध्यान नदिँदा हाम्रा परियोजना विनाश निम्त्याउने काल नबनुन् ।

ब्रिटिस पेट्रोलियमको यो ऊर्जा प्रेरणास्पद शब्दमा भने झैँ ‘टु मेक एन इनर्जी फिक्स, वि निड एन इनर्जी मिक्स’ अर्थात् ऊर्जाको समस्या समाधान गर्न ऊर्जा मिश्रणको आवश्यकता छ । सोलार, वायु, जैविक, हाइड्रोजन, औद्योगिक धुलो र धुवाँसमेतलाई क्याप्चर गरेर बिजुली निकालिने प्रविधि अथाह जलविद्युत्को सम्भावनालाई उपयोग गरेर नेपालले दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न सक्छ ।

सरकारले भर्खरै सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् निर्माण गर्ने प्रतिबद्धतासहितको प्रतिवेदन ल्याएको छ । तथापि, यो पहिले झैँ निस्कने कर्मकाण्डी श्वेतपत्र नबनोस् । संसद्मा विचाराधीन ऊर्जा विधेयक छिट्टै बनोस् । हरेक पार्टी र विज्ञले दिएका सुझाव तिनमा प्रतिविम्बित हुन् । राम्रो निर्णय लिनका लागि यो नै उपयुक्त समय हो किनभने नदी, हिमालय र भावी पुस्ता हाम्रो आजको ऊर्जा नीति र तिनको यथार्थ कार्यान्वयनमा निर्भर गर्छन् ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार