Tuesday, April 15, 2025

थपियो चिडियाखाना अवलोकन अवधि

२८ चैत, ललितपुर । जावलाखेलस्थित सदर चिडियाखाना बेलुकी ८ बजेसम्म खुल्ने भएको छ ।

आगामी १ वैशाखदेखि सर्वसाधारणका लागि अवलोकन समय थप हुने भएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार १ वैशाखदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ’, उनले भने ।

चिडियाखाना हाल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखाना भित्रको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री ठकुरीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको उनले बताए । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बद्र्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे ।

साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार