Sunday, September 8, 2024

न सुरक्षित छन् जनता, न त हिमताल

नेपाल, भारत र चीनको तिब्बतमा ३ हजार ६ सय २४ हिमताल पहिचान गरिएको छ । हिमतालको क्षेत्रफल ९४.४ वर्ग किमिदेखि १२७.६ वर्ग किमिसम्म बढेको पाइएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।

काठमाडौं, मंसिर १४
हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरुले औल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैँ जोखिममा रहने भएकोले जोखिम न्यूनीकरणका लागि सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।

हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्दछ । हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्दछ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।

जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिीको पक्ष राष्ट्रहरुको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतीपूर्तीको लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अनुकुलनको कार्यक्रमसंगै जलवायुजन्य विपद्बाट हुने क्षतीपूर्तीको लागि सहयोग हुनुपर्नेमा जोड दिने गरेका छन् । पछिल्लो समय मुस्ताङ पुगेर उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि आउने ५० करोडको परियोजना मुस्ताङमा लागू गर्ने प्रतिबद्धता जनाइका छन् । नेपालको पश्चिमी क्षेत्रमा विगत झण्डै पाँच सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् ।

पाँडेसहित वातावरणीय विपदजन्य अवस्थाका जानकारहरुले हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनिकरणका लागि पर्याप्त ध्यान जानु पर्नेमा जोड दिएका छन् । नेपालका हिमतालहरु विस्फोट भइ विपद् आउनसक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक दश वर्षजसोमा ठूला बाढीहरु आएका छन् । कुनै पनि समय नेपालमा ठूलो दुर्घटना नहोला भन्न सकिदैन ।’ नेपालमा तीन हजार बढी हिमतालहरु छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् ।

त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् । जसले नेपालमा कुनै पनि बेला असर पु¥याउन सक्छ । अति जोखिमयुक्त तालमध्ये केही वर्षअघि च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको थियो । त्यस्तै, प्रत्येक वर्ष चार वटा ताललाई जोखिम न्युनीकरण गर्ने योजना रहेपनि सरकारले त्यसयता कुनै उल्लेखनीय कार्य अगाडि बढाएको देखिदैन । पछिल्लो समयमा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रुपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमतालहरु खतरामा रहेको जलविद् श्रेष्ठ बताउँछन् ।

तीन वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना, ती तालहरुको सूचीमा पर्छ जसको संरचना र स्वरुप जोखिमयूक्त देखिएको छ । पछिल्लोपटक मनाङ, सिन्धुपाल्चोक तथा मुस्ताङसहितका जिल्लामा आएको बाढी तथा गेग्रान बहावले पनि हिम ताल फुटेको अवस्थामा आउन सक्ने सम्भावित आकस्मिक लेदोसहितको बाढी तथा गेग्रान बहावको जोखिम न्यूनिकरणका लागि तत्काल काम थालिनु पर्ने तर्फ झक्झक्याएको छ ।

हिमताल र जोखिम

हिमनदीबाट आएको हिउँ पग्लेर बनेको पोखरी हो हिमताल । यसको संरचना स्थान र अवस्था अनुसार कमजोर वा बलियो, स्थानीय वा अस्थायी या सानो वा ठूलो हुन सक्छ । हिमाली क्षेत्रमा हिमनदी तल बग्ने वा हिउँको ठूलो अंश खस्ने क्रममा खोँचहरुमा बनेको खाल्डोमा जमेको हिउँ पग्लेर तालहरु बन्ने गर्छन् । यस्तै हिमतालहरु हिमनदीमै पनि बन्न सक्छन्, अर्थात हिमनदीको केही क्षेत्रमा हिउँपग्लेर तालको स्वरुप लिन सक्छ । यस्तै हिमनदीमुनि, हिमनदीमाथि वा हिमनदीको अग्रभागको खोँचमा हिमताल बन्न सक्छन् । यसरी बनेका हिमतालमा पानीको स्रोत हिमनदी वा हिउँ हुन् ।

हिमतालहरु माथिल्लो क्षेत्रमा हुने र तिनीहरु तल्लो क्षेत्रमा बग्ने नदी, खोलाका स्रोत भएकाले कुनै प्रकारको अप्रत्याशित गतिविधिले विपद्को अवस्था आउन सक्छ । हिउँ पग्लेर पानीको मात्रा बढ्दा वा छेउ तथा अन्तिमभागको बाँध कमजोर भएको अवस्थामा हिमतालको पानी ओभर फ्लो (छचल्किएर) वा फुटेर अप्रत्याशित रुपमा बाढीसहितका विपद् आउन सक्छ । त्यसले तल्लो क्षेत्रका बस्ती, खेतीपाती तथा नदी आसपासमा बनाइएका विद्युत आयोजना तथा अरु भौतिक संरचनामा गम्भीर क्षतिको सम्भावना रहन्छ । यस्तै मानवीय क्षति पनि हुन सक्ने हुँदा तल्लो तटीय क्षेत्रका बस्तीहरु र त्यहाँका बासिन्दाको जनजीविका तथा जलविद्युत सहितका भौतिक संरचनाका लागि हिमताललाई जोखिमका रुपमा लिने गरिन्छ ।

तर सबै हिमतालहरु फुट्ने वा ओभर फलो भएर अप्रत्याशित बाढी आउने सम्भावना हुँदैन । तालको विशेषता र बाँधको अवस्था, स्रोतका रुपमा रहेको हिमनदीको गतिविधि र वरपरको भौगोलिक संरचनाका आधारमा हिमताल जोखिमयुक्त हो कि होइन भन्ने निर्धारण गरिन्छ । कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल छन् । तीन जलाधार क्षेत्रमा नेपालसँगै चीनको स्वशासित क्षेत्र तिब्बत तथा भारत पनि पर्छ । अध्ययन प्रतिवेदन अनुसार दुई हजार ७० वटा हिमताल नेपालमा, १५ सय ९ वटा हिमताल तिब्बत तथा ४५ वटा हिमताल भारतमा पर्छन् । भेटिएका मध्ये १४ सय १० वटा तालको आकार ०.०२ स्क्वायर किलोमिटर वा त्यो भन्दा ठूलो रहेको छ । ०.०२ स्क्वायर किलोमिटर वा त्यो भन्दा माथिको आकारका हिमतालहरु फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने सम्भावना रहेको मानिन्छ ।

नेपाल र हिन्दुकुश हिमालय क्षेत्रमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीको उच्च जोखिम कायम छ । हिमनदीको हिउँ पग्लेर तालहरु बन्ने र ती तालहरु फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा एक्कासी ठूलो बाढीको प्रकोप सिर्जना गर्न सक्छ । पछिल्लो अध्ययन प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्र, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल फुट्ने वा ‘ओभर फ्लो’ को खतराको सम्भावनामा रहेको पहिचान गरेको छ । यी हिमतालहरू फुट्ने जोखिममा रहेको र तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुनसक्ने ठूलो जोखिम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सम्भावित खतरामा रहेका हिमताल चीनमा २५, नेपालमा २१ र एउटा भारतमा छन् । पहिचान गरिएका ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ वटा कोशी जलाधार क्षेत्र रहेकाले कोशी तटीय क्षेत्र उच्च जोखिममा रहेको अध्ययनमा संलग्न सुदनविकास महर्जनले बताए । इसिमोडमा रिमोट सेन्सिङ्ग र जिओग्राफिक इन्फर्मेशन सिस्टम (जिआइएस) एनालिस्टका रुपमा कार्यरत महर्जनले विशेषगरि हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदी तथा हिमतालहरुको अवस्थाबारे अध्ययन गर्दै आएका छन् । गण्डकी जलाधार क्षेत्रका तीन र कर्णाली जलाधार क्षेत्रका दुईवटा हिमताल जोखिममा छन् अध्ययन प्रतिवेदनका अनुसार । पछिल्लो अध्ययन सन् २०११ मा गरेको बृहत्तर अध्ययनमा टेकेर गरिएको इसिमोडले जनाएको छ ।

गण्डकी जलाधार क्षेत्रमा रही सम्भावित जोखिमको सूचिमा रहेका नेपालका दुई हिमताल मध्येको एक हो डोना ताल । मनाङको नासोँ गाउँपालिका–२ नाचै गाउँमा पर्ने डोना ताल समुद्री सतहबाट ४ हजारमिटर माथिको उचाईमा छ । नाचैका स्थानीय बासिन्दा तथा भीमबहादुर गुरुङका अनुसार तालको चौडाइ त्यति नबढे पनि लम्बाई भने निरन्तर बढिरहेको छ । उनले भने, ‘गुरुङ भाषामा खोँचलाई डोना भनिन्छ र खोँचमा बनेको हुनाले यसलाई डोना ताल भनिएको हो । ठूलागी भनेर चिनिए पनि यसको वास्तविक नाम डोना हो । मनास्लु हिमालको फेदैमा छ । मैले सानै हुँदा देखेको भन्दा अहिले त निकै ठूलो भएको छ यो ताल ।’

प्रदेश सरकारबाट प्राप्त बजेटले तालसम्म पुग्ने बाटो बनाउने काम अहिले पनि जारी रहेको बताएका गुरुङले तालको संरक्षणका लागि भने स्थानीय सरकारको तर्फबाट बजेट छुट्याउन नसकिएको बताए । ‘अवस्था कस्तो छ भनेर हामीले निरन्तर निगरानी त गरिरहेका हुन्छौँ तर सरकारी तवरमा अध्ययन वा सम्भावित जोखिम न्यूनिकरणका लागि बजेट प्राप्त भएको छैन र हामीले पनि सो क्षेत्रमा काम गर्ने सक्ने क्षमता छैन,’ उनले भने । नाचैका स्थानीय गुरुङले भने जस्तै सन् २०१८ को मे मा मल्टिडिसिप्लिनरी डिजिटल पब्लिसिङ्ग इन्स्टिच्यूड (एमडिपिआई) प्रकाशित अनुसन्धान लेखमा रिमोट सेन्सिङ्ग मार्फत सन् १९७३ यताको स्याटेलाइट तस्बिरको विश्लेषण गर्दा डोना तालको लम्बाई निरन्तर बढिरहेको देखिने उल्लेख छ ।
हाल डोना तालको लम्बाई २५ सय मिटर तथा चौडाइ सात सय मिटर छ । ०.९ स्क्वायर (वर्ग किलोमिर) किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम गहिराई ८२ मिटरसम्म छ । ‘जलवायु परिवर्तन र त्यसबाट हिमनदी पग्लेर बन्ने हिमतालहरुमा पर्ने असर तथा त्यसका कारण हुने भौतिक तथा मानवीय क्षति न्यूनिकरण सरकारको प्राथमिकतामा राखिनु पर्छ भन्ने अवधारणा विकास भएको छ,’ हिमतालको अध्ययनमा संलग्न इसिमोडका डा अरुणभक्त श्रेष्ठले भने, ‘तर तत्कालै जोखिम न्यूनिकरण र प्रतिकार्य योजनाका लागि काम गर्न सकिएको अवस्था भने छैन । हामीले प्रदेश तथा संघ सरकारलाई झकझक्याउने तथा यो क्षेत्रमा काम गर्ने अरु दातृ निकायसँग सहकार्य गर्ने काम भने गरिरहेका छौँ ।’
मनास्लु हिमश्रृंखलाको दक्षिणपश्चिममा रहेको डोना हिमताल हिमनदीमाथि बनेकाले विश्वव्यापी जलवायु परिवर्तन तथा तापमान बृद्धिको क्रम जारी रहँदा हिउँ पग्लेर निरन्तर बढ्दै जाने जोखिम रहेको अध्यताहरुले बताएका छन् । डोना तालको बाँधका रुपमा रहेको गेग्रान मुनि हिउँ नै रहेकाले त्यो पग्लिएको अवस्थामा पहिरो गएर अप्रत्याशित रुपमा बाढी आउने जोखिम पनि छ । डोनाको पानी निस्केर डोना खोला हुँदै मनाङको धारापानीबाट मस्र्याङ्गदी नदीमा मिसिन्छ ।

डोना ताल फुटेको अवस्थामा मस्र्याङ्गदी नदी आसापासका बस्ती, मस्र्याङ्गदी नदीमा बनेका जलविद्युत आयोजनाहरु तथा पुलसहितका भौतिक संरचनामा ठूलो क्षति पुग्ने देखिन्छ । मस्र्याङ्गदी नदीमा अहिले मध्य मस्र्याङ्गदी ७५ मेगावाट, तल्लो मस्र्याङ्गदी (तनहुँ) ६९ मेगावाट, लमजुङ भुलभुलेमा माथिल्लो मस्र्याङ्गदी–ए ५० मेगावाटको जलविद्युत आयोजना सञ्चालनमा छन् । यस्तै ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्गदी–२ सहितका आयोजनाहरु अध्ययनको चरणमा छन् । यदी डोना ताल फुटेर बाढी आएमा यी संरचनाहरुमा नोक्सानी पुग्ने हुनाले तत्काल विस्तृत अध्ययन गरि प्रतिकार्य योजना तथा जोखिम न्यूनिकरणका काम गर्नु पर्ने विज्ञले बताएका छन् ।

डोना ताल फुटेर बाढी आएको अवस्थामा ५० अर्ब ५८ करोड रुपैयाँ भन्दा बढिको क्षति हुन सक्ने आँकलन गरिएकाले सो सम्भावित नोक्सानी रोक्नका लागि वा कम भन्दा कम बनाउनका लागि सावधानिका उपायहरुको खाँचो रहेको इसिमोड र युएनडिपीको अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रुपमा भईरको तापमान वृद्धिको सीधा असर हिमाल र सो क्षेत्रको पर्यावरणीय अवस्थामा देखिएको छ । विभिन्न अध्ययनहरुले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसार विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गरेको अवस्थामा पनि सन् २१०० सम्ममा विश्वका एक तिहाई हिमनदीहरु लोप हुने छन् ।

यसको अर्थ हिमनदीको हिउँ पग्लिने छ । पग्लिएर बनेको पानी हिमनदीले मार्गमा बनाएका खाल्डाखुल्डी र खोँचहरुमा तालको रुपमा विकास हुन्छन् । यसले भएका तालमा पानीको सतह बढ्ने तथा नयाँ जोखिमयुक्त ताल बन्ने सम्भावना हुन्छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लेसियर्स अफ द हिमालयजः क्लाइमेट चेन्ज, ब्ल्याक कार्बन एण्ड रिजनल रेजिलेन्स’ नामक अध्ययनका अनुसार जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा भइरहेको तापमानवृद्धिसँगै स्थानीय रुपमा उत्पादन हुने गरेको ब्ल्याक कार्बनले हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र पारेको देखिएको छ ।

हिम पग्लिने दर बढ्दा हिमतालसँग जोखिएको जोखिम पनि बढ्दै जान्छ । सम्भावित जोखिमको तह थाहा पाउनका लागि विस्तृत स्थलगत अध्ययनको खाँचो रहेको विज्ञहरुले बताएका छन् । इसिमोडका सुदन विकाश महर्जनले भने, ‘अध्ययनहरुमा फुट्ने सम्भावित जोखिमका रुपमा राखिएका तालहरु अहिले नै वा यो समयमा फुट्छन् भन्ने चाहिँ होइन । जोखिम युक्त छन्, सतर्क बस्नु पर्छ भन्ने हो ।’ उनका अनुसार हिमताललाई छेकेको बाँध अवस्था, ताल र बाँधको वरपर कस्तो छ, हिम पहिरो, पहिरो आउने सम्भावना छ कि छैन, हिमनदीसँग कसरी बसेको छ भन्ने तथ्यांकहरुको विश्लेषण गरेर सम्भावित जोखिमका तालहरु निर्धारण गर्ने गरिन्छ ।

नेपालका हिमताल विज्ञ धनन्यजय रेग्मीका अनुसार हिउँ पग्लिएर हिमतालहरु बढिरहेका छन् । तापक्रम वृद्धिहुँदै जाँदा हिमनदी पग्लिने तथा हिमपरोही एवम् तालहरुमा ढुंगासहितका पदार्थहरु खस्दा फुट्ने जोखिम बढ्दै गएको बताएका रेग्मीले तत्काल विस्तृत स्थलगत अध्ययन र जोखिम न्यूनिकरणका लागि काम गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘तापक्रम बढ्दै जाँदा तालहरुको आकार बढ्दै गएको छ भने ताललाई धानेर राखेका बाँधहरुमा दबाब बढेको छ । यस्तो अवस्थामा मार्गमा पर्ने तल्लो तटीय क्षेत्रमा ठूलो क्षतिको सम्भावना हुन्छ । जोखिम न्यूनिकरणका लागि विस्तृत अध्ययनसँगै तालको पानीको सतह कम गर्ने तथा पूर्व सूचना प्रणाली स्थापना गर्न सकिन्छ । त्यसका लागि तत्काल काम गर्नु पर्ने देखिन्छ ।’

पछिल्ला अध्ययनहरुलाई आधार मानेर सम्भावित जोखिमयुक्त हिमताल मध्ये केही प्रमुख तालहरुमा जोखिम न्यूनिकरणका लागि परियोजना विकासको काम भइरहेको छ । युएनडीपी अन्तर्गत जलवायुजन्य जोखिम अनुकुलन तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमका कार्यक्रम अधिकृत दीपक केसीका अनुसार डोना, होङ्गु, तल्लो वरुण, लुम्दिङ हिमतालमा विस्तृत अध्ययनसहित पानीको सतह घटनाउने, पूर्व सूचना प्रणाली स्थापना गर्ने र सम्भावित जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुसूचित गर्ने उद्देश्यसहितको परियोजना विकासको काम भइरहेको छ ।

‘अहिलेलाई हरित जलवायु कोषबाट चार हिमतालको जोखिम न्यूनिकरणका लागि बजेट ल्याउने गरि परियोजना विकासको काम भइरहेको छ,’ कार्यक्रम अधिकृत केसीले भने, ‘यो परियोजना आएमा नेपाल सरकारकै मातहतमा रहेर जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाको काम भैरहेको छ ।’ युएनडीपीले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा परियोजना विकासको काम गरिरहेको हो । परियोजना विकासको काम अन्तिम चरणमा पुगेको छ ।

यसैगरि विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्यको जिम्मेवारी पाएको राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण प्राधिकरणमा हिमतालकै लागि भनेर विशेष कार्यक्रम छैन । तर विपदको जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाका लागि समन्वयात्मक काम भने हुँदै आएको र गरिने प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बताए ।

यसरी हेर्दा सरकारी निकायसँग हिमताल र त्यससँग जोडिएका जोखिमलाई लिएर ठोस कार्यक्रम बनेको तथा त्यसका लागि स्रोत छुट्याइएको अवस्था छैन । हिमताल र त्यसका सम्भावित जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दाताको भर पर्नु पर्ने अवस्था रहेकाले विकल्पका रुपमा प्राकृतिक ड्यामका रुपमा हिमताललाई प्रयोग गरेर जलविद्युत उत्पादनबारे पनि सोच्न सकिने सुझाव केही विज्ञको छ ।

हिमताल विज्ञ धनन्जय रेग्मीका अनुसार वातावरणीय प्रभाव मूल्यांकनसहित हिमतालबाटै सीधै जलविद्युत निकाल्ने परियोनाका लागि निजी क्षेत्रलाई आह्वान गर्न सकिएको खण्डमा पानीको सहत कम हुनुका साथै उर्जा उत्पादन र जोखिम कम हुने सम्भावना छ । तर त्यसका लागि अध्ययन र विस्तृत कार्ययोजनाको खाँचो रहेको उनी बताउँछन् । अतः सन् १९९७ देखि २६ वटा हिमताल फुटेर बाढी आएका घट्ना नेपालले बेहोरिसकेको छ । त्यसमध्ये १४ वटा देशभित्रैका हिमताल फुटेर बाढी आएका छन् । मौसममा आएको परिवर्तनसँगै हिमताल पग्लने दर बढ्दो क्रममा रहेकाले नेपालका लागि हिमताल सिर्जित बाढी वर्तमान समयको सबैभन्दा ठूलो चुनौति रहेको विज्ञ तथा वैज्ञानिक अध्ययनहरुले देखाएका छन् ।

विगतका केही दृष्य

२०७८ असार १ गते मेलम्चीमा अचानक आएको बाढी पहिरोले ठूलो जनधनको क्षेती पु-यायो । २०१२ मा सेती जलधारको हिमतालमा चट्टान खस्दा सेतीमा आएको बाढीले १४ घर बगाएको थियो । नेपालले यस्ता घटना थुप्रै भोग्नुपरेको छ । चीनतर्फको हिमताल फुट्दा २०७३ असारमा भोटेकोशीमा आएको बाढीले १२५ भन्दा बढी घर बगाएको थियो भने तीन अर्बभन्दा बढी आर्थिक क्षति पु-यायो । त्यसअघि, १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिमि खेतीयोग्य जमीन कटान गरेको थियो ।

२०१७ मा लाङमाले फुट्दा बरुणमा बाढी आयो । सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोशीमा आएको बाढीले सयौं घरसहित १२ वटा पुल, २७ किमि सडक र सुनकोशी पावर हाउस बगाएको थियो । त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विस्फोट भएर दूधकोशीमा बाढी आउँदा अहिलेको हिसाबमा रु. १ खर्बभन्दा बढी क्षति भएको थियो । यी केही प्रतिनिधिमुलक घटना मात्र हुन् । पूर्व तयारीमा ध्यान नपु-याउने हो भने भविश्यमा झन् ठूलो क्षतिको सामना गर्नुपर्ने दीक्षित बताउँछन् । उनले भने, ‘कम्तिमा पनि हामीले खतराको सूचना दिने संयन्त्र जडान गर्नुपर्छ ।’

इसिमोडकै प्रतिवेदनले तल्लो बरुण हिमताल विस्फोट भए ५० हजार जनसंख्या प्रभावित हुन सक्छ । इम्जा हिमताल फुटे सोलुखुम्बुको छेवाङ र नाम्चे बजारसहित, ओखलढुंगा, उदयपुर, सिरहा, सप्तरी र महोत्तरीका ५० हजार बासिन्दा प्रभावित हुने सम्भावना छ । इम्जाजस्तै जोखिमयुक्त सन् १९५० पछि बनेका अधिकांश हिमताल फुट्ने खतरामा छन् ।

दुई तालमा मात्र पूर्वसूचना प्रणाली

इम्जा र च्छोरोल्पा तालमा खतराको पूर्वसूचना दिने प्रणाली जडान गरेको विक्रम श्रेष्ठले बताए । उनले भने, ‘त्यहाँ ताल फुट्नेवित्तिकै संसारको जुनसुकै ठाउँबाट पनि सूचना हेर्न सकिन्छ । हाम्रो त एलर्ट म्यासेज नै आउँछ र हामीले स्थानीयलाई सावधान गराउँछौं ।’ यस्ता खतराका सूचना दुईदेखि छ घण्टा पहिले नै आफूहरुले थाहा पाउने उनले बताए । त्यस्तै, आगामी वर्षमा तिब्बतका हिमतालबाट आउने सम्भावित बाढी सूचना दिनको लागि नेपालका बोर्डरहरुमा पनि त्यस्तो प्रणालीको जडान गर्न थालेको पनि उनले जानकारी दिए ।

दातृ निकायको पहलमा च्छो रोल्पा र इम्जा हिमतालमा पानीको सतह कम गरि पूर्व सूचना प्रणाली राखिँदा तत्कालका लागि जोखिम केही कम भएको छ भने जोखिमको अवस्था आए पनि पूर्व सूचनाका कारण मानवीय तथा भौतिक क्षतिक न्यून भन्दा न्यून गर्ने सम्भावना बढाएको छ । अल्पकालका लागि पानीको सतह कम गर्ने तथा पूर्व सूचना प्रणाली स्थापना गर्नेसँगै निरन्तर अध्ययनमा सरकारी तथा सम्पूर्ण सरोकारवाला निकायको निरन्तर सहकार्य हुनु पर्ने सुझावहरु पनि दिइएको छ ।

हिमतालहरूमा पूर्वसूचना प्रणाली जडान हुन नसक्दा समस्या परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले बताए । उनले भने, ‘हिमाली क्षेत्रमा नै कुनै हिमताल फुट्न लागेको जानकारी हामीले पाएमा तल्लो तटीय क्षेत्रमा क्षति गर्न गर्न सकिन्छ, सूचना दिने यथेष्ट समय पनि हुनेछ ।’ विभागका अधिकारीहरूले दूरसञ्चार सेवा प्रदायकले सञ्जाल विस्तार नगरिदिँदा च्छो रोल्पा र इम्जा हिमतालमा हाल जडान गरिएका प्रणालीहरू समेत प्रभावकारी नभएको र भू–उपग्रहमार्फत सेवा लिनुपर्दा महंगो परेको बताएका छन् । खर्चिलो हुने हुँदा ती हिमतालबाट गरिनुपर्ने सूचना आदानप्रदान चौबिसै घण्टा हुन नसकेको बताइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार