Sunday, October 12, 2025

वन कार्यालयमा २ लाखभन्दा बढी बिरूवा उत्पादन

२५ असोज, झापा।
डिभिजन वन कार्यालयले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका २ लाख १० हजार बिरूवाउत्पादन गरेको छ ।

उत्पादित बिरूवामध्ये १ लाख १० हजार ४ सय ७० बिरूवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए । वितरित बिरूवामध्ये ६६ हजार २ सय ८२ बिरूवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १ सय ८८ बिरूवा व्यक्ति तथा संघ–संस्थाहरूलाई वितरण गरिएको उनले बताए ।

सूचना अधिकारी लिम्बूका अनुसार, ती बिरूवाबाट सामुदायिक वन क्षेत्रमा ४१.४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७.६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको छ ।

कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुलगायत प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको जनाएको छ ।

हाल झापामा डिभिजन वन कार्यालयअन्तर्गत ५ वटा नर्सरी सञ्चालनमा छन् । ती नर्सरीहरूमा करिब ९९ हजार ५ सय ३० बिरूवा बाँकी रहेका सूचना अधिकारी लिम्बूले जानकारी दिए ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार