८ जेठ, काठमाडौं
अफगानिस्तानमा हालै आएको बाढीबाट ३ सय भन्दा बढी मानिसको ज्यान गएको छ र हजारौं घरहरू ध्वस्त भएका छन् । हिन्दुकुश हिमालयका देशहरूमा यो वर्षको मनसुनमा जनधनको क्षति हुनसक्ने भनेर विज्ञहरूले चेतावनी दिइरहेका छन् ।
बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानमा विगतका वर्षहरूको तुलनामा औसत तापक्रम बढ्ने र अधिक वर्षा हुने उनीहरूको निष्कर्ष छ । गत महिनाको तापक्रमको अवस्थालाई आधार मान्दा अङ्ग्रेजी महिनाका जुनदेखि सेप्टेम्बरसम्म तापक्रम बढ्ने विश्लेषण सार्वजनिक भइरहेका छन् । यो वर्ष हिउँदे वर्षा कमजोर भए पनि प्रि–मनसुनले दक्षिण एसियाली भेगहरूमा आंशिक राहत दिएको छ ।
तर, हालै प्रकाशित जलवायु परिप्रेक्ष्यले कुनै पनि राहत अस्थायी हुनसक्ने सुझाव दिएको छ । गत १७ वैशाखमा भारतको पुणेमा सम्पन्न दक्षिण एसियाली जलवायु आउटलुक फोरम (सास्कोप)को २८ औं सत्रमा जलवायु विज्ञहरूको सहमतिले भूमध्यमण्डलीय प्रशान्त क्षेत्रमा विद्यमान एल निनो अवस्था स्थिर तथा एल निनोमा कमजोर हुने सम्भावना रहेको निष्कर्ष निकालेको छ ।
मनसुनको प्रारम्भिक चरणमा एल निनो दक्षिणी दोलन (इएनएसओ)ले मनसुन परिवर्तनशीलतामा महत्वपूर्ण प्रभाव पार्छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएको बताइन् । उनले भनिन्, ‘सास्कोफले यस वर्षको मनसुनमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपणसहितको प्रतिवेदन पठाएको छ, त्यो प्रतिवेदनको आधारमा हामी हाम्रो अलग्गै प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं ।’
दक्षिण–पश्चिम मनसुन सिजनको दोस्रो आधामा ला निना अवस्थाहरू विकास हुने सम्भावना छ । बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानमा उच्च वर्षा हुने अनुमान गरिएको छ । र यो वर्षा समग्र तापक्रमको प्रवृतिको सन्दर्भमा हुनेछ र न्यूनतम तथा अधिकतम तापक्रम सामान्यभन्दा बढी हुने देखिएको छ । विभागकी प्रवक्ता पोखरेल भन्छिन्, ‘अहिले धेरै कुराहरू अनिश्चयमा रहेकाले हिउँदको वर्षाको प्रक्षेपण मिलेन । त्यसैले मनसुनबारे पनि अझै बढी अध्ययन/विश्लेषणको आवश्यकता छ ।’
विभागका अर्का वरिष्ठ मौसमविद् बरुण पौडेल पनि मौसमी प्रणालीहरू परिपक्क हुने क्रममा रहेकाले विभागले त्यसलाई नजिकबाट नियालिरहेको बताउँछन् । ‘मनसुन कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिँदैन,’ उनले भने । मौसम विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर हिउँदे वर्षाको प्रक्षेपण मिलेन ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)की वरिष्ठ जलस्रोत विशेषज्ञ डा. मन्दिरा श्रेष्ठ भन्छिन्, ‘गत वर्ष जुनमा दशका धेरै भागमा औसतभन्दा कम वर्षा भएको वर्ष भए पनि हामीले हिन्दुकुश हिमालयका पहाडहरूमा क्षेत्र, समुदाय, समुदायमा विनाशकारी बाढी आएको देख्यौं ।’ यस वर्षको मनसुन दृष्टिकोण चिन्ताजनक रहेको र यो समग्र तापक्रमको प्रवृतिको विरुद्धमा पनि तय गरिएको उनको विश्लेषण छ ।
हिउँ र बरफको ठूलो पग्लन र ‘पर्माफ्रोस्ट’को क्षतिसँग जोडिएकाले (लुकेको ग्लु जसले धेरै पहाडी ढलानहरूलाई स्थिर गर्दछ) र जसको पग्लने प्रयास मुख्य कारक हो । विनाशकारी फ्लास फ्लड, बाढी र पहिरो हिन्दुकुश हिमालय क्षेत्रमा प्रष्ट देखिएको बताउँदै डा. श्रेष्ठ भन्छिन्, ‘यो पूर्वानुमान फन्डरहरू, बहुपक्षीय एजेन्सीहरू र सरकारहरूमा विपद् व्यवस्थापन अधिकारीहरूको लागि एक चेतावनी होस् । बढ्दो जोखिमको यो विशाल जनसंख्या भएको क्षेत्रमा बहु–खतरा पूर्व चेतावनी प्रणालीहरू तुरुन्तै रोल आउट गरिनु पर्छ ।’
सास्कोपको विश्लेषण अनुसार यो मनसुनमा नेपालको मध्य भेग, कास्की, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङको दक्षिणी भेग, म्याग्दी र बागलुङको पूर्वी क्षेत्र, गुल्मीको पूर्वी–उत्तरी तथा तनहुँ र गोरखाको पश्चिम र उत्तरी भेगमा धेरै पानी पर्ने सम्भावना छ । त्यस्तै, सुनसरीको पश्चिमी र उदयपुरको दक्षिणी क्षेत्र, सप्तरी, सिराहाको आधाभन्दा धेरै भाग, सर्लाही, महोत्तरी र धनुषाको दक्षिण भेगमा धेरै वर्षाको आकलन गरिएको छ ।
औसत पानी पर्ने आकलन गरिएका क्षेत्रमा पश्चिम नेपालमा दार्चुला, बैतडी र बझाङको पूरै क्षेत्र, बाजुरा र हुम्लाको पश्चिमी क्षेत्र, डोटीको उत्तरी भेग, डडेल्धुराको पश्चिम–उत्तर क्षेत्र छन् । रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा र उदयपुरमा भने औसत वर्षाको सम्भावना छ । काभ्रेको पूर्वी क्षेत्र, ताप्लेजुङ र तेह्रथुमको पश्चिमी, संखुवासभा, सोलुखुम्बु, दोलखा र दक्षिण रामेछाप, सर्लाहीको पूर्वी तथा महोत्तरी, धनुषा, सिराहा र सुनसरीको उत्तरी क्षेत्रमा पनि औसत वर्षाको पूर्वानुमान गरिएको छ ।
विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘औसत र औसतभन्दा पनि धेरै पानी पर्नेबाहेक क्षेत्रमा औसतभन्दा केही धेरै वर्षा हुने देखिएको छ । वर्षा औसतभन्दा धेरै भए पनि अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी हुने देखिन्छ ।’ परिमाणात्मक आकलन गर्न विभागसँग प्रविधि र दक्षता नभएकाले वर्षाको प्रतिशत यकिन गर्न नसकिने उनको तर्क छ । हुमागाईंले भने, ‘अध्ययन, अनुसन्धान र प्रविधिको खाँचो हुन्छ । ग्लोबल मोडलले दिने तथ्यांक सहजै पाउन सक्दैनौँ । अन्य मुलुकसँग औपचारिक रूपमा मौसमसँग सम्बन्धित तथ्यांक आदान–प्रदान हुन सकेको छैन ।’
नेपाल मात्र होइन, यसपटक दक्षिण एसियाली मुलुकमा औसतभन्दा धेरै वर्षाको आकलन सास्कोफको छ । नेपालले सन् २०२० देखि विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र सास्कोपको आकलनका आधारमा मनसुनी प्रक्षेपण गर्ने गरेको छ ।
गत वर्षको मनसुनमा प्रशान्त महासागरमा एलनिनोको अवस्था विकसित हुँदा वर्षा कम भएको थियो । अघिल्लो बर्खामा आकलन गरेअनुसार नै औसतभन्दा कम वर्षा भएको थियो । १ हजार ४ सय ७२ मिलिमिटर (८५.५ प्रतिशत) वर्षा भएको थियो । नेपालमा वार्षिक वर्षाको ८०.५ प्रतिशत अर्थात् १ हजार ३ सय ७४.१ मिलिमिटर वर्षा हुन्छ । सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ । तर, कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर पनि नेपालले ठ्याक्कै प्रक्षेपण गर्न सकेको छैन ।
निरन्तर वढ्दो तापमानका कारण केही क्षेत्रहरूले घातक वर्षाको सामना गर्नेछन्, अरूले जून देखि अक्टोबरबिचको गर्मीको सामना गर्नेछन् । क्लाइमेट आउटलुकका अनुसार, जुनदेखि अक्टोबरसम्मको मनसुन महिनाका लागि अधिकतम तापक्रमले केही पृथक क्षेत्रहरू बाहेक, धेरै क्षेत्रहरूमा मौसमी अधिकतम तापक्रम सामान्यभन्दा बढी हुने सम्भावना छ । यसैले गर्मीको लहर मनसुनभर जारी रहने र न्यूनतम तापक्रम पनि सामान्यभन्दा बढी हुने सम्भावना छ ।
पूर्व तयारी कम
यो मनसुनमा वढी बर्षा हुने र तापक्रम पनि बढी हुने भएकाले विपद्जन्य जोखिम बढी हुनसक्ने विशेषज्ञहरूले बताएका छन् । चैतदेखि वैशाखसम्मको खडेरीको समयमा वन डढेलो बढेको र त्यसले नेपालजस्तो भौगर्भिक जोखिम भएको मुलुकलाई ठूलो असर पुग्ने अनुमान गरिएको छ । ‘नेपालजस्तो भौगोलिक र भौगर्भिक अवस्था भएको मुलुकमा यो वर्षको वन डढेलोका कारण वाढी पहिरोको जोखिम अत्यन्तै बढ्ने देखिन्छ,’ भूगर्भविद् डा. रञ्जनकुमार दाहालले भने, ‘यस्तो अवस्थामा अझै यो वर्ष बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले यस विषयमा गम्भीर हुनु आवश्यक देखिन्छ ।’
विपद् व्यवस्थापनको जिम्मेवार निकाय जोखिम न्यूनीकरणका लागि केही सामान्य गतिविधिमा मात्रै सीमित देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्ना गतिविधिहरूलाई बढी महत्व दिए पनि बजेट अभावका कारण जनचेतना जगाउने कामसमेत गर्न नसकेको बताउने गर्छ । ‘पूर्व तयारीका लागि आवश्यक पर्ने सबै गतिविधिहरू सञ्चालन गर्न हामीसँग पर्याप्त बजेट छैन,’ प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेलले भने, ‘हामीसँग जेजति बजेटले गर्न सकिने काम गरिरहेका छौं ।’ नेपालमा धेरै गर्मी हुने जिल्लाहरूमा विपदजन्य घटनाबाट नगारिकलाई जोगाउन जिल्ला विपद् व्यवस्थापन समिति पनि सक्रिय हुनुपर्नेमा प्राधिकरणका सहसचिव भरतमणि पाण्डे जोड दिन्छन् ।