३१ भदौ, चितवन।
गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी चितवन कारागारबाट फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ ।
कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । यही २५ भदौ बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४ सय ९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् ।
कारागारमा जम्मा ७ सय ४४ जना कैदीबन्दी थिए । तीमध्ये २ जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
रासस