२ असोज, काठमाडौँ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई पुरस्कृत र सम्मान गरेको छ ।
समूहले आफ्नो ४०औँ वार्षिक साधारणसभामा महोत्तरीका पत्रकार विशाल बस्नेतलाई वातावरण पत्रकारिता पुरस्कार प्रदान ग-यो । सौर्य दैनिकमा आवद्ध उनलाई समूहका पूर्व महासचिव मोहन मैनालीले पुरस्कार प्रदान गरे ।
गत वर्ष (सन् २०२४मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट बस्नेत सर्वोत्कृष्ट चयन भएका हुन् । समूहले वातावरण र दिगो विकासका मुद्दाहरूमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
समूहले आह्वान गरेको सूचना अनुसार पुरस्कारका लागि ४९ जना पत्रकारहरूले आवेदन दिएका थिए । बस्नेत समूहको पुरस्कार प्राप्त गर्ने ३८औँ पत्रकार हुन् ।

यससँगै समूहले गत वर्ष (सन् २०२४) का लागि उत्कृष्ट रिपोर्टिङ गरेका १० जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२४’ प्रशंसा–पत्र प्रदान गरेको छ । पत्रकारहरू वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कणेँल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियारले प्रशंसा पत्र प्राप्त गरेका हुन् ।
कार्यक्रममा उपस्थित आचार्य र मादेनलाई पूर्व महासचिव मैनालीले सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जटिल परिस्थितिमा अरोरात्र खटेर रेडियो सगरमाथाको प्रशारणलाई नियमित गरेका स्टेसन म्यानेजर उर्वसी बस्न्यात र वरिष्ठ कार्यक्रम निर्माता दीपकबाबु अर्याललाई समूहले सम्मान गरेको छ । बस्न्यात र अर्याललाई समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले सम्मान गरे ।
साधारणसभाकै अवसरमा नेवापसमा कार्यरत कर्मचारीहरूमध्ये कविता मरासिनीलाई उत्कृष्ट कर्मचारीका रूपमा १० हजार रूपैयाँसहित प्रसंशा–पत्र प्रदान गरिएको छ । मरासिनी विगत अढाई दशकदेखि नेवापसमा कार्यरत छिन् ।