२० चैत, काठमाडौं ।
अस्वस्थकर हावा कायमै रहेका वेला वनजंगलमा लागेको डढेलोको धुवाँसमेत आएर काठमाडौं उपत्यकाको आकाश ढाकेपछि वायु प्रदूषण उच्च भएको छ ।
धुलोधुवाँका कारण सोमबार र मंगलबार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा प-यो । धुलोधुवाँ तल्लो वायुमण्डलमा तैरिएर बस्दा आँखा पोल्ने, घाँटी खसखसाउने र नाकबाट सिँगान बग्ने समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
काठमाडौंको हावामा मंगलबार साँझ औसतमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौँभन्दा ३ गुणा मसिना धुलोधुवाँका कण प्रतिघण्टा २ सय २५ माइक्रोग्राम प्रतिघनमिटर मापन भएको छ । यो सूचकांक भक्तपुरमा २ सय ३७, रत्नपार्कमा २ सय ९, शंखपार्कमा २ सय ८ र भैँसेपाटीमा १ सय ९८ पुगेको वातावरण विभागका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक छ ।
एक्युआई १ सय ५१ देखि २ सय पुग्दा सबै उमेर समूहकालाई अस्वस्थकर र २ सय १ देखि ३ सय पुग्दा निकै अस्वस्थकर मानिन्छ । ‘आइक्यू एअर’को तथ्यांक हेर्दा शीर्ष ५ उच्च प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा हुँदा दोस्रोमा म्यानमारको रंगुन, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भियतनामको हनोई र पाँचौँमा चीनको छेन्दु सहर छन् ।
‘प्रदूषित हावामा डढेलोको धुवाँ पनि मिसिदा जनस्वास्थ्यमा असर गर्नेगरी प्रदूषण बढेको हो । कार्बनमनोअक्साइड पनि फैलिएको छ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, ‘पोखरादेखि पूर्र्वी नेपालसम्मका वनजंगलमा धेरै डढेलो छ । चितवन, हेटौंडा र चुरेको जंगलमा लागेको डढेलो काठमाडौंको आकाशमा छ ।
काठमाडौंका वनजंगलमा पनि बेलाबेला डढेलो लागिरहेको छ ।’ लामिछानेले भनेझैं सोमबार १ सय २९ र मंगलबार २ सय ४० ठाउँमा डढेलो थियो । चैत–वैशाखमा हावाहुरी चल्ने र सुक्खा धेरै हुने भएकाले डढेलोको ‘पिक सिजन’ पनि भनिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिलेको अवस्थामा काठमाडौं वायु प्रदूषण घट्नका लागि वर्षा वा प्रतिघन्टा ३०–३५ नटका दरले हावा चल्नुपर्ने हुन्छ । ‘तर तत्काल पानी पर्ने सम्भावना छैन, हावा पनि साँझ बिहान औसतमा प्रतिघन्टा ८ देखि १० नटसम्म मात्र चलिरहेको छ,’ झाले भने, ‘दिउँसो भने केही हावा चल्ने भएकाले (१० देखि १५ नटसम्म) त्यसबखत प्रदूषण केही घट्ने गरेको छ ।’
प्रतिनट १.८५२ किलोमिटर हुन्छ । झाले भनेझैँ हावा चल्दा मंगलबार दिउँसो १२ः४५ मा काठमाडौंको एक्युआई १४३ मा झरेको थितयो । तर, बिहान ७ः४५ बजे २७८ र साँझ ७ः४५ बजे २३५ पुगेको थियो ।
काठमाडौंमा १३ र १४ मार्चपछि वर्षा भएको छैन । १४ मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षा मापन केन्द्रमा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यसपछि २२ र २३ मार्चमा उपत्यकाका केही ठाउँमा पानीको छिटासम्म परेको थियो ।
वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या
‘बिहान चिसोका कारण प्रदूषणका कण सतहमा हुन्छ । रसायन र धुलोधुँवाका कण नाकमुखबाट सिधै स्वास नलीमा जाने भएकाले प्रदूषण उच्च भएका बेला मर्निङवाक वा अन्य कामका लागि सकेसम्म घरबाहिर ननिस्कनु उचित हुन्छ,’ छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले भने ।
उनका अनुसार कार्बनमनोअक्साड रसाइनका कारण शरीरमा अक्सिजनको मात्रा कम हुन्छ भने प्रदूषित हावाले फोक्सोको स्वास नलीलाई असर गर्छ । ‘घाटी खसखस हुने कालो र खैरी रंगको खकार निस्कने, छाती पोल्ने समस्या हुन्छ,’ यस्तो रसायन र हावा फोक्सोमा पुगेपछि दम, निमोनियाको जोखिम हुन्छ ।
पहिल्यै दम छ भने बल्झेर आइसियुसम्म पुग्नुपर्ने अवस्था आउनसक्छ । प्रदूषणका साना कण फोक्सोबाट पनि छिरेर शररीको विभिन्न अंगमा जानसक्छ । त्यही भएर अक्सिनको मात्रा कम हुने, घाँटी घ्यारघर भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।’ वायु प्रदूषणले बालबालिकामा निमोनिया निम्याउँछ । प्रदूषण उच्च भएको क्षेत्र र याममा सरकारले कोभिड–१९ का बखतझैँ बालबालिकामा खोप अभियान चलाउन उपयुक्त हुने उनले बताए ।
वायु प्रदूषणले बालबालिकामा निमोनिया पनि निम्त्याउने भएकाले प्रदूषण उच्च भएका बेला संक्रमण फैलन नदिन सरकारले कोभिड–१९ का बखतझैँ खोप अभियान चलाउन सक्ने उनको सुझाव छ । प्रदूषणका कारण नेपालीको औसत आयु ४.६ वर्षले घटाइरहेको विश्व स्वास्थ्य संगठनले यसअघि नै प्रतिवेदनमा उल्लेख गरिसकेको छ ।
वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण बर्सेनि ३५ हजारले ज्यान गुमाउँछन् । ‘आइक्यू एअर’को ‘विश्व वायु गुणस्तर प्रतिवेदन अनुसार गत वर्ष २०२४ मा नेपाल विश्वमै सातौँ अतिप्रदूषित मुलुक र काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको परेको थियो । पिएम–२.५ औसत ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ ।
‘डढेलाका कारण वायु प्रदूषण उच्च हुने त छँदैछ, त्यसबाहेक बर्खाबाहेक यहाँको हावा अस्वस्थकर नै हुन्छ,’ वातावरणविद् भुषण तुलाधरले भने, ‘सरकारले स्वच्छ ऊर्जा लगानी गर्नुपर्छ । दोस्रो, सार्वजनिक यातायात विद्युतीयमा जानुपर्छ । अहिले निजी विद्युतीय सवारीसाधन त बढेका छन् । तर, काठमाडौंमा दिनभर चल्ने र धेरै धुँवा फाल्ने सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सरकारले ऋण सुविधा बढाउनुपर्नेमा घटाइदिएको छ ।’
राष्ट्र बैंकले गत फागुनमा मात्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् यो सुविधा ८० प्रतिशतबाट ६० मा झारेको थियो ।
देशका अन्य क्षेत्रमा पनि प्रदूषण बढ्यो
काठमाडौं उपत्यकामात्र होइन देशका अन्य क्षेत्रमा पनि प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार मंगलबार साँझ एक्युआईको मात्रा धनगढीमा १ सय ७५, इलाममा १ सय ६७ र दाङमा १ सय ५२ पुगेको थियो । वायु गुणस्तर मापन केन्द्र देशभर २८ वटा रहे पनि तथ्यांक उपलब्ध छैन ।
वायु प्रदूषण नियन्त्रण विज्ञ भूपेन्द्र दास तराईमा गहुँको छवाली जलाउनुका साथै वनजंगलमा डढेलो लागेकाले उपत्यकाबाहिरका सहरमा पनि प्रदूषण बढेको बताउँछन् । ‘खासगरी तराई क्षेत्रमा प्रदूषण धेरै छ, भारतको उत्तरप्रदेश, हरियाणा, पञ्जाव र बिहारमा किसानले गहुँको छवाली जलाउदाको धुँवा पनि आइरहेको छ,’ उनले भने, ‘सुक्खा मौसम छ, पानी परेको छैन । त्यही भएर पनि प्रदूषण बढेको हो ।’
वातावरणविद् तुलाधर अहिलेको अवस्था निम्तिनुमा ३ वटा कारण देख्छन् । ‘डढेलाका कारण प्रदूषण थपिएको हो र चैत–वैशाखमा जहिल्यै डढेलो लाग्छ भनेर सरकारलाई थाहा नै छ,’ उनले भने, ‘तर पूर्वतयारी भएन ।’ उनका अनुसार डढेलो लाग्न नदिन उपभोक्ता समूह, संघसंस्था र पालिकाका वडा तहलाई परिचालन गरेर तालिम दिनुका साथै अग्नी रेखा बनाउनु पर्दथ्यो ।
‘सानो डढेलो लाग्न वितिक्कै पनि निभाउन सक्नेगरी उपकरण पनि उपलब्ध गराउनु पर्दथ्यो,’ उनले भने । त्यस्तै, वनजंगलका सुकेका काठ र पातपतिंगर निकाल्ने र पातपतिंगरलाई इन्धन र कम्पोस्टमलका रूपमा प्रयोगका लागि अभियान चलाउनुपर्ने हो । त्यस्तै, डढेलो र आगलागीसम्बन्धी सचेतना र दण्डजरिवानाबारे जानकारी दिन अभियान चलाउनुपर्ने देखिन्छ ।
बिहान प्रदूषण धेरै, मर्निङवाक नजाँदा राम्रो
बालबालिकामा निमोनिया निम्त्याउन सक्छ, खोप अभियान चलाउनु उपयुक्त
डा. राजु पंगेनी, वरिष्ठ छातीरोग विशेषज्ञ
प्रदूषित हावामा रौँभन्दा तीन गुणा स–साना धुलोका कण हुन्छन् । यसबाहेक नाइट्रोजन अक्साइड, कार्बन मनोअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रेड सल्फेट रसायन पनि मिसिएको हुन्छ । कार्बन मनोअक्साइडले शरीरमा अक्सिजनको मात्रा घटाइदिन्छ ।
प्रदूषणले साधारण रुघाखोकीदेखि दमसम्मको जोखिम हुन्छ । मान्छेको आयु नै घटाउँछ । प्रदूषित कण श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुग्ने जोखिम हुन्छ । नाकदेखि फोक्सोको श्वासनलीलाई असर गर्छ । घाँटी खसखस हुने, छाती पोल्ने, कालो र खैरो रंगको खकार आउने हुन्छ । प्रदूषणका कण फोक्सोमा पुगेपछि दम, निमोनिया हुन्छ । दम बल्झेर आइसियूसम्म पुग्नुपर्ने हुन सक्छ ।
प्रदूषणका कण फोक्सोबाट पनि छिरेर शरीरको विभिन्न अंगमा जान सक्छन् । यसले मुटुको समस्या, पक्षघात हुने हुन्छ । फोक्सोको समस्या देखिएकालाई क्यान्सरको जोखिम हुन्छ । बालबालिकालाई फोक्सोसम्बन्धी समस्या र निमोनिया हुन सक्छ । बच्चा, रोगप्रतिरोधात्मक क्षमता कमजोर तथा दीर्घरोग भएकालाई किड्नी, फोक्सोमा समस्या गर्छ । थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्ने, फोहोर नजलाउने र धेरै धुवाँ फ्याँक्ने गाडी चलाउन रोक्नुपर्छ ।
बिहान चिसोका कारण प्रदूषणका कण सतहमा हुन्छन् । रसायन र धुलोधुवाँका कण नाकमुखबाट सोझै श्वासनलीमा जाने भएकाले प्रदूषण उच्च भएका वेला मर्निङवाक वा अन्य कामका लागि सकेसम्म घरबाहिर ननिस्कनु उचित हुन्छ । त्यस्तै, वायु प्रदूषणले घाँटी घ्यारघ्यार गराउने, बालबालिकामा निमोनिया निम्त्याउने, अक्सिजनको मात्रा कम हुनेजस्ता समस्या गराउँछ । प्रदूषण उच्च भएको क्षेत्र र याममा सरकारले कोभिड– १९ का वेलाजस्तै बालबालिकामा खोप अभियान चलाउन उपयुक्त हुन्छ ।
यम बम/नयाँ पत्रिका