१६ भदौ, सिन्धुपाल्चोक ।
यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ ।
जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौँरी, याक तथा भेँडापालन गर्नेहरू कम हुँदै गएका हुन् ।
खर्कमा चौँरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेसामा चुनौती बढेको छ । खर्कमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौँरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्दा चौँरीपालन व्यवसाय संकटमा परेको शेर्पा बताउँछन् ।
पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन । ‘हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ’, उनी भन्छन् । पहिले–पहिले बाह्रैमास हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएका उनले सुनाए ।
पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीविका चौँरी तथा भेडागोठले धानेका लाङगर्चेका ईन्द्रबहादुर गुरूङ भने यो पेसाबाट पलायन भइसके । उनका छोराछोरी कोही काठमाडौँतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडीमुलुक पुगेका छन् ।
चौँरी, भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौंदेखिको आयस्रोतको यो पेसामा पूर्णविराम लागेको हो । पहिले जस्तो मौसम अनि चौँरी तथा भेडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेसाबाटै विश्राम लिएको गुरूङ बताउँछन् ।
चौँरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जंगलबीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ ।
मौसम चौँरी अनुकूल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने भएकाले चौँरी मर्न थालेका अर्का किसान दलु लामा बताउँछन् । विभिन्न रोगले पशुु मर्नुका साथै उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौँदेखि गर्दै आएको यो पेसाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको उनको भनाइ छ ।
जाडो समयमा मात्र मानवबस्ती छेउछाउ पुग्ने उनीहरू अधिकांश समय हिमाली खर्कमा बिताउँछन् । लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौँरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखीलगायतका सामग्री हुन् ।
यहाँ बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौँरीपालन हुने गरेको छ । स्थानीय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौँरी तथा भेडापालन गर्ने किसानको संख्या जिल्लामा १ सय ३१ छ ।
चौँरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाले बीमा कार्यक्रम ल्याएका छन् । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यवसायिक बनाउन प्रयत्न गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन् ।
पालिकाको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कमा अहिले चौँरी गोठ घट्दै गएका छन् । परम्परागतरूपका पशुपालनलाई अझै आधुनिक बनाउन सकिएको छैन । राज्यले यसलाई प्रोत्साहन नगरेकाले चाहेर पनि स्थानीयले परम्परागत पेसा भन्दामाथि लैजान सकेका छैनन् ।
रासस