प्रदीप भट्टराई
३१ साउन, काठमाडौँ।
आज कृष्ण जन्माष्टमी । यस आस्थाको पर्वमा केटाकेटी, युवा युवती, वयस्क, बुढाबुढी लगायत धेरै मानिसहरूले हात हातमा मयूरको प्वाँख लिएर हिँडिरहेका विगतका वर्षहरूमा देखेको हाम्रो अनुभव छ । यस वर्ष पनि यस्तो दृश्य दोहोेरिनु नौलो रहेन ।
के तपाईंले पनि त्यसरी मयूरको प्वाँख लिएर हिँड्नु भएको थियो, यो वर्ष किन्नुभयो वा किनेर ल्याउने सोच गर्नु भएको छ ? कतै तपाईंको घरमा छ कि ? त्यसरी घर साथै पसल वा बाटोमा राखेको मयूरको प्वाँखको स्रोत के हो भनेर कहिल्यै साथीभाइ या अरू कसैलाई सोध्नु भएको छ ?
किताबको बिचमा प्वाँख राख्दा बढ्छ भन्ने केटाकेटी विश्वास, मोह, आनीबानी, धार्मिक आस्था साथै सांस्कृतिक प्रचलनसँग जोडिएर हामीले मयूरको प्वाँखलाई हेर्ने गरेको, सुन्दै आएको र भोगेको अनुभव छ । यस लेखमा मयूर र मयूरको प्वाँखसँग सम्बन्धित विभिन्न आयामका बारेमा चर्चा गरिनेछ ।
प्रस्तुत आलेखमा सर्वप्रथम मयूरको बारेमा जानकारी लिई अन्य प्रसंगमा विषय प्रवेश गरिनेछ ।
मयूरहरू ठूला उड्ने चरा प्रजातिहरू मध्ये पर्दछन् । यिनीहरू घाँसे मैदान, जंगल, मानव बस्ती र कृषि क्षेत्र लगायतका स्थानमा बास बस्ने गर्छन् । आहारालाई नियाल्ने हो भने मयूरहरू सर्वभक्षी हुन् । यिनीहरूले अन्न, बीउ, फलफूल, सर्प, भ्यागुता तथा साना कीराहरूलाई आहारा बनाउँछन् ।
निलो मयूर (इन्डियन पिफल), हरियो मयूर (जाभानिज वा ग्रिन पिफल) र कंगोमा पाइने (कंगो पिफल) गरी विश्वभरमा मयूरका ३ प्रजाति पाइन्छन् । यस लेखमा निलो मयूरको बढी चर्चा हुनेछ । यो प्रजाति नेपाल, बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकामा पाइन्छ । तपाईं हामीले प्रत्यक्ष पनि देखेका हुन सक्छौँ (प्रस्तुत लेखमा मयूर मात्र लेखिएमा निलो मयूरलाई बुझ्नुपर्नेछ।) ।

मयूरको भाले र पोथीको बनावट साथै आकार पनि फरक हुन्छ । भाले मयूरमा लामा प्वाँख हुने, प्वाँखको माथिल्लो भागमा आँखाको जस्तो आकृति हुने र पोथीलाई प्रभावित पार्ने प्रेमिल प्रदर्शनका क्रममा प्वाँखलाई फिँजाउने गर्दछ । त्यसैले मयूरलाई कसै कसैले सय आँखा भएको जीव पनि भन्दछन् । तर पोथी मयूरमा भालेको जस्तो प्वाँख हुँदैन । भाले मयूरलाई अंग्रेजीमा Peacock, पोथी मयूरलाई Peahen भनिन्छ र लिंग नछुट्याउँदा वा दुवैलाई एकैपटक जनाउँदा Peafowl भन्ने या लेख्ने गरिन्छ । भालेको प्वाँख समेतको लम्बाइ ६ फिटसम्म हुन्छ ।
संरक्षणको अवस्थाका आधारमा हेर्दा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को तथ्यांक बमोजिम मयूरका प्रजाति अनुसार तिनीहरूको संरक्षणको अवस्था फरक फरक छ । विश्वव्यापी रूपमा निलो मयूर आइयुसिएनको खतराको सूचीभन्दा बाहिर रहेको छ भने कंगो पिफल खतराको सूचीमा पर्दछ र जाभानिज वा ग्रिन पिफल अति संकटापन्न सूचीमा परेको छ ।
निलो मयूरको संख्या यथावत रहे पनि अन्य २ प्रजातिको संख्या घट्दो क्रममा रहेको आइयुसियनको तथ्यांकले देखाउँछ । कंगो पिफल २५ सयदेखि करिब १० हजार र ग्रिन पिफल १० हजार देखि करिब २० हजारसम्मको संख्यामा रहेको आँकडा छ । नेपालमा मयूर आइयुसिएनको रेडलिस्टमा खतराको सूचीमा परेको छ भने संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धी (साईटिस) को अनुसूची ३ मा राखिएको छ ।
मयूर लगायत अन्य प्रजाति सम्मिलित संरक्षण योजना तयार गरी नेपाल सरकारले मयूर संरक्षणलाई प्राथमिकतामा राख्दै आएको छ । नेपालमा मयूरको संख्या ३ हजारदेखि ५ हजार रहेको तथ्यांक छ ।
दक्षिण एसियामा मयूरको अवस्था

मयूर भारतको राष्ट्रिय चरा हो र यसलाई त्यहाँको वन्यजीव संरक्षण ऐन (१९७२) ले पहिलो दर्जाको संरक्षण प्रदान गर्दै अनुसूची १ मा राखेको छ । भारतमा मयूर मारेमा ७ वर्ष जेल सजायसहित १० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । नेपालमा कुनै पनि जंगली जनावरलाई मार्न नपाइने कानूनी प्रावधान छ । श्रीलंकामा खेतीपाती क्षति गरिदिने भएकोले यसलाई हानिकारक पक्षीको रूपमा व्यवहार गरिन्छ ।
बंगलादेशमा धेरै वर्ष अगाडि प्राकृतिक बासस्थानबाट मयूर विलुप्त भए पनि हाल व्यवसायिक खेती भने गरेको पाइन्छ । भुटानका केही स्थान जस्तै चुक्खा र गेलेफुमा पाइएको छ तथापि पालेको वा ल्याएर छोडिएको हो भन्ने यकिन नभएको विभिन्न स्रोतहरूमा उल्लेख छ । पाकिस्तानको सिन्ध प्रान्तको थार मरूभूमि वरपर साथै पञ्जावको उत्तर पूर्वी सीमावर्ती क्षेत्रहरूमा पनि सानो संख्यामा मयूरहरू बस्दै आएका पाइन्छ ।
मयूरको धार्मिक र सांस्कृतिक सम्बन्ध
मयूरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विभिन्न धर्महरूसँग रहेको पाइन्छ । मयूरका प्वाँखहरू हिन्दु, बौद्ध, सिख, जैन, मुस्लिम र ईसाईहरूद्वारा विभिन्न धार्मिक तथा सांस्कृतिक तवरमा युगौंदेखि प्रयोग गर्दै आइरहेका छन् । मयूरलाई एक सम्मानजनक चराको रूपमा हेरिने गरिन्छ । मयूरहरूको रंगीविरंगी प्वाँखका कारण यिनीहरूलाई सुन्दरता, शुद्धता र अखण्डताको प्रतिक मानिन्छ ।
मयूरले आफ्नो प्वाँख पुनः वृद्धि गर्न सक्ने हुनाले यिनीहरूलाई अमरता र उर्वरताको प्रतिक पनि मान्ने गरिन्छ । हिन्दु धर्ममा, मयूरलाई परोपकार, धैर्य, दया, करूणा र ज्ञानको प्रतिनिधित्व गर्ने देवी सरस्वतीसँग जोडिएको छ । त्यस्तै भगवान कृष्णसँग पनि सम्बन्ध रहेको पाइन्छ । त्यस्तै मयूर कुमार कार्तिकेयको बहान नै भयो । सूर्यको प्रतिकको रूपामा पनि मयूरलाई पुजिने गरेको पाइन्छ ।
ग्रिक सभ्यतामा मयूरलाई देवताकी रानी हेरासँग जोडेर हेरिन्छ । मयूरको प्वाँखमा भएको आँखाको आकृति रानी हेराको विश्वास पात्र आर्गसको आँखा भएको र उसको हत्यापछि आर्गसको आँखा मयूरमा राखेर रानीले ऊ प्रति देखाएको सम्मान हो भनी विश्वास गरिन्छ । ईसाई पौराणिक कथाहरूका अनुसार इडेनको बगैँचामा निषेध गरेका फलहरू नखाएको सम्मानमा मयूरलाई पुरस्कृत गरिनुका साथै मृत्युपश्चात पनि उसको मासु नकुहिने शक्ति पाएको थियो विश्वास छ ।
तथापि, कतिपय समुदायमा प्वाँखमा भएको आँखालाई दुष्टको नराम्रो आँखासँग तुलना गर्ने हुनाले मयूर र तिनको प्वाँख राख्नु अशुभ हुन्छ भन्ने मान्यता राख्छन् । केही निश्चित समुदायमा कुनै पनि चराको प्वाँख राख्नु नै अशुभ मानिन्छ ।
नेपालमा मयूरलाई धार्मिक तथा सांस्कृतिक दुवै पक्षबाट हेरिने गरिन्छ । केही धार्मिक सम्बन्धबारेमा हामीले माथि नै उल्लेख गरिसक्यौँ । सांस्कृतिक आयाम नियाल्दा केही समुदाय जस्तै थारू संस्कृतिमा मयूरको धेरै महत्व छ । घरको ढोका वा भित्तामा, घरपालुवा जनावरको शरीरमा, हलो आदि विभिन्न स्थानमा मयूरको चित्र बनाउने प्रचलन छ । यसो गर्नाले घरमा धन तथा सम्पत्ति आर्जन हुने विश्वास छ ।
सांस्कृतिक मात्र नभएर आर्थिक उपार्जनका लागि चितवन लगायतका ठाउँहरूमा पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न मयूर नाचको प्रयोग भएको पाउँछौँ । अर्कोतर्फ मयूर झ्यालले नेपाली काष्ठकलामा राम्रो स्थान पाएका उदाहरण पुराना अनुपम कलाकृतिमा भएका प्रयोगले पुष्टी गर्दछ ।
मयूरलाई जोखिम
पुरातन औषधि प्रयोग विधिहरूमा मयूरको प्वाँख तथा अन्य अंगहरूको प्रयोग, मांसाहार, प्वाँख जडित गरगहना तथा लुगाकपडा लगाउने, मयूरको प्वाँख आफ्नो घरमा राख्ने बढ्दो प्रचलन आदि कारणले मयूर प्रजातिलाई नै जोखिम बढेको छ । मयूरको प्वाँखबाट बनेका सामान बजारमा पाइने गरेका छन् ।

मयूरको प्वाँख जडित विवाहको कपडालाई चर्चित विदेशी ब्राण्डहरूले बेचेको पनि पाइन्छ । राजकीय प्रचलनमा मयूरको प्वाँखबाट बनेको मयूर पंखले हावा दिने गरेको हामीले किताबहरूमा पढेका नै हौँ । यस्तो आचरण हाल सौखिन वर्गले त्यही उद्देश्यले प्रयोग नगरे तापनि सजावटको रूपमा प्रयोग गरेको पाइन्छ । सुन्दर वस्तुलाई आफ्नो नियन्त्रणमा पार्ने मानवीय अभिलाशाले मयूरको अस्तित्व संकटमा परेको छ । अत्याधिक गर्मी र पानीको अभाव पनि मयूरको ज्यान जाने कारक हुन् ।
एक वयस्क मयूरले वार्षिक १ सय ५० देखि २ सय प्वाँखहरू प्राकृतिक रूपमा झार्ने गर्दछ । त्यस्ता प्वाँख संरक्षित क्षेत्र भित्र संकलन गर्न नमिल्ने र बाहिर झरेका प्वाँखहरूमा मात्र संकलक तथा सर्वसाधरणले पहुँच पाउँछन् । माग बढी हुने तर प्वाँखहरू आफ्नो पहुँचबाट बाहिर हुने भएकोले शिकारीहरूले मयूर मार्न पासो थाप्ने, खानामा विष मिसाइदिने आदि विधि अपनाउँछन् ।
प्वाँखमा रगत नपरोस् भनेर यस्ता विधिको प्रयोग गरिन्छ । किसानहरूले आफ्नो बाली नष्ट गरेको भन्दै ज्ञातवश नै पारोयुक्त विषादी मिसिएको बीउ खेतबारीमा हालिदिने हुनाले पनि मयूरहरू मर्ने गरेको पाइन्छ । कसैले मासुको माग पूरा गर्न पनि मार्ने गरेको पाइएको छ । जंगलबाट मयूरको अण्डा नै चोरी गर्ने गिरोह पनि सक्रिय छन् ।
प्वाँखको अवैध व्यापार पनि मयूरको लागि एक ठूलो जोखिममध्ये पर्दछ । उदाहरणका लागि हालै (सन् २०२५ को जुलाई महिनामा) भारतको पुनेमा करिब ४ सय किलोभन्दा बढी मयूरको प्वाँख बरामद गर्दै ११ जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।
यो घटनालाई संख्यात्मक कोणबाट हेर्दा र एक वयस्क मयूरको प्वाँखको सरदर तौल ३ सय ग्राम हुने तथ्यलाई नियाल्दा करिब १ हजार ३ तीन सय भन्दा बढी मयूरबाट प्वाँख संकलन भएको या धेरै वर्षसम्म जम्मा गरिएको या विभिन्न स्थानबाट थोरै थोरै जम्मा गरेर एकमुष्ट रूपमा पैठारी गर्न लागिएको हुनसक्छ ।
सन् २०२३ मा भारतमा विमानस्थल भन्सार अधिकारीहरूले बैंकक उडान गर्न लागेका चारजना भारतीय यात्रुबाट डेढ लाख मयूरका प्वाँख बरामद गरेका थिए । त्यस्तै सन् २०२१ मार्चमा भारतबाट प्लास्टिकको लचिलो पाइप भनेर चीन निर्यात भइरहेको कन्टेनरमा २ हजार ५ सय ६५ किलो (२१ लाख) मयूरको प्वाँखहरू भेटिएको थियो ।
भारतमा देशभित्रै बाटो, पसल तथा न्यून मात्रामा बिक्रीवितरण गर्न पाइने भए पनि ठूलो मात्रामा जम्मा तथा बिक्री गर्न साथै देश बाहिर लैजान गैरकानूनी मानिन्छ । मयूरको प्वाँख र त्यसबाट बनाइएका वस्तुमा विदेशीहरू आकर्षित भई प्वाँखको माग बढेको देखिन्छ ।
नेपालमा बाराम्बार ठूलो संख्यामा मयूरको प्वाँख बरामद भएको घटना त धेरै हामीले सुनेका छैनौँ । तर केही स्थानमा मयूरलाई मार्ने र मयूरको प्वाँखको अवैध व्यापार गर्नेविरूद्ध मुद्दा पनि चलेको छ । डिभिजन वन कार्यालय काठमाडौँमा विसं २०७४ मा मयूरको प्वाँख ३० केजी, प्वाँख तयारी २५ केजी, प्वाँखको डाँठ २५ किलोसहित एक भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । त्यस्तै विसं २०६८ सालमा ७ वटा पोकोमा लुकाइएको अवस्थामा करिब ३ सय १७ किलो प्वाँख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको घटना छ ।
मयूरका अंग तथा प्वाँखको प्रयोग
मयूरको शरीरका विभिन्न भाग विशेष गरी प्वाँखको उपयोग पुरातन उपचार विधि प्रयोग गरी बनाइने औषधिमा हुने गरेको पाइन्छ । खासगरी प्वाँख खोकी, टाउको दुःखाई, बान्ता, दम तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोगहरू, यौन दुर्वलता साथै छोरो पाउन अपेक्षा गर्दै विभिन्न विधि अपनाएर यसको प्रयोग हुँदै आएको छ ।
आदिवासी जनजाती तथा विशेष समुदायले यस्ता प्रयोगलाई हालसम्म पनि उपयोगमा ल्याएको हामीले यदाकदा सुन्ने या पढ्ने गरेका छौँ । मयूरको खुट्टा कानसम्बन्धी समस्यामा प्रयोग हुने गर्दछ । मयूरको छातीको प्वाँखबाट गरगहना (कानका गहना, नेकलेस) साथै बहुमुल्य पोशाकको फेर र टोपीको फेरमा जडेर महंगो दाममा बिक्री गरिन्छ । माछा मार्ने बल्छीको माथिल्लो भागमा लगाउनेदेखि बोक्सी तथा तान्त्रिक विद्यामा प्रयोग गर्ने गरेको पाइन्छ ।

अन्त्यमा
धेरै माग पूरा गर्न अवैध विधि प्रयोग गर्ने जस्तै पासोमा पार्ने, खेतबारी वा जंगलमा विष छरेर मार्ने जस्ता कार्यले मयूरको प्रजातिलाई साथै यो बस्ने पारिस्थितिकीय प्रणालीलाई असर गरेको छ । प्राकृतिक प्रणालीलाई खलल पु-याएको छ ।
अवैध स्रोतबाट प्राप्त साधनहरूबाट हामी धार्मिक आस्थाको काम गर्दैछौँ भने त्यसले प्रदान गर्ने सन्तुष्टि र प्राप्ती कसरी चोखो हुन सक्दछ ? यस विषयमा मनन गर्नु हाम्रो दायित्व भित्र पर्दैन ? हाम्रो सोख र देखासिकी हामीले मन पराइरहेको जीवको मृत्युको कारण त बनिरहेको छैन ?
हामीले प्रयोग गरेको मयूरको प्वाँख वा हाम्रो घरमा भएको मयूरको प्वाँख के प्राकृतिक स्रोतबाट नै आएको हो त ? प्रश्न गर्नुपर्ने भएको छ । मयूरको प्वाँख जबर्जस्ती उखेलेको हो या आफैँ झरेको हो थाहा नपाइयोस् भनेर प्वाँखको फेदलाई राम्ररी पखालेर वा प्रसोधन गरेर मात्र बजारमा पठाउने गरेको पाइन्छ । तसर्थ किन्नेलाई स्रोतको बारेमा जानकारी हुँदैन । अर्कोतर्फ तपाईं हामीले प्वाँख किनिरहेको हुनाले अवैध व्यापार प्रोत्साहन भएर माग पैदा भइरहेको त छैन ?
मयूर भन्ने बित्तिकै हामी सुन्दर प्वाँखको चित्र अझ भनौँ मयूरले प्वाँख फिँजाएर नाचेको दृष्य हाम्रो मानस्पटलमा ल्याउने गर्दछौँ । इन्द्रेणी रङले मयूरको शरीर र प्वाँखलाई आकर्षक त बनाएको हुन्छ तर त्यही रङ भरित प्वाँख नै मयूरको मृत्युको कारण बनिरहेको र मानव जातिकै लोभी प्रवृत्तिको उपजसँग जोडिएको त छैन ? जुनसुकै धर्म, जातजातिले आस्थाका आधारमा प्रयोगमा ल्याएको मयूर पंख त्यो अबोध पक्षीलाई विष दिएर, पासोमा पारेर वा हिर्काएर मारेको नहुने सम्भावनालाई नकार्न सकिन्छ ?
यी र यस्तै प्रश्नहरूले तपाईं हामीलाई झक्झक्याओस् ! यही अभिलाषाले यो आलेख तयार पारिएको हो ।
भट्टराई दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (सावेन) सचिवालयका वरिष्ठ वातावरण अधिकृत हुन् । यो लेखलाई संस्थाको भनाइको रूपमा लिइने छैन ।