Saturday, August 16, 2025

कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ ।

भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् । निकुञ्जको हीरापुर फाँटामा ५८.८ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ ।

सन् २०१२ मा ७.५ हेक्टरमा मात्र तारबार गरिएकोमा सन् २०१३ मा ४.५ पाँच हेक्टर, सन् २०१५ मा ५ हेक्टरमा तारबार भएको थियो । त्यसैगरी सन् २०१७ मा १७ हेक्टर र सन् २०१९ मा ७.८ हेक्टर थप गर्दै ५८.८ हेक्टरमा तारबार भएको छ ।

निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेका अनुसार कृष्णसारको संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उनले बताए ।

वाग्लेले भने, ‘मन्त्रालय र विभागमा कृष्णसार व्यवस्थापनबारे कुरा राखेका छौँ ।’ उनका अनुसार वर्निखेडालगायत क्षेत्रमा प्राकृतिक वातावरणमा छाड्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गर्ने प्रस्ताव पनि आएको वाग्लेले बताए ।

एक दशकमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको छ । सन् २०१३ मा यो निकुञ्जमा ३१ वटा कृष्णसार थिए । त्यसपछि हरेक वर्ष यसको संख्या बढिरहेको छ ।

२०६९ को भदौमा नेपालगञ्ज र ललितपुरको सदर चिडियाखाना तथा २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट शुक्लाफाँटामा कृष्णसार ल्याएर संरक्षण थालिएको थियो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ गरी जम्मा ४२ कृष्णसार स्थानान्तरण गरिएको थियो ।

कृष्णसारको स्वास्थ्य र पोषणका लागि दिनमा एकपटक दाना, ढुटो, चोकर, मकै, चना आदि खुवाइन्छ । पशु चिकित्सक आभाष श्रेष्ठका अनुसार कृष्णसारमा जुका, किर्नाजस्ता परजीवीको संक्रमण देखिने भएकाले समय–समयमा दानामा औषधि मिसाएर खुवाउने कार्य हुँदै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तुको सूचीमा छ । एन्टिलोप प्रजातिको यो जनावर नेपालगञ्ज, काठमाडौँको मृगस्थली, बर्दियाको खैरापुर र शुक्लाफाँटाको हीरापुर फाँटामा संरक्षित रहेको छ ।

घाँसका फाँटमा बस्न रूचाउने कृष्णसारमा भाले कालो र पोथी खैरो रङका हुन्छन् । कृष्णसारले ६–६ महिनामा बच्चा जन्माउँछन् । वयस्क नभएसम्म दुवै भाले पोथीको रङ खैरो नै हुन्छ ।

कृष्णसार संरक्षित क्षेत्रमा आन्तरिक पर्यटकको आवागमनमा वृद्धि हुँदै गएको छ । कृष्णसार अवलोकनका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार