३० भदौ, ताप्लेजुङ।
विभिन्न कार्यक्रम आयोजना गर्दै जिल्लाका विभिन्न भेगमा १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ ।
रेडपाण्डा नेटवर्कको सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकैका विद्यालयहरूमा यस्तो दिवस मनाइएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकाका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो ।
ताप्लेजुङका १० वटा विद्यालमा रेडपाण्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको मञ्चका सचिव विवश केदेमले बताए ।
मञ्चका अनुसार, विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको छ । जिल्लामा लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको संख्यासमेत वृद्धि हुन थालेको मञ्चले जनाएको छ । जिल्लामा ७७ देखि १ सय ३४ हाराहारी रेडपाण्डा छन् ।
रासस