लोप हुँदैछन् ढुंगेधारा, भएकामा पनि आउँदैन पानी

काठमाडौं– ललितपुरको च्यासलमा रहेको च्यास हिटीमा आजभोलि त्यति भिडभाड देखिदैन्। कुुनै बेला खानेपानीका लागि हिटी पुुग्नेहरू अचेल देखा पदैनन्। पानी बिनाको हिटी अचेल साँझ बिहान सुनसान देखिन्छ।

आजभन्दा करीब ६ वर्ष अघिको अबस्था ठीक उल्टो थियो। ढुंगेधारा रहेको हिटीमा साँभबिहान भिड्भाड हुन्थ्यो, दिउँसो पनि आवतजावत भइरहन्थ्यो। त्यतिखेर हिटीले कहिले पनि एक्लो महसुस गर्नु परेन्।

नानीमैया व्यञ्जनकार (७७) ले हिटीको ढुङ्गेधारामा पानी नदेखेको ६ वर्ष भयो। उनी भन्छिन्, ‘पानी आउन छोडेदेखि नै हो, सुनसान भएको।’

उनी सम्झिन्छिन् सानैदेखि साथीसँग भेट्ने रमाइलो स्थान पनि ढुंगेधारा नै हो, अनि छिमेकीसँग गफगाफको थलो पनि।

‘उतिबेला यो हिटीको पानी पर्याप्त आउँथ्यो। साथीसँग भेट्ने बाहना पनि थियो,’ नानीमैयाले भनिन्, ‘धारा सुकेपछि छिमेकीसँग भेट्घाट पनि पातलो भयो।’ उनका अनुसार त्यतिखेर इमाडोल, बालकुमारीमा बस्नेहरू पानीका लागि हिटी पुुग्थे।

‘च्यास हिटीले ६ वर्षदेखि च्यासलका हजारौंको मात्र होइन आफ्नै प्यास समेत मेटाउन सकेको छैन,’ उनले भनिन्। नानीमैयाका अनुसार बर्खा मौसममा अर्थात् असार, साउन र भदौमा थोपा पानी आउँछ भने बाँकी महिनामा पानीको थोपा समेत चुुहिँदैन।

ऐतिहासिक महत्व बोकेका ढुंगेधारा संरक्षणको अभावमा लोप हुँदै 

‘अहिले त ढुंगेधाराको पानी खानै पाएको छैन्। हामीहरुलाई पानीको असाध्धै दुःख छ,’ अष्टमाया व्यञ्जनकार (७८) भन्छिन्, ‘ढुंगेधारामा आउने पानीको मुहान नै बन्द भएपछि धारामा पानी आउन छाडेको छ।’

चिंकवहिलमा इनार खन्दा ढुंगेधारामा आउने पानीको मुहान त्यहाँ परेपछि सुकेको उनीहरुको भनाइ छ। ललितपुरको पाटनस्थित सौगल ढुंगे धारामा पनि बर्खामा मात्र पानी आउँछ। हिउँद र गर्मीयाममा पानीको थोपासम्म नआउने गरेको स्थानीय श्रीकृष्णा रञ्जीत (७१) बताउँछन्।

५० वर्षपहिला ललितपुर सहर बाहिर घना बस्ती थिएन जसले गर्दा बाह्रै महिना धारामा पानी आउने गरेको उनी बताउँछन्। विस्तारै सहरीकरण बढ्दै गयो। राजकुलोबाट ल्याइएको पानीका मुहान नै काटिन थालेपछि ढुंगेधारामा पानी आउन छाडेको उनको अनुुभव छ।

‘पहिला पाटनभन्दा बाहिर बस्ती नै थिएन। बाह्रै महिना कलकल पानी आउँथ्यो,’ उनले भने, ‘अहिले साउनदेखि कात्तिक महिनामा मात्र पानी आउँछ।’ घर बनाउँदा जमिनको तलसम्म जग खन्दा पानीका मुहान काटिएर पानी आउन छाडेको उनको अनुुमान छ।

‘ढुंगेधारा बचाइदिनुुस्’
ललितपुर, काठमाडौं र भक्तपुरका स्थानीय बासिन्दाका लागि ढुंगेधारा पानी खाने, कपडा धुने, नुहाउने ठाउँ मात्र होइन। ढुंगे धारा उनीहरुको सामाजिक र सास्कृतिक पक्षसँग पनि जोडिएको छ।

ढुंगेधाराका बारेमा अध्ययन एवं अनुसन्धान गर्न आउने नेपाली तथा विदेशीहरुलाई उनीहरुले एउटै प्रश्न गर्छन, ‘के यो हिटीलाई पानी आउने बनाउन सक्नुहुन्छ र रु’ अरुले जस्तै ललितपुर ९ की ७५ वर्षीया सुनमाया महर्जनको पनि त्यही प्रश्न छ। भन्छन्, ‘हिटीमा पानी आउने बनाउन सक्नुहुन्छ? जो आउँछन् हिटीका बारेमा सोध्छन् तर हिटीमा पानी आउने बनाउन कसैले सक्दैनन् ।’

कुनै समयमा कलकल पानी आउने ढुंगेधारा आजभोलि त्यहाँ भेटिँदैनन्  भएका ढुंगेधारामा पनि पानीको थोपा चुहिँदैन।

पाटन सुन्धारा टोलसुधार समितिका अध्यक्ष राजेश श्रेष्ठले पाटन औद्योगिक क्षेत्रका कारण सुनधारामा पानी आउन बन्द भएको बताए।

‘पाटन औद्योगिक क्षेत्रमा ठूूल्ठूूला इनार बनाएपछि यहाँ पानी आउन छाडेको हो,’ उनले भने, ‘हामीले यहाँ पानी ल्याउनका लागि जुलुस पनि निकाल्यौं। महानगरमा निवेदन पनि दिएका थियौं तर हाम्रो कुरा कसैले सुनेको छैन।’ उपत्यकाबासीको परापूर्वक कालदेखि नै खानेपानीको मुख्य स्रोत ढुंगेधारा रहेको छ।

३ सय ६५ ढुंगेधारामध्ये ७३ लोप भए
नेपाली इतिहास, संस्कृति तथा पुरात्व विभाग कीर्तिपुरका उपप्राध्यापक डा. सन्ध्या खनाल पराजुुलीका अनुसार काठमाडौंमा २ सय ४, पाटनमा ६३ र भक्तपुर नगरपालिकाभित्रमा ९८ गरी ३ सय ६५ ढुंगेधारा रहेका छन्।

जसमध्ये ७३ ढुंगेधारा हराइसके ९लोप० भैसकेका छन्, भने ९ वटा ढुंगेधारा लोप हुने अवस्थामा रहेका छन्। कुनै समयमा कलकल पानी आउने ढुंगेधारा आजभोलि त्यहाँ भेटिँदैनन्  भएका ढुंगेधारामा पनि पानीको थोपा चुहिँदैन।

ऐतिहासिक महत्व बोकेका ढुंगेधारा संरक्षणको अभावमा लोप हुँदै गएका छन्। काठमाडौंको दरबारमार्गमा रहेको तीनधारा पाठशाला, चावहिलको गंगाहिटी, ललितपुरको उकवाहल रहेको उकहिटी, खुइतटोलको चौबाटोमा रहेको हिटी, पिलाछे टोलमा रहेको पिलाछे हिटी, हिमालय होटल अगाडि रहेको बहिलाहिटी जस्ता ७३ ढुंगेधारा लोप भएका हुन्।

लोप भएका ढुंगेधाराको संख्या

काठमाडौं –५३

भक्तपुर–११

ललितपुर–९

बाह्रै महिना पानी आउने ढुंगेधारा १ सय १९ मात्र

काठमाडौं –७०

पाटन–२५

भक्तपुर–२४

थोपा पानी आउने ढुंगेधारा

काठमाडौं –९

पाटन–६

भक्तपुर–४

जमिनको अतिक्रमणले सुके ढुंगेधारा : डा. सन्ध्या खनाल
बढ्दो सहरीकरणसँगै मानविय अतिक्रमणका कारण उपत्यकाका ढुंगेधारा सुकेको डा।सन्ध्या बताउँछिन्।

‘पहिलाका राजाहरुले राजकुलो मार्फत विभिन्न ठाउँमा पोखरीको निमार्ण गरी ढुंगेधारासम्म पानी ल्याउने व्यवस्था मिलाएका थिए,’ उनले भनिन् ‘जमिन तलबाट ल्याइएक पानीका मुहान काट्दिा उपत्यकाका ढुंगेधारा सुक्दै गएका हुन् ।’

उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा बनेकोे चक्रपथ तथा ठूला घर निर्माण गर्दा ढुंगेधारा सुकेको हो । ‘सडक बनाउँदा तथा मल बनाउँदा तलसम्म जग खन्दा त्यहाँबाट ल्याइएका पानीका मुहान काटिए जसले गर्दा ढुंगेधारा सुके,’ उनले भनिन्।

उनले ढुंगेधारा सुक्नुको उदाहरण दिँदै भनिन्, ‘काठमाडौं धरहरा नजिक रहेको सुन्धाराको पानीको स्रोत भनेको टुँडिखेल हो। पहिला त्यहाँ दलदल धाप थियो।

अहिलेको काठमाडौं मलको तलबाट पानी जान्थ्यो। पछि २०४४ सालमा सञ्चयकोषको भवन बनाउँदा गहिरो जग खन्ने काम भयो जहाँबाट पानीको मुहान सुनधारमा जोडिएको थियो त्यो भवन बन्दा त्यसको कनेक्सन टुट्यो जसले गर्दा अहिले पानी आउँदैन।’

जथाभावी सहरीकरणले ढुंगेधारा सुके : पुरातत्व विभाग

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर पनि जथाभावी सहरीकरणले ढुंगेधारा सुुकेको बताउँछन् ।

‘योजना बिना नै सहरीकरण भयो, जथाभावी घर बने,’ उनी भन्छन्, ‘आउने पानीका मुहान समेत काटिदा ढुंगेधारा सुकेका हुन् ।’ उनका अनुसार ढुंगेधाराको पानीको स्रोत पहाडतिरबाट आएको पानी हो । ‘जहाँबाट पानीका मुहान ढुंगेधारामा ल्याइएको छ घर तथा बाटो बनाउँदा काटिए जसले गर्दा सुकेको हो,’ उनले भने ।

विभागले ढुंगेधारामा कुदिएका वास्तुकलाको मात्र संरक्षण गर्ने भएकाले ढुंगेधारामा पानी ल्याउने काम आफूूहरुको नभएको उनको तर्क छ। विकास निर्माणका काम गर्दा ढुंगेधारामा जाने पानीको मुहानका बारेमा कसैले नसोच्दा ढुंगेधाराको पानीको संरक्षण गर्न नसकिएको विभागका प्रवक्ता कुँवले बताउँछन्।

सडक विभाग, नापी विभाग, खानेपानी विभाग, नगर विकास समिति र स्थानीय तह संघसंस्थाबीच समन्वय हुन नसक्दा ढुंगेधारामा पानी सुकेको उनको भनाई छ। विभागले निकालेको ‘काठमाडौं उपत्यकाभित्र सम्पदाको इन्भेन्ट्री’पुस्तकमा भक्तपुरमा ५१ र काठमाडौंमा ११५ ढुंगेधारा रहेका छन्।

आकाशबाट परेको पानी जमिनमा पुनःभण्डारन गर्न सके ढुंगेधारामा पानी आउने नेपाल विकास अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.जयकुमार गुरुङ बताउँछन्।

‘उपत्यका अहिले कंक्रिट जगंलमा परिणत भएको छ। यहाँ आकाशबाट आउने पानी जमिनमा गएर पुनःभण्डार हुन पाउँदैन,’उनले भने ‘खाली ठाउँ छैन। सबै ठाउँमा कंक्रिट मात्र छ।’ बचेका खाली ठाउँमा कंक्रिड नगर्न,ढुंगेधारामा कृतिम पानी ल्याउने,आकाशे पानीलाई संकलन गर्न सके उपत्यकाका ढुंगेधारामा पानी ल्याउन सकिने डा.गुरुङ बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार