मनिका झा
२० भदौ, जनकपुरधाम।
मधेसमा जलवायु परिवर्तनको असरले गर्दा एकातर्फ पानीको मुहान सुक्दै जाने र अर्कोतर्फ कृषि उत्पादन घट्दै गएपछि न भात आफ्नो हुन सकेको छ न त पानी नै’ ।
पानीका स्रोत र परिमाणमा कमी भएपछि खेतीकिसानीमा कठिनाइ उत्पन्न भइरहेको छ । पिउनेपानीका लागि कोसौं टाढाबाट पानी ओसार्नुपर्ने, गहिरिँदै गएको इनारमा लामो डोरी खसालेर पानी तान्नुपर्ने र चापाकलबाट जेनतेन चुहिने पानी सञ्चय गर्न घन्टौं पर्खर्नुपर्ने बाध्यता छ भने तराई–मधेसका बासिन्दालाई सिँचाइका लागि पानीको जोरजाम गर्न धौधौ परेको छ ।
यस वर्ष मनसुनमा समेत पानी नपरेपछि मधेस सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र नै घोषणा गरेको हो । आकासे पानीको भरमा खेती हुने यस प्रदेशमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएकाले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
मधेस सरकारले प्रदेशका किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ । तर, यस समस्याबाट निदान पाउन प्रदेश सरकारको आफ्नो कुनै ठोस योजना भने छैन । हाम्रो पालामा असार, साउनमा हप्तौंसम्म झरी पथ्र्याे, किसानलाई भ्याइनभ्याई हुन्थ्यो । धान रोप्ने बेला के बच्चा, के बुढा, के महिला, के पुरुष सबै खेतमै व्यस्त हुन्थे ।
तर, अहिले असार बितिसक्यो, पर्याप्त वर्षा भएको छैन,’ महोत्तरी मनरा सिसवा, १० मधवा गाउँकी ६५ वर्षीया सुमित्रा सदा भन्छिन्, ‘पानी समयमा नपरेपछि बोरिङको पानी पटाएर धान रोपनी हुन्छ तर, जबजब गाउँमा बोरिङ चलाउन थाल्छ तब तब गाउँभरिको चापाकलबाट पानी आउन छाड्छ । अहिले वर्षा समयमै नहुँदा खेतीकिसानी गर्न नै गाह्रो भएको छ ।’
मधेसमा पानी संचित गर्ने सबैभन्दा ठूलो स्रोत चुरेबाट निस्किएका बहुसंख्यक नदीहरू खहरे भएका छन् । इनारको पानी निकै तल पुगेको छ । हिउँद र सुक्खा दुवै मौसममा पानी आउने बागमती र कमलाजस्ता नदीमा समेत पानीको मात्रा निकै कम छ । ‘यस्तोमा सतह सिँचाइका स्रोत नहरकुलोमा चाहिने समयमा आवश्यक परिमाणमा पानी दिन सकिएको छैन । जसले गर्दा सम्पूर्ण कृषि प्रणाली नै प्रभावित भएको छ ।
हराउँदै खानपिन संस्कृति
कम्तीमा अढाईदेखि तीन वर्ष पुरानो जतन गरेर राखिएको बास्मती, कतरनी, कनकजिर, कारिकामोद प्रजातिका चामलको मगमग बाँस्ना आउने भात, त्यसमाथि राहैर (अरहर) को दाल, आफ्नै खेतबारीमा उत्पादित मौसमी तरकारीहरूको परिकार, माथिबाट घरमै बनाइएको घिउ र वर्षौं पुरानो चापाकल वा इनारबाट ल्याइएको चिसो पानी पस्केर मधेसमा भोजभतेरमा पाहुनालाई तृप्त गर्ने गरिन्थ्यो ।
बिहेमा जन्ती खुवाउनलाई होस् वा कसैको मरणमा श्राद्धको भोज गर्नलाई १५ वर्ष पहिलासम्म मधेसी समुदायमा धानको पुरानो भकारीहरूमा चामल जोहो गरेर राख्ने गरिन्थ्यो । बाँस र माटोले बनाइएका करिब ३ सय मनसम्म चामल, धान अटाउने बखारी (माटोको ड्रम) घरको शोभा हुन्थ्यो । बखारीमा चामल प्रायः भरेकै हुन्थ्यो । भोजभतेरमा जसले जति पुरानो चामलको भात खुवायो ऊ त्यक्ति सम्पत्तिवान् छ भन्ने सन्देश गाउँ, समाजमा छरिन्थ्यो ।
तर, अहिले अवस्था विपरीत छ । भकारी हराएको छ । भएकाहरू पनि रित्तै छन् । सिँचाइ गर्ने स्रोतमा आएको कमी सँगसँगै कृषिकार्यका लागि आवश्यक उन्नत बिउबिजन, मलखाद, कीटनाशक विषादी, रसायनिक औषधिको जथाभावी प्रयोग र महँगीले किसानहरू खेत बाँझै राख्न थालेका छन् ।
निकै मुस्किलले खेती गर्नेहरूले अपेक्षा गरेअनुसार बालीनाली उब्जाउन सकेका छैनन् । मिहिनेत र लगानीअनुसार उब्जनी नभएपछि खेतबारीमा उब्जाइएको बालीनाली वर्षभरिलाई नपुग्ने हुँदा भोजभतेरका लागि चामल जतन गर्ने परम्परा हराउँदै गएको जनकपुरका ७५ वर्षीय वेदानन्द झाले बताए । ‘भोजभतेर आउनेबित्तिकै सीमापारिका भारतीय बजारहरूबाट बोरामा प्याक गरिएका मसिनो चामल खरिद गरेर ल्याइन्छ । ती चामलहरू मसिनो र चिल्लो देखिए पनि स्वाद भने हुँदैन,’ झा भन्छन्, ‘अब मिथिला भोजन हरायो । शुद्ध खाना हरायो, आफ्नो बारीमा सागसब्जीको बाँस्ना र शुद्ध खानेपानी सबै हरायो । अब त न भात आफ्नो छ न पानी सबै वारिपारिबाट नै आउँछ ।’
मधेस प्रदेश कृषि मन्त्रालयको तथ्यांकअनुसार देशमा धानको कूल आवश्यकता ६०,४२,३४१ (मे.टन) छ भने आयातको परिमाण ५, ५५, ८३९ (मे.टन) छ । मधेस प्रदेशमा धानको कूल उत्पादन २७७, ७६, ८३ मे.टन छ, यस्तो अवस्थामा आयात प्रतिस्थापन गर्न मधेस प्रदेशले थप १८९,०६०.८८ हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्न सक्यो भने मात्रै देशको धान उत्पादनको आवश्यकता परिपूर्ति हुन सक्दछ । त्यसैगरी, देशमा मकै बालीको कूल आवश्यकता ३४,११,७०७ (मे.टन) छ भने आयातको परिमाण ४, ३५२१७ (मे.टन) छ ।
मकैको कूल उत्पादनमध्ये मधेस प्रदेशको उत्पादन १९०, ८१६ (मे.टन) छ यस्तो अवस्थामा अयात प्रतिस्थापन गर्न मधेस प्रदेशले थप ८७,०४३ हेक्टर खेती विस्तार गरे मात्रै देशको आवश्यकता पूर्ति हुन सक्दछ । गहुँको कूल आवश्यकता देशमा २७५,२९०१ (मे.टन) छ जसमध्ये आयातको परिमाण ६५४, ४३९ (मे.टन) रहेको छ । मधेसमा मकै उत्पादन ६७४, ३८२ (मे.टन) हुन्छ ।
सिँचाइ अभावले नै मौसमी तरकारीहरूको उत्पादन घटेको छ । तरकारी उत्पादनको परम्परागत जैविक तरिका विस्थापित भएर रासायनिक मलखाद र हानीकारक औषधि प्रयोगबाट उत्पादन बढाउने प्रविधि अपनाउन थालिएको छ ।
पानी संरक्षण अबको चुनौती
कुनै बेला इनार र चापाकलकै पानी शुद्ध मानेर पिउने गरेका मधेसका आठ जिल्लामा पछिल्लो समय खानेपानीको समस्या विकराल बन्न थालेको छ । भू–जल सतह घट्दै जाँदा वीरगञ्जमा अहिले पानीको चरम अभाव देखिएको छ । चापाकलहरूबाट पानी आउन कम भएको छ भने नगरवासीको दैनिक जनजीवननै प्रभावित भएको छ ।
खाना पकाउन, सरसफाइ गर्न, पशुपालन र खानेपानीका लागि समेत सर्वसाधारणलाई कठिनाइ हुन थालेको छ । पानीको समस्या समाधान गर्न वीरगन्ज महानगरपालिकाले वैकल्पिक उपाय स्वरूप ट्यांकर र अस्थायी ट्यांकीमार्फत पानी वितरण सुरु गरेको छ । खानेपानी संस्थानबाट सेवा नपुगेका बस्तीहरूमा बोरिङ र वैकल्पिक स्रोतमार्फत पानी आपूर्ति गराउने प्रयास गरिएको छ । तर, यी प्रयासहरूले तत्कालका लागि समस्या समाधान गरे पनि दीर्घकालीन उपाय भने होइनन् ।
भोलिका दिनमा यदि पानीको संरक्षणतर्फ ध्यान पु-याइएन भने सम्पूर्ण मधेसमा पानीको अभाव सिर्जना हुने जलविज्ञ प्रतापसिंह टाटर बताउँछन् । मधेसमा मात्रै नभई देशमै जलवायु परिवर्तनको असरहरू प्रत्यक्ष रूपमै देख्न थालिएको छ, त्यसमा पनि यदि मधेसकै कुरा गर्ने हो भने यहाँ समयमा वर्षा नहुनुले पानीको स्रोतलाई असर पारेको छ ।
हामी जलवायु परिवर्तनलाई रोक्न सक्दैनौं तर, यसका असरहरूलाई अवश्य नै कम गर्न सक्छौं तर, हाम्रो गलत नीति र नियतले गर्दा आज मधेसमा पानीको समस्या ठाउँठाउँमा देखिन थालिएको हो,’ जलस्रोतविद् टाटर भन्छ्न, ‘पहिलाको समय याद गर्नुभयो भने जनसंख्या कम थियो, आवश्यकता कम थियो र त्यो बेला सामाजिक समन्वय निकै बलियो थियो । कुनै एकको घरमा चापाकलले राम्रो पानी दियो भने पूरा टोल नै त्यहाँ पानी लिन आउँथे । घरघरमै कल धसाउनुपर्ने, मोटर लगाउनुपर्ने आवश्यकता थिएन।
यतिसम्म कि गाउँका दुई–चार इनारले पूरा गाउँलाई नै पानी पर्याप्त हुन्थ्यो । तर, अहिले घरघरमा निजी चापाकल जडान हुन थालेका छन्, मोटरबाट पानी तानिन्छ अब पानी त सीमित छ, त्यसलाई असीमित रूपमा तानियो भने पक्कै पनि कम हँुदै जान्छ,’ टाटर थप्छन्,‘सरकारले सिँचाइका लागि बाँड्ने बोरिङहरूको मापदण्ड तय गरेको छैन । खानेपानीको धारा उपभोक्ताले जडान गर्न चाहेका छैनन् । किनकि, त्यहाँ पैसा तिर्नुपर्छ तर, चापाकल धसाएर सित्तैमा पानी लिन मिल्यो यी सबै कुराहरूले गर्दा एकातर्फ वर्षा नभएर पानी जमिनमुनि संचित हुन सकिराखेको छैन् भने अर्कोतर्फ हामीले पानीको असीमित प्रयोग गरेर जलभण्डारलाई सिध्याउन थालेका छौं, यसको असर निकै नराम्रो हुने निश्चित छ ।’
मधेस प्रदेशको आर्थिक सर्वेक्षणअनुसार ६१ लाख १४ हजार ७०० जनसंख्या रहेको मधेस प्रदेशमा ११ लाख ५६ हजार ७१५ घरधुरी छन् जसमध्ये मात्र ३ प्रतिशत जनसंख्याले नेपाल खानेपानी संस्थानको धारा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेसमा ७१.८ प्रतिशत परिवारले मुख्य रूपमा ट्युबवेल हाते पम्पबाट, २२.६ प्रतिशतले धारा/पाइपबाट, ०.२ प्रतिशले जार/बोतलबाट, १.२ प्रतिशतले मूल धाराबाट र ०.७ प्रतिशतले ढाकिएको इनार, कुवाबाट खानेपानी प्रयोग गर्ने गरेका छन् ।
अहिले पनि खुला इनार, कुवाबाट खानेपानीको प्रयोग गर्ने घरपरिवार २.२ प्रतिशत, नदी/खोलाबाट खानेपानी प्रयोग गर्ने परिवारहरू ०.१ प्रतिशत रहेका छन् भने अन्य स्रोत प्रयोग गर्नेको संख्या १.२ प्रतिशत छ । प्रदेशका ७१ प्रतिशत जनसंख्या निर्भर रहेको खानेपानीको मुख्य स्रोत ट्युबवेल र हाते पम्प भए पनि भूमिगत पानीको सतह घट्दै गएकाले सहरी क्षेत्र मात्र नभई ग्रामीण क्षेत्रमा समेत पानीको समस्या विकराल बन्न थालेको छ ।
‘पहिला–पहिला एक सयदेखि सबा सय फिटमै चापाकल धसाउँदा राम्रो खानेपानी आउथ्यो तर, अहिले जनकपुरका प्रायः सबैले ४ सय फिटमा कल धसाउन थालेका छन्, कारण हो पानीको सतह तल जानु,’ हाल मात्रै घरमा खानेपानीको कल धसाएका जनकपुर उपमहानगरका उमेश मण्डल भन्छन्, ‘एउटा कल धसाउन अहिले डेढ लाख रुपैयाँ खर्च लाग्छ । पहिला हातले नै कामदारहरूले कल धसाउने गर्थे अहिले जेनेरेटर र बोरिङ लगाएर पानी तान्नुपर्छ जुन कि निकै खर्चिलो हुन जान्छ । सामान्य परिवारका लागि एउटा चापाकल धसाउन पनि साह्रै ठूलो आर्थिक समस्या बन्ने गरेको छ ।’
मधेस नेपालको समथर भूभाग भएकाले यहाँको जलवायु पहाडी क्षेत्रमा भन्दा तातो र सुक्खा छ । पछिल्ला दशकहरूमा देखिएको असमान वर्षा, अत्यधिक गर्मीका लहर र लामो खडेरीले भू–जलस्तर घट्दै गएको छ । जलवायु परिवर्तनले वर्षा चक्र नै बिगारेको छ । कहिले अत्यधिक वर्षा भएर बाढी आउँछ भने कहिले अत्यधिक वर्षा भएर बाढी नै निम्त्याएको छ । यसले भू–जल पुनः भरणको अवसर नै घटाएको छ । मधेसमा पानीको समस्या समाधान गर्नका लागि भू–जल पुनः भरणको अनिवार्य व्यवस्था हुनुपर्ने अर्का जलस्रोत विज्ञ रत्नेश्वरलाल कायस्थको ठम्याइ छ । त्यसैगरी, भूमिमा भिज्ने गरी सोक्दार खाल्डाहरू पनि उपयोगी हुन्छन् । त्यसैगरी, नदी र तलाउ संरक्षण तथा र कृषि क्षेत्रमा पानीको सही प्रयोगलाई प्रवर्धन गर्नु आवश्यक रहेको कायस्थ बताउँछन् ।
सिँचाइ समस्याले आजित मधेस
आकासे पानीकै भरमा कृषिकर्म गर्ने मधेस प्रदेशका किसानहरूलाई असार बित्न लाग्दा समेत पानी नपर्दा निकै धानको बेर्ना लगाउन निकै गाह्रो भएको छ । खेतमा सिँचाइ सुविधाको अभावका कारण मधेसका किसानहरू प्रतिघण्टा ४ सयदेखि ५ सय रुपैयाँ तिरेर दमकलबाट पानी हालेर धान रोप्न बाध्य भएका छन् । ‘सिँचाइको सुविधै छैन, समयमा वर्षा हुँदैन र यस्तोमा धान रोप्न निकै महँगो शुल्क तिरेर दमकलबाट पानी लिनुपर्ने बाध्यता छ,’ धनुषा नगराइनका किसान शिवन साह भन्छन्, ‘अहिले अधिकांशले खेतमा पैसा तिरेरै पानी पटाएर जेनतेन धान रोपिराखेका छन् तर, वर्षा नहुँदा पहिला जति बढी क्षेत्रफलमा धान लगाउथ्यौं, अहिले त्यो लगाउन पाएका छैनौं । ’ गत वर्ष मधेस प्रदेशमा असार महिनासम्म ४५ प्रतिशत रोपाइँ भइसकेको थियो तर, यस वर्ष मात्र २५ प्रतिशत हुन सकेको कृषि विकास निर्देशनालय, मधेस प्रदेशले जनाएको छ ।
मधेसमा भूमिगत जलको सतह निकै तल गएपछि खानेपानी मात्रै नभई सिँचाइ क्षेत्रसमेत प्रभावित भएको छ । मधेस प्रदेश आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार मधेस प्रदेशमा आव २०८०/० ८१ सम्म २ लाख ७३ हजार ४ सय १० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ । यसअघि आव २०७९/८० मा कूल सिंचित क्षेत्रफल २ लाख ७३ हजार ५ सय ९२ हेक्टर थियो । यस प्रदेशमा कुलो, नहर, पोखरी र बोरिङबाट सिँचाइ भएको क्षेत्र क्रमशः ८७ हजार २ सय ७२ हेक्टर, १ लाख ५३ हजार ३७ हेक्टर, ३ हजार १ सय ९४ हेक्टर र २९ हजार २ सय ७ हेक्टर छ । यसैगरी, आव २०७९/८० सम्म कूल नहर, पोखरी र बोरिङबाट सिँचाइ भएको क्षेत्र क्रमशः ८४ हजार ८ सय ४६ हेक्टर, १ लाख ५० हजार ४३ हेक्टर, ३ हजार १९० हेक्टर र ३५ हजार ५१२ हेक्टर थियो ।
जलवायु परिवर्तनको मारमा चुरे वन
चुरे वनलाई मधेसको लाइफलाइन पनि मानिन्छ । चुरे वनले तराई–मधेसलाई उर्वर मात्रै बनाएको छैन, यहाँको सम्पूर्ण जीवन चक्रलाई नै प्रभावित गरेको छ । चुरे वनलाई एकातर्फ मानव निर्मित संकटहरूले प्रभावित गरिरहेको छ भने त्यहीँ अर्कोतर्फ जलवायु परिवर्तनको असरले पनि चुरे क्षेत्रलाई प्रभावित गरेको छ । ‘चुरेमा जुन रूपमा वन विनाश भइरहेको छ, त्यसले जलवायु परिवर्तनको विपत्लाई प्रत्यक्ष रूपमा निम्त्याइराखेको छ । चुरेको माटो निकै खुकुलो छ । यसलाई अड्काइराख्न रूखबिरुवा नै चाहिन्छ तर, पछिल्लो समय वन विनाशको क्रम तीव्र बनेको छ ।
चुरेमा भएको वनजंगलले माटोमा पानी सोसेर राखेपछि त्यही पानी भावर जोनमा आउँछ र त्यहाँ जम्मा भएको पानी नै मधेसमा भूमिगत जलको मुख्य स्रोत बन्छ र त्यसैलाई हामी सिँचाइ वा खानेपानीको रूपमा प्रयोग गर्छौ,’ संरक्षित वन परियोजनाका मधेस प्रदेश संयोजक तथा चुरेका जानकार सुजित झा भन्छन्,‘तर, पछिल्लो समय चुरे वनमा भइरहेको वनजंगल फडानी, बसोबास र चरिचरणको तीव्र जालले गर्दा चुरेमा जलको सञ्चय नै घट्दै गएको छ । अब चुरेमै जल संचित नभएपछि भावर क्षेत्रमा आउने कुरै भएन । भावर क्षेत्रमा जल संग्रह नहुँदा मधेसमा भूमिगत जलस्रोतको तह तल जान थालेको हो । यसको समाधानका लागि थुप्रै परियोजनाहरूमार्फत कामहरू भइराखे पनि जुन रूपमा जलवायु परिवर्तनको असर र चुरेको संरक्षणमा जोड दिनुपर्ने हो त्यो स्तरमा काम भएको छैन ।’
मधेस प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ को तथ्यांकअनुसार नेपालमा प्रतिव्यक्ति ०.२ हेक्टर वन क्षेत्र पर्छ । नेपालको भू–धरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र चुरे क्षेत्रमा ७३.६८ प्रतिशत रहेको छ भने सबैभन्दा कम वन क्षेत्र उच्च हिमालमा ३.४१ प्रतिशत छ । मधेसमा वनले ढाकेको क्षेत्रफल २ लाख ३७ हजार ६३६ हेक्टर छ भने अन्य काठ तथा बुट्यानले ढाकेको क्षेत्रफल ११ हजार ६२४ हेक्टर छ । देशको कूल वन बुट्यानले ढाकेको क्षेत्रको आधारमा मधेस प्रदेशमा ३.७२ प्रतिशत वन बुट्यानको क्षेत्रफल छ । मधेस प्रदेशको भूगोलको २५.८० प्रतिशत वनले ढाकेको क्षेत्र छ ।
चुरे क्षेत्रमा भइरहेको वन विनाश र त्यसबाट उत्पन्न बाढीपहिरो र भू–क्षयले गर्दा भावर र तराई–मधेसमा निकै नकारात्मक असर परेको छ । बर्सेनि चुरेका डाँडाहरू नांगिँदै जाने र त्यहाँबाट उत्पन्न भएका थेगरहरूले खोलाको सतह अग्लिदै गएर भावर क्षेत्रहरू झनै चौडा भएका छन् । जसको प्रत्यक्ष प्रभाव भावर क्षेत्रमा भएका भूमिगत पानीको तह गहिरिएर तराई–मधेसमा नदी कटान, पटान तथा डुबानको समस्या बढ्दै गएको छ । जलवायु परिवर्तनको असरले पछिल्ला वर्षहरूमा वर्षाको समयमा आवश्यकताभन्दा बढी पानी पर्दा व्यवस्था गर्न समस्या पर्ने र सुक्खायाममा खडेरी परेर खेतीपाती तथा सम्पूर्ण जनजीवन नै प्रभावित हुँदै आएको छ ।
प्राकृतिक रूपमा भूमिगत पानीको पुनर्भरण नहुँदा पानीको सतह घट्दै गई भविष्यमा थप संकट उत्पन्न हुने वातावरणविद्हरू बताउँछन् । चुरेविद् डा.विजयसिंह दनुवार भन्छन्, ‘मधेसमा पानीको प्रमुख स्रोत चुरे वन क्षेत्र हो । चुरे आमा हो । चुरेमा पानी परेपछि त्यही पानी तल झरेर आउँछ र तराईमा भूमिगत जलस्रोतलाई नियन्त्रित गर्छ । तर, अब चुरे नै संरक्षण भएन भने मधेसलाई मरुभूमि बन्नबाट कसैले रोक्न सक्दैन । मनसुन हावा आएपछि पहिलो डाँडा चुरे हो त्यसले हावालाई रोक्छ र माथि जानेबित्तिकै त्यसले पानीलाई रोक्छ र पानी पर्छ । अहिले चुरेमा मनसुन टिकाउनका लागि पर्याप्त वन नै छैन । यो हामी सबै मानव निर्मित प्रकोप हो, जसलाई अहिले पनि सचेत भएर निवारण गरिएन भने भविष्य अन्धकारमय छ ।’
कृषि क्षेत्रको सुधारमा चुकेको सरकार
प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर आफ्नो काम टार्ने प्रयास मात्रै गरेको छ । चालु आर्थिक वर्षमा किसानहरूको सहजताका लागि कृषि विद्युतीकरणको नाममा विनियोजित ४८ करोड रूपैयाँ कामै नभई फ्रिज गरियो । त्यसैगरी, आवमा समेत सोही शीर्षकमा छुट्याइएको ४० करोड रकम पनि कामै नभई फ्रिज भयो । त्यसैगरी, प्रदेश सरकारले ल्याएको खेतखेतमा पानी, हात हातमा कामजस्ता योजनाहरू पनि प्रभावहीन बनेका छन् ।
जलवायु परिवर्तनको मारमा अन्नभण्डार
मधेस प्रदेशलाई नेपालकै अन्नभण्डारका रूपमा चिनिन्छ । एक समय भारत र बंगलादेशजस्ता मुलुकहरू धान, चामल आयात गर्ने देशका रूपमा चिनिन्थे भने नेपाल अन्तर्राष्ट्रियस्तरमा धान निर्यात गर्ने देशको रूपमा चिनिन्थ्यो । वि.सं. २०२२ तिर भारत र बंगलादेशले विभिन्न मुलुकबाट चामल आयात गर्दा नेपालले ३ लाख ४८ हजार टन चामल निर्यात गरेको इतिहासकार फ्रेडरिक गेजले २०२५ सालमा वसिधा पत्रिकामा उल्लेख गरेका छन् । सो बेला मधेसबाट धान भारत निर्यात गरेर नेपालले २३ करोड ७७ लाख ७२ हजार ६५८ भारतीय रुपैयाँ नेपाल भित्र्याएको थियो । तर, अहिले अवस्था विपरीत छ ।
आर्थिक वर्ष २०८०/०८१ को असार मसान्त सम्ममा मधेस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्यबाली, तरकारी तथा बागवानी, फलफूल र मसला) ले ढाकेको भू–क्षेत्रफलमा ४.०२ प्रतिशतले वृद्धि भई १० लाख ४४ हजार ७ सय ४५ हेक्टर पुगेको तथ्यांकले देखाउँछ । तर, क्षेत्रफल बढे पनि उत्पादनमा भने ह्रास आएको छ । कूल उत्पादनमा ०.३१ प्रतिशतले ह्रास आई ५९ लाख ९४ हजार ३ सय २८ मेटिक टन पुगेको छ । आव २०७९/८० मा समग्र कृषि बालीहरूको कूल उत्पादन ६० लाख १२ हजार ७ सय ९९ मे.टन थियो ।
यसरी कृषिजन्य उत्पादनमा कमी आउनु पछाडि सबैभन्दा ठूलो कारण जलवायु परिवर्तन रहेको कृषि अर्थशास्त्री डा.देवेन्द्र गौचन बताउँछन् । मधेस प्रदेश नेपालको अन्नभण्डार रहेको र खाद्यान्न बालीका लागि यो क्षेत्र सबैभन्दा बढी उपयोगी छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको सबैभन्दा बढी प्रकोप यसै प्रदेशमा परेको हुँदा कहिले अत्यधिक खडेरी त कहिले बाढीको डुबानले यस प्रदेशलाई असर पारिरहेको गौचनको ठम्याइ छ ।
जलवायु परिवर्तनको प्राकृतिक प्रकोपले अन्नको भण्डारलाई प्रभावित गरेको छ र त्यसकै नतिजाको रूपमा उत्पादनमा देखिने उतारचढाव रहेको उनी बताउँछन् । ‘यसमा जलवायुजन्य र मानवजन्य दुवै प्रकोपहरूले प्रभाव पारेको छ जस्तो मलाई लाग्छ,’ गौचन भन्छन्, ‘जलवायु परिवर्तनकै असरको रूपमा रोगकीराको प्रकोपसमेत बढेको छ, तापक्रममा भइरहेको वृद्धिले समेत कृषि क्षेत्रलाई प्रभावित पारेको छ । तर, यस बेलामा कृषि र खाद्य सुरक्षाको हिसाबले मधेस प्रदेशको उत्पादनलाई दिगो बनाउन सकिएन् भने राष्ट्रिय खाद्य सुरक्षामै नकारात्मक असर पर्छ भने सम्पूर्ण अर्थतन्त्रलाई समेत प्रभावित गर्छ ।
गत २३ असारमा अन्नपूर्ण दैनिकमा प्रकाशित। यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।