Monday, August 18, 2025

पेरिस सम्झौताका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

२ भदौ, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।

हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्न आग्रह गरे ।

यस्तो सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो । सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका विभिन्न मुलुकका सांसदहरू, सरकारका उच्च पदस्थ प्रतिनिधिहरू, जलवायु क्षेत्र विज्ञलगायत सहभागी छन् ।

विश्व तापमान वृद्धि हुँदै गर्दा हिन्दुकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा बढी दरमा तातिरहेको राष्ट्रपति पौडेलले बताए । पछिल्ला दशकमा यस क्षेत्रका हिमनदी द्रुत गतिमा पग्लिने क्रम बढेसँगै बाढी र भूस्खलनजस्ता जलवायुजन्य विपद् वृद्धि भएका उनको भनाइ थियो ।

पौडेलले भने, ‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा सीमित रहेनन्, यी त हाम्रो जीवनको कठोर वास्तविकता बनेका छन् । त्यसैले, यो सम्मेलन हाम्रो साझा र दिगो भविष्यको मार्गचित्र बनाउन ऐतिहासिक अवसर हो ।’

हिमालबाट बग्ने पानी, वनले दिएको अक्सिजन र उर्वर भूमि विश्वका २ अर्बभन्दा बढी जनताको जीवन धान्ने आधार भएको तर यही जीवनाधार अहिले संकटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे । जैविक विविधताको ह्रासले खाद्य सुरक्षामा असर गरिरहँदा सांस्कृतिक सम्पदामा धक्का पु¥याउँदै प्रजाति लोपको जोखिम बढाइरहेको राष्ट्रपति पौडेलले बताए ।

यस्ता चुनौतीहरूबीच पनि जलवायु परिवर्तनको सामना गर्न, वायु प्रदूषण नियन्त्रण गर्न र जैविक विविधता संरक्षण गर्न सदस्य राष्ट्रहरूले गरेका उल्लेखनीय पहलप्रति उनले आभार व्यक्त गरे । जलविद्युत् उत्पादन र प्रयोगमा सहकार्य, सौर्य ऊर्जाको प्रवद्र्धन, सामुदायिक वन संरक्षणमा सहभागिता, जलवायुजन्य विपद्को पूर्वसूचना प्रणालीको विकासजस्ता कार्य नेपालले गरेका महत्वपूर्ण पहलहरू भएको उनको भनाइ थियो ।

ताजा समाचार

सम्बन्धित समाचार