३० साउन, तनहुँ ।
वनमा पानीको स्रोत मासिँदै जाँदा मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको छ ।
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत डिभिजन वन कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
त्यसैगरी देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ को बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा वनमा पोखरी निर्माण गरिएको हो ।
पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको पण्डितले जानकारी दिए । १ लाख रूपैयाँको लागतमा भानु नगरपालिका–९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ ।