७ जेठ, काठमाडौं
सुदीप ठकुरी, गोविन्द पोखरेल
जलवायु परिवर्तन गराउन कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायतको मुख्य भूमिका रहन्छ । यी ग्यासलाई हरितगृह ग्यासका रूपमा परिभाषित गरिन्छ । हरितगृह ग्यासले ताप सोस्छ, जसका कारण पृथ्वीको तापक्रम बढ्छ । कृषि क्षेत्र हरितगृह ग्यास उत्सर्जन गर्ने प्रमुख क्षेत्र हो । यहाँ घरपालुवा पशुपन्छी हुन्छन्, बालीनालीमा कृषि चुन तथा युरियाको प्रयोग हुन्छ । बालीको अवशेष जलाउने तथा मलको व्यवस्थापन जस्ता कार्य पनि हुन्छ । यसबाट मिथेन ग्यास धेरै मात्रामा उत्सर्जन हुन्छ ।
मिथेन र नाइट्रस अक्साइड पशुचौपायाबाट निस्कने मुख्य हरितगृह ग्यास हुन् । कार्बन डाइअक्साइडपछि जलवायु परिवर्तनलाई बढावा गराउन मिथेन दोस्रो प्रभावयुक्त हरितगृह ग्यास हो । मिथेन वायुमण्डलमा १२.४ वर्षसम्म रासायनिक प्रतिक्रियाविहीन रहन सक्छ ।
कार्बनडाइअक्साइडको तुलनामा वायुमण्डलका लागि मिथेन धेरै हानिकारक छ । सय वर्षको तापमान वृद्धिको अवस्था हेर्दा मिथेनको जलवायु परिवर्तन प्रभाव क्षमता (ग्लोबल वार्मिङ पोटेन्सियल) कार्बनडाआइअक्साइडभन्दा २८ गुणा बढी हुन्छ । नाइट्रस अक्साइडको जलवायु परिवर्तन प्रभाव क्षमता कार्बनडाइअक्साइडको तुलनामा २६५ गुणा बढी छ ।
सन् २००६ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) को रिपोर्टअनुसार जलवायु परिवर्तन गराउन सवारी वा कारखानाबाट जति कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ, त्योभन्दा धेरै मिथेन ग्यास घरपालुवा जनावरको पेटबाट उत्सर्जन हुने गर्छ । यसमा सबैभन्दा धेरै भूमिका पशुधन (गाई, भैंसी, बाख्रा) को देखिन्छ । गाईगोरू, राँगाभैंसी, भेडाबाख्रा जस्ता शाकाहारी पशुले खानालाई चबाउने गर्छन् । यसलाई उग्राउने भनिन्छ । उनीहरू बेलाबेला डकार्छन् पनि । उनीहरूको पेटमा भएका जीवाणुले खानालाई पचाउन सघाउँछ । यस प्रक्रियाबाट मिथेन ग्यास निस्कन्छ ।
गत वर्ष प्रकाशित एक अनुसन्धानले नेपालमा एउटा वयस्क भैंसीले वार्षिक ३४ देखि ९० किलो मिथेन ग्यास निकाल्ने गरेको उल्लेख छ । उग्राउने क्रममा एउटा पाडोले प्रतिवर्ष ३४ किलोका दरले मिथेन निकाल्ने गरेको पाइयो भने वयस्कले ९० किलो । इन्भायर्मेन्ट मोनिटोरिङ एन्ड असेसमेन्ट जर्नलमा प्रकाशित उक्त अनुसन्धानअनुसार भैंसीको गोबरबाट २.५ देखि ७.५ किलो मिथेन निस्किन्छ । नेपालभरका भैंसीबाट वार्षिक ३४७.८ गिगा ग्राम उत्सर्जन हुने गरेको छ । यो भनेको वार्षिक ३ लाख ४७ हजार ८ सय मेट्रिक टन हो । यस्तै, भैंसीको गोबरबाट निस्कने मिथेनको मात्रा वार्षिक २५ हजार ६ सय मेट्रिक टन छ । वन तथा वातावरण मन्त्रालयको तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनअनुसार नेपालमा वार्षिक १२ लाख ६० हजार टन मिथेन उत्सर्जन हुने गरेको छ ।
त्यसअघि साइन्स अफ टोटल इन्भायर्मेन्ट जर्नलमा प्रकाशित अध्ययनले नेपालमा लोकल गाईगोरूले वार्षिक ३३ किलो र उन्नत जातका गाईगोरूले ४६ किलो मिथेन ग्यास निकाल्ने गरेको उल्लेख छ । अध्ययनअनुसार गाईगोरूले उग्राउने क्रममा वार्षिक २ लाख ५४ हजार टन मिथेन ग्यास निकाल्ने गरेको देखिएको छ ।
आईपीसीसीको तथ्यांकलाई आधार मानेर नेपालमा गाईबस्तुबाट वार्षिक २ लाख २१ हजार टन मिथेन उत्सर्जन हुने गरेको बताइए पनि यो अनुसन्धानले सोभन्दा १५ प्रतिशत बढी २५४ गिगा ग्राम उत्सर्जन हुने देखाएको छ । उन्नत जातका गाईले बढी खाने र उत्पादन पनि बढी दिने भएकाले मात्रा बढी देखिएको हो । नेपालमा गाईगोरूको संख्या ७३ लाखभन्दा बढी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
यी अध्ययनले नेपालका लागि एउटा डाटाबेस तयार भएको मान्न सकिन्छ । नेपालको हरितगृह ग्यास लगत (इन्भेन्टोरी) तयार गर्नका यस किसिमका अनुसन्धानले प्रत्यक्ष सहयोग पु¥याउँछन् । यो विषय आम सर्वसाधारणलाई नौलो लाग्न सक्ला तर नजरअन्दाज गरिनु हुन्न । गाई–भैंसीलाई खुवाइने खाना र पोषक तत्त्वको विषयलाई लिएर विभिन्न देशका सरकारले काम गरेका छन् । गाई–भैंसीले उत्सर्जनमा ठूलो हिस्सा ओगटेको भन्दै न्युजिल्यान्डले कृषि फार्मलाई कर लगाउने प्रस्ताव गरेको थियो । त्यहाँ करिब १ करोड गाईगोरू र अढाई करोड भेडा छन्, जबकि जनसंख्या ५० लाख हाराहारी मात्र छ ।
कर लगाउने प्रस्तावमा विरोध आएपछि त्यहाँ जलवायु परिवर्तनमा गाई–भैंसीको भूमिकाका बारेमा स्पष्ट पारिएको थियो । गाईबस्तुबाट धेरै मिथेन उत्सर्जन भएको अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति जो बाइडेन प्रशासनले पोषक तत्त्वका लागि डेरी उद्योगलाई २ करोड १४ लाख डलर अनुदान दिने निर्णय गरेको थियो भने २ करोड २८ लाख डलर कृषकलाई मिथेन उत्सर्जन घटाउनका लागि प्रदान गरियो ।
क्यालिफोर्नियामा कुल उत्सर्जन मिथेनको आधा हिस्सा पशुचौपायाले ओगट्ने गरेको पाइएको थियो । सन् २०३० सम्म उक्त राज्यमा गाईबस्तुबाट हुने उत्सर्जन ४० प्रतिशतले घटाउने डेरी सञ्चालकहरूले सन् २०२० मै योजना अगाडि सारेका छन् । भारतमा पशुचौपायाबाट हुने उत्सर्जनको कुल हिस्सामध्ये ९० प्रतिशत उग्राइबाट मात्रै हुन्छ । नेपालमा भने त्योभन्दा धेरै ९२ प्रतिशत रहेको वन तथा वातावरण मन्त्रालयको सञ्चार प्रतिवेदनमा उल्लेख छ ।
विश्वमा कुल हरितगृह ग्यास उत्पादनमा गाईबस्तुको भूमिका वार्षिक १४.५ प्रतिशत छ । तीमध्ये ६६ प्रतिशत कृषि क्षेत्रबाट हुने गर्छ । नेपालमा सन् २०११ मा पशुचौपायाबाट १७ हजार ६ सय ६५ गिगा ग्राम वार्षिक उत्सर्जन हुने गरेको तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्रन्तिपछि मिथेन उत्सर्जन वायुमण्डलमा दुई गुणाले बढेको छ भने तापमान वृद्धिमा ३० प्रतिशतले योगदान गरेको आईपीसीसीका रिपोर्टहरूमा उल्लेख छ ।
गाईबस्तुले खाने चारा (चारो, कुटी, घाँस) को प्रकार र गुणस्तर, नयाँ प्रविधिको प्रयोग र अन्य कार्बन क्षतिपूर्ति गर्ने व्यवस्थामा ध्यान दिन प्रतिवेदनमा सुझाव दिइएको छ । पशुचौपायाले उग्राउने क्रममा निस्कने मिथेन ग्यास कम गराउन नेपालले पोषक तत्त्वमा ध्यान दिनु जरुरी छ । नेपाल खाद्य सुरक्षाको हिसाबले अति संवेदनशील र कमजोर सुरक्षा प्रणाली भएको मुलुकभित्र पर्छ । सन् २०२३ को ग्लोबल हंगर इन्डेक्समा विश्वको कमजोर खाद्य सुरक्षा भएका १२५ मुलुकमध्ये नेपाल २८.७ अंकसहित ६९ औं स्थानमा छ ।
यसै तथ्यलाई आधार मान्दा नेपालले पशुजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ । भौगोलिक संरचनाले पनि कृषि बालीभन्दा व्यावसायिक पशुपालन खाद्य सुरक्षा र आर्थिक हिसाबले हेर्दा महत्त्वपूर्ण हुन्छ । कुल कृषि क्षेत्रमा व्यावसायिक कृषि ४५ प्रतिशत र बाँकी ५५ प्रतिशत विशुद्ध जीविकोपार्जनका लागि आश्रित रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा छ । यी क्षेत्रमा गरिने पशुपालन आर्थिक हिसाबले उच्च नाफा देखिए पनि त्यहाँबाट हुने मिथेन उत्सर्जनलाई नजरअन्दाज गर्न मिल्दैन ।
कान्तिपुर दैनिक