Monday, June 24, 2024

डढेलो नियन्त्रणका उपाय

नवराज पोखरेल
१ जेठ, काठमाडौं

गत चैत–वैशाखको समयमा देशको वायुमण्डलीय अवस्था प्रदूषित तथा तुवाँलोयुक्त बन्यो । काठमाडौं संसारको सबैभन्दा प्रदूषित सहर बन्यो । पोखरा, विराटनगरलगायत सहरहरू अत्यधिक प्रदूषित बने । जङ्गलमा लागेको आगो निभाउने क्रममा मानिसको मृत्यु पनि भयो । तापक्रम अत्यधिक रूपमा बढ्यो । तराई क्षेत्रमा तापक्रम ४० डिग्रीभन्दा बढी पुग्यो । उक्त तापक्रमले वातावरणलाई अत्यधिक तातो बनायो । बस्ती क्षेत्रमा पनि आगलागी भए ।

एकातर्फ प्रि–मनसुनको बेला औसत अनुसारको वर्षा हुन सकेन । अहिले केही पानी परेको छ । पानी पर्न रोकिनासाथ जेठमा यो समस्या निम्तिन सक्छ । विभिन्न उपाय अवलम्बन गरेर डढेलो नियन्त्रणमा लिन सकिन्छ । सरकारी तथा अन्य सरोकारवालाले डढेलो नियन्त्रणका लागि सबभन्दा पहिले सावधानी अपनाउनु पर्छ । मूलतः सावधानीमा सरोकारवालालाई वनको महत्व र यसको सुरक्षासम्बन्धी तालिम दिइन्छ । डढेलोबारे सूचना प्रदान गरिन्छ । यसको नियन्त्रण कसरी गर्ने भनेर सर्वसाधारणसम्म जानकारी दिइन्छ । सैद्धान्तिक रूपमा यो पहिलो प्रयास हो । यो विधि अपनाएर मानवीय त्रुटिले हुने डढेलोलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

सावधानी अपनाउँदा अपनाउँदै पनि यदि आगलागी वा डढेलो लागिहालेमा डढेलोसँग जुध्नका लागि तयारी अबस्थामा रहनु पर्छ । सैद्धान्तिक रूपमा डढेलो नियन्त्रणमा यो दोस्रो चरण हो । सरोकारवालालाई स्रोत, सिप र अनुभवको तालिम दिएर तयारीको अवस्थामा राख्नु पर्छ । सामुदायिक वनको कर्मचारी र सदस्य, वन क्षेत्रका मानिस र सुरक्षा संयन्त्र डढेलो लागिहालेमा निभाउन वा फैलन नदिनका लागि तयारी अवस्थामा रहनु पर्छ । डढेलो नियन्त्रणका लागि अर्को चरणमा सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गर्नु पर्छ । त्यस्तो क्षेत्रमा यन्त्र र दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्छ ।

अर्को चरण नियन्त्रणमा लिनु वा निभाउनु वा धेरै फैलिनु नदिनु हो । जब आगलागी हुन्छ वा डढेलो फैलिन खोजेको हुन्छ, त्यतिबेला आगोलाई निभाई थप फैलिन दिनु हुँदैन । तयारी अवस्थामा राखिएको जनशक्ति तथा अन्य स्रोतको माध्यमबाट आगोलाई थप फैलिन दिनु हुँदैन । यसका लागि पानी, माटो वा कार्बनडाइअक्साइड ग्यासको प्रयोग गर्न सकिन्छ । वनमा उपलब्ध हुने स्याउला, हरियो झारको प्रयोग पनि गर्न सकिन्छ । अन्य मेसिनरी औजार पनि आगो निभाउन प्रयोग गर्न सकिन्छ । आगलागी वा डढेलोपछि पीडितलाई क्षतिपूर्ति दिनु पर्छ ।

डढेलो लागेपछि वन क्षेत्र खाली र उजाड बन्छ । उजाड क्षेत्रमा पुनरुत्थान गर्नका लागि निश्चित कार्य योजना बनाई काम गर्नु पर्छ । यसरी पुनरुत्थान गरेको वन क्षेत्रलाई व्यवस्थित रूपमा हुर्काउने र पहिलेकै अवस्थामा ल्याउनु पर्छ । डढेलोले वनसँगै वनस्पति, जङ्गली जनावरलाई पनि प्रत्यक्ष असर पु¥याउँछ । साथै स्थानीय पारिस्थितिक प्राणालीलाई पनि प्रभाव पारी तत्तत् क्षेत्रको पुनरुत्थान योजना बनाई काम गर्नु पर्छ । यसरी काम गर्न सकियो भने विस्थापित भएका जीवजन्तु तथा वनस्पतिलाई पहिलेकै अवस्थामा पु¥याउन सकिन्छ र पारिस्थितिक प्रणालीलाई कायम राख्न सकिन्छ ।

यसपालि पनि देशको धेरै क्षेत्रमा डढेलो लाग्यो । यीमध्ये दुई तिहाइभन्दा बढी डढेलोका कारण केवल मानवीय नै हो भनिएको छ । त्यसैले हरेक मानिसले आफ्नो बानीलाई सुधार गरेमा र वन क्षेत्रमा आगोको स्रोत नफालेमा डढेलोबाट हुने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । पहिलो त डढेलो लाग्न नै दिनु हुँदैन । यदि डढेलो लागिहालेमा स्थानीयवासी मिलेर निभाउनु पर्छ । डढेलो नियन्त्रणमा पनि निम्न उपाय अपनाउन सकिन्छ ः

सामान्यतया गर्मीयाममा क्याम्प फायरसहित खुला रूपमा आगो बालेर गरिने मनोरञ्जनलाई सकेसम्म निषेध वा निरुत्साहित गर्नु पर्छ । यदि त्यस्तो गरिएको खण्डमा आगोलाई राम्रोसँग निभाउनु पर्छ । ग्रामीण क्षेत्र तथा वन क्षेत्रको नजिक भण्डारण गरिएका प्रज्वलनशील वस्तुलाई आगोबाट वा आगोको स्रोतबाट सकेसम्म टाढा राख्नु पर्छ । घरआँगनमा आगो बाल्दा न्यूनतम रूपमा आगो वा आगोको स्रोतबाट १० फिट व्यास सर्कलभित्र पात, काठका टुक्रा र घाँस वा तत्काल आगो समात्ने वस्तुलाई हटाउनु पर्छ ।

आगलागी भइहालेमा फायर फाइटिङ उपकरण तथा दमकललाई यथास्थानमा चुस्तदुरुस्त राख्नु पर्छ । कहीँकतै आगलागी वा डढेलो लागेको खण्डमा तत्काल निभाउन जान सक्ने गरी यी उपकरणको व्यवस्था गर्नु पर्छ । वन क्षेत्रमा ठाउँठाउँमा पोखरी निर्माण गर्नु पर्छ । यसले डढेलो लागी हालेमा नियन्त्रण गर्न सहज हुन्छ । त्यसैले सामुदायिक, सरकारी तथा निजी वन क्षेत्रमा पोखरी निर्माण गर्ने अभियान सुरु गरिहाल्नु पर्छ ।

यदि वन क्षेत्र अलिक घना छ र कहीँ कतै डढेलो लागी हालेमा नियन्त्रण गर्न गाह्रो हुने भएमा अनिवार्य रूपमा वन क्षेत्रभित्र अग्निरेखा निर्माण गरी उक्त अग्निरेखालाई सधैँ सफा राख्नु पर्छ । यसले आगोलाई फैलिन रोक्छ । आगोको उपयोगितासँगै जोखिम पनि अत्यधिक छ । त्यसैले आगो र आगोका स्रोतमाथि चनाखो रहनु पर्छ । केटाकेटीको पहुँचभन्दा बाहिर राख्नु पर्छ । घरबाहिर आगो बाल्नु हुँदैन । बाल्नु नै परे हावा नचलेको समयमा मात्रै बाल्नु पर्छ । आगो बालिसकेपछि आगोलाई राम्रोसँग पानी वा माटोले छोपेर मात्र छड्नु पर्छ । कसैले डढेलो लगाउने उद्देश्यले वन क्षेत्रमा आगो बाली छोडेको भेटिएमा तुरुन्त सुरक्षा संयन्त्रलाई खबर गर्नु पर्छ ।

डढेलो एक प्रकारको बिपत्ति हो । त्यसैले आगोलाई सुरक्षित तरिकाले प्रयोग गर्नाले मात्र डढेलोबाट हुने क्षतिबाट बच्न सकिन्छ । अन्यथा डढेलोले धेरै क्षति पु¥याउँछ । वनलाई डढेलोबाट बचाउन के कस्तो योजना चाहिन्छ, निर्माण गरी सबैले कार्यान्वयन गर्नु पर्छ । यो एकल पहलबाट नियन्त्रणमा आउने विषय होइन । सहकार्यबाट मात्र यसबाट हुने क्षतिलाई रोक्न सकिन्छ । डढेलो लगाउनु सामाजिक अपराध हो भने निभाउनु सामाजिक दायित्व हो ।

वातावरणविद् पोखरेल ‘कालीगण्डकी जलाधारमा जलवायु परिवर्तन र ऊर्जाको सम्बन्ध’ विषयमा थाइल्यान्डको प्रिन्स अफ सोङ्क्ला विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन् । उनको यो लेख गोरखापत्र दैनिकमा छापिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार