७ मंसिर, काठमाडौं
विगत २ सातादेखि भारतका पन्जाब, हरियाणा र उत्तर प्रदेशबाट फैलिएको वायु प्रदूषणको असर नेपालसम्मै पनि आइपुगेको छ । त्यहाँका किसानले बालीनाली थन्क्याएपछि लगाउने डढेलो, इँटाभट्टा र उच्च इन्धन खपतका कारण हरेक वर्ष हिउँद लागेसँगै वायु प्रदूषण उत्कर्षमा पुग्ने गरेको छ ।
यो साता भारतको नयाँदिल्ली र पाकिस्तानको लाहोरसहित विभिन्न सहरहरूमा वर्षकै सबैभन्दा उच्च वायु प्रदूषण रेकर्ड भएको छ । जसको प्रभाव नेपालको तराईका सहरहरू र काठमाडौं उपत्यकासम्म पनि परेको हो । अहिले साँझ र बिहान काठमाडौं उपत्यका र विशेषगरी तराई क्षेत्रमा हुस्सु र विषाक्त धूवाँसहितको तुवाँलो लागिरहेको छ । जसले गर्दा मानिसहरूले आँखा पोल्नेलगायत स्वास्थ्य समस्या अनुभव गरिरहेका छन् ।
पूर्वी तराईमा छिटपुट वर्षा भएको बाहेक काठमाडौं उपत्यकासहित देशभर केही सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा र तेज हावा नचल्दा वायु प्रदूषणमा प्रत्यक्ष असर परेको छ । पछिल्लो साता भारतमा भएको प्रदूषणको असर नेपालसम्मै आइपुगेको मौसमविद् विनोद पोखरेलले बताए ।
‘भारतमा वायु प्रदूषण उच्च भएकै बेला थोरै भए पनि पश्चिमी वायु रहेकाले नेपाललाई फाइदा नै भयो । नत्र योभन्दा चिन्ताजनक स्थिति आउने हुन सक्थ्यो,’ पोखरेलले भने, ‘तर सन्तोषजनक अवस्था भने छैन ।’ बिहीबार पूर्वी तराईमा हल्का वर्षा भएको र शुक्रबार काठमाडौं उपत्यकामा समेत हल्का वर्षा हुन सक्ने उनको अनुमान छ । त्यसपछि वायु प्रदूषणमा समेत थप सुधार भएर जाने उनले बताए ।
वातावरण विभागका निरीक्षक प्रकाश केसीले भने नेपालमा बढ्दो क्रममा देखिएको प्रदूषण भारतीय प्रभाव मात्रै नभएको बताउँछन् । ‘भारतमा जसरी किसानले बालीनालीको नल जलाउँछन्, हामीकहाँ पनि यही बेला चिसोका कारण आगो बाल्ने, डढेलो लगाउनेक्रम बढेको अवस्था छ, त्यसकारण अहिले देखिएको वायु प्रदूषण भारतको प्रदूषणको असर मात्रै चाहिँ होइन,’ वातावरण निरीक्षक केसीले भने, ‘दिल्लीमा बढ्दा यता पनि बढेको छ । तर त्यहाँकै कारणले मात्रै यहाँ प्रदूषण फैलिएको हो भन्न मिल्दैन । तर केही न केही असर छ ।’
उनका अनुसार एक ठाउँको श्रोत उत्सर्जनले अर्को ठाउँमा वायु प्रदूषण भइरहेको हुन्छ । तर भारतमा प्रदूषण बढ्दा त्यसले नेपालको तराईदेखि काठमाडौंसम्म पु¥याउने असर बारे भने अहिलेसम्म कुनै अध्ययन भएको छैन ।
पन्जाब र आसपासमा भएको कृषिजन्य गतिविधिले दिल्ली र पाकिस्तानको लाहोर तथा नेपालसम्म पनि असर पु¥याएको टिप्पणी भइरहेका बेला यस्तै सीमापारसम्म हुने वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि संयुक्त प्रयाससमेत भएका छैनन् । त्यसो त नेपाल र भारतसहित दक्षिण एसियाली ८ राष्ट्रहरूले सन् १९९८ मै माल्दिभ्सको मालेमा सम्मेलनमार्फत वायु प्रदूषण र सीमावर्ती प्रभाव नियन्त्रण तथा रोकथामसम्बन्धी घोषणापत्र जारी गरेका थिए ।
जसले वायु प्रदूषणले पार्ने अन्तरदेशीय प्रभावहरू कम गर्न सहकार्य, साझेदारी र सहयोगका कार्यक्रमहरू उल्लेख गरेको छ । तर तिनको कार्यान्वयनमा भने यी राष्ट्रहरूले चासो देखाएका छैनन् ।
भारतीय भूमिमा हुने स्रोत उत्सर्जनले बर्सेनि नेपालको तराई र काठमाडौंसम्म पनि वायु प्रदूषण फैलिने गरेकोमा सरकारले त्यसबारे भारतीय पक्षसँग संवाद गर्नुपर्ने वातावरणविद् तुलाधर बताउँछन् । ‘माले घोषणाको २६ वर्ष बितिसकेको छ । तर त्यसको कार्यान्वयनमा प्रदूषणका लागि उत्सर्जनमा बढी योगदान हुने देशहरूको ठूलो चासो देखिँदैन । नेपालले पनि त्यसका लागि पहल गरेको छैन,’ तुलाधर भन्छन्, ‘अहिले हाम्रो लागि सजगता अपनाउनुपर्ने चरण हो । हामीले यही वर्ष पनि दिल्ली र लाहोरको जुन अवस्था देख्यौं, त्यसबाट पहिल्यै सजग भएर देशभित्र मात्रै होइन, अन्तरदेशीय पहलका लागि समेत पहल लिनुपर्छ ।’
हरेक वर्ष हिउँद लागेपछि प्रदूषण बढ्नुमा भारतीय भूमिमा भएको स्रोतको उत्सर्जन मात्रै दोषी नभएको उनी बताउँछन् । ‘भारतमा जसरी प्रदूषण बढेको छ, त्यसको असर अवश्य छ । तर त्यो मात्रै मुख्य कारण भने होइन, हामीले नेपालभित्रैबाट भइरहेको प्रदूषणलाई पनि कम गर्न सकेका छैनौं,’ उनले भने, ‘प्रदूषण बर्सेनि हुन्छ, जान्छ भनेर चित्त बुझाउने सामान्य कुरा होइन, डब्लूएचओले नै भनिरहेको छ कि नेपालमा बर्सेनि करिब ५० हजार मानिसको मृत्युको कारण वायु प्रदूषण हो । यसबाट जनस्वास्थ्यमा मात्रै होइन, मुलुकको अर्थतन्त्रमा पनि ठूलो असर परिरहेको छ । यदि साँच्चिकै सबैले संवेदनशील भएर सोच्ने हो भने वायु प्रदूषणबाट संकटको अवस्था हो ।’
उनले सरकारलाई यसबारे थाहा भएर पनि प्रभावकारी पहल नलिँदा केही वर्षयता वायु प्रदूषणको समस्या बढ्दो रहेको बताए । ‘वायु प्रदूषणले के कस्तो असर गरिरहेको छ भनेर सरकारलाई जानकारी नभएको होइन, केही काम पनि भएका छन् । तर राजनीतिक नेतृत्वको इच्छाशक्ति नहुँदा यसका लागि अपेक्षित कामहरू हुन सकेका छैनन्,’ उनी भन्छन्, ‘हामीले वायु गुणस्तर कार्ययोजना ०७६ बनायौँ । तर पाँच वर्षसम्म कार्यान्वयन गरेका छैनौँ । सहरमै फोहोर जलिरहेको छ । डढेलो लागिरहेको छ । इँटाभट्टा चलेकै छन् । उद्योगहरूले गर्ने प्रदूषण कम भएको छैन । यी सबै कुराका लागि हामीले कानुन र मापदण्डहरू बनाएका छौँ । तर कार्यान्वयन गर्नुपर्ने सरकारको ठोस पहल नहुँदा उपलब्धि शून्य बराबर छ ।’
त्यस्तै, दीर्घकालीन रूपमा समेत वायु प्रदूषण नियन्त्रण गर्न योजनाहरू बनाइएको, तर कार्यान्वयन नभएको उनले बताए । ‘ग्रिन सिटी बनाउनेदेखि विद्युतीय गाडीको प्रयोग बढाउनेसम्म राज्यको पोलिसी बनिसकेकै हो । तर त्यता लगानी कसले गर्ने ? बरु बर्सेनि डिजेल गाडी थपिएका थपियै छन्,’ उनी भन्छन् ।
भारतमा भएको वायु प्रदूषणका कारण विशेषगरी दिल्ली र पाकिस्तानको लाहोरको जनजीवन कष्टकर बनेको छ । लाहोरमा बजार नै बन्द गर्नुपर्ने स्थिति बन्यो भने दिल्लीमा पनि अझैसम्म विद्यालयहरू बन्द छन् । प्रदूषणकै कारण दिल्ली सरकारले भौतिक कक्षाहरू बन्द गरेर अनलाइनमार्फत पठनपाठन थालेको छ । अत्यधिक वायु प्रदूषण मापन भएपछि दिल्ली सरकारले कोइला र काठका दाउरा बाल्ने सबै गतिविधि गर्न प्रतिबन्ध लगाएको छ भने डिजेललगायत इन्धनको उपयोगमा समेत कम गर्न अपिल गरेको छ ।
वायु अर्थात् हावा प्रदूषित हुने मानिसकै गतिविधिले हो । सवारीसाधन चलाउन, खाना पकाउनलगायत काममा प्रयोग हुने इन्धन, धूलोधूवाँ उत्सर्जन गर्ने उद्योगधन्दा, पूर्वाधार निर्माण, आगलागीजस्ता कारणले वायुमण्डलमा द्रूत प्रदूषण फैलिन्छ । हिउँदमा हावा कम चल्ने र चिसो मौसम रहने हुनाले पनि प्रदूषणलाई बल पुग्छ । यसरी हावामा फैलिएका फलाम, बालुवा र सीसासहितको धूलो, धूवाँ र तरल पदार्थसमेतको मिश्रणबाट बनेका स–साना कणलाई पार्टिक्युलेट म्याटर (पीएम) भनिन्छ ।
यस्ता कण १० माइक्रोमिटरभन्दा सानो ब्यासका भएमा ती कणहरू हानिकारक मानिन्छन् । तर वायु गुणस्तर मापन गर्दा २.५ माइक्रोमिटर र सोभन्दा कम व्यास भएका कणहरूलाई आधार मान्ने गरिएको छ । रौँभन्दा तीन गुणा मसिना यस्ता कणहरू श्वासप्रश्वास गर्दा मानिसको फोक्सोले फिल्टर गर्न सक्दैन । जसकारण सिधै फोक्सोमा गएर टाँसिन्छन्, रगतको प्रवाहमा समेत सामेल हुन्छन् ।
डब्लूएचओका मापदण्डअनुसार हावामा रहेका यस्ता पीएम २.५ कणको मात्रा १०० भन्दा कम हुँदासम्म श्वास फेर्न ठीकै हुन्छ । १५० देखि माथि भए उक्त हावा श्वासप्रश्वासका लागि अयोग्य मानिन्छ । तर ३०० नाघेको अवस्थामा भने त्यो मानव स्वास्थ्यका लागि खतरनाक हो । विश्वभरको वायु प्रदूषण रियल टाइममा निगरानी गर्दै आएको स्विस एजेन्सी आईक्यूएअरका अनुसार पछिल्लो साता भारतको दिल्ली र पाकिस्तानको लाहोरसहित केही सहरहरूको वायु गुणस्तर १२ सयसम्म पुगेको छ । त्यही समयमा काठमाडौं उपत्यकामा समेत वायु गुणस्तर ह्रास भएर २५० हाराहारीसम्म पुगेको थियो ।
बिहीबार पनि दिल्ली र लाहोर सबैभन्दा बढी प्रदूषित सहरकै सूचीमा छन् । तर प्रदूषणको मात्रा भने कम छ । बिहीबार साँझ काठमाडौं भने १४ औँ प्रदूषित सहरका रूपमा छ । साँझ ७ः४५ बजे लिइएको तथ्यांकअनुसार सर्वाधिक प्रदूषित सहर दिल्लीमा पीएम २.५ को मात्रा २३५ छ भने लाहोरको २११, ढाका (बंगलादेश) को १६८, मुम्बईको १४९, सांघाई (चीन) को १५३, कोलकाताको १३९ र काठमाडौंको ११५ छ । वातावरण विभागको रेकर्डअनुसार बिहीबार साँझ पीएम २.५ को मात्रा काठमाडौंको रत्नपार्कमा १२६ छ भने नेपालगन्जमा १७०, भरतपुरमा १५७ र भक्तपुरमा १०९ रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषण मानव मृत्युको दोस्रो ठूलो कारण हो । विश्वमा ९९ प्रतिशत मानिस प्रदूषित वायु भएको ठाउँमा बस्छन् भने वायु प्रदूषणका कारण बर्सेनि ८१ लाख मानिसको ज्यान जाने गरेको छ । तीमध्ये ९० प्रतिशत कम र मध्य आय भएका देशका मानिस हुन् ।
‘स्टेट अफ ग्लोबल एयर’ले नेपालमा कुल मृत्युमध्ये १९ प्रतिशत मृत्युको कारण प्रदूषित वायुको असर भनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दीर्घकालीन फोक्सोको रोगबाट हुने मृत्युमा ६६ प्रतिशत कारण वायु प्रदूषण हो । त्यस्तै, मुटुको रोगबाट मृत्यु हुनेमध्ये ३४ प्रतिशत, मस्तिष्काघातबाट मृत्यु हुनेमध्ये ३७ प्रतिशत र तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणबाट मृत्युमध्ये २२ प्रतिशत मृत्युको कारण वायु प्रदूषण हो ।
प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी असर पुग्ने निजामती कर्मचारी अस्पतालका मेडिकल निर्देशकसमेत रहेका छातीरोग विशेषज्ञ डा. विदेश विष्ट बताउँन् । ‘बालबालिकाको फोक्सो पूर्णरूपमा विकास भइसकेको हुँदैन । फोक्सोमा पहिल्यै इन्फेक्सन भइसकेका, दीर्घरोगीहरूलाई पनि थोरै प्रदूषण हुनेबित्तिकै असर गर्ने हुन्छ,’ उनी भन्छन्, ‘प्रदूषणले सबैलाई असर गर्छ । प्रदूषित हावामा श्वासप्रश्वास गर्नु र स्वच्छ हावामा गर्नुले दीर्घकालीन रूपमा धेरै ठूलो अर्थ राख्दछ ।’
अति प्रदूषित वायु भएको ठाउँमा रहँदा मानिसमा फोक्सो र मुटुसम्बन्धी मात्रै नभई छाला, आँखा, पाचनप्रणाली र विभिन्न मानसिक रोगहरूसमेत निम्त्याउने उनले बताए । वायु प्रदूषणबाट जोगिन प्रदूषण नै कम गर्नुपर्ने उनी बताउँछन् । त्यसो त नेपालमा सरकारले वायु प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ ।
संविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रबन्ध मात्रै छैन, सोको व्यवस्थाबमोजिम ऐन, नियम र मापदण्डहरूसमेत बनेका छन् । वातावरण संरक्षण ऐन, २०७६ ले तोकेको मापदण्डविपरीत वायु प्रदूषण गर्न नपाइने उल्लेख छ । वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजना, २०७८ तथा काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा प्रदूषण नियन्त्रणका लागि ल्याइएका विभिन्न कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुगमन हुन सकेको छैन ।
प्रदूषित वायु उत्सर्जन गर्ने उद्योग कलकारखानादेखि सडकमा मापदण्डविपरीत सञ्चालन भइरहेका सवारीसम्मको नियमित अनुगमन र कारबाही गर्ने संयन्त्र प्रभावकारी छैनन् ।
वातावरण विभागकै अनुसार काठमाडौंमा गुड्ने सवारीसाधनमध्ये ७७ प्रतिशतले मापदण्डभन्दा बढी धूवाँ फ्याँक्छन् । तर ती सवारीसाधनलाई निषेध गर्ने गरी कुनै पहल गरेको छैन । मापदण्ड कार्यान्वयनको अनुगमन गर्ने अख्तियार भएको विभागलाई कारबाही गर्ने अधिकार छैन । वायु प्रदूषण नियन्त्रणसम्बन्धी परेको रिटमा सर्वोच्चले ०७४ पुस ३० मै प्रदूषण न्यूनीकरण गर्न सवारीसाधनको नियमित जाँच, सहर सफा नराख्नेलाई कारबाहीलगायत कामका लागि छुट्टै संयन्त्र बनाउन आदेश दिएको थियो ।
तत्कालीन न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले सडकमा धूलो उड्न नदिने, वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, ०६९ र नेपाल सवारी प्रदूषण मापदण्ड, ०६९ को कार्यान्वयन गराउन सरकारलाई आदेश दिएको थियो । तर सरकारले त्यसलाई कार्यान्वयन गरेको छैन । नेपाली वायुमण्डल प्रदूषणको अर्को कारण हो घरभित्रको धूवाँ । सरकारले घरभित्रको धूवाँमुक्त गर्ने अभियान चलाए पनि दाउराको प्रयोग हटाउन सकेको छैन ।
२०७८ को जनगणनाअनुसार नेपालमा ६६ लाख ६६ हजार ९ सय ३७ घरधुरी छन् । त्यसमध्ये अझै पनि ५१ प्रतिशत घरमा दाउरा र ३ प्रतिशत घरमा गुइँठा बाल्ने गरिएको छ । सन् २०१२ मा विश्वभरि अकालमा मृत्यु हुनेमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका थिए । छातीरोग विशेषज्ञ विष्ट वायु प्रदूषणबाट जोगिन प्रदूषण नभएको ठाउँमा जानेबाहेक अर्को उपाय नभएको बताउँछन् । ‘यसबाट जोगिने उपाय भनेको प्रदूषण नभएको ठाउँमा जाने मात्रै हो, किनभने हामी श्वास नफेरी बस्न सक्दैनौँ,’ उनी भन्छन्, ‘जोखिम कम गर्ने हो भने मास्कको प्रयोग तथा बिहान र बेलुका वायु प्रदूषण झन् धेरै हुने भएकोले ‘मर्निङवाक’ घरभित्रै गर्नु राम्रो हुन्छ ।’
कान्तिपुर दैनिक