Friday, October 18, 2024

हाकाहाकी किन ?

परिमार्जित संस्करणमा पाठकको सहयोगको अपेक्षा

यो भित्ते पत्रिका हो – हाम्रो वातावरण । ३७ वर्षअघि नेपाल वातावरण पत्रकार समूह (नेवापस)को स्थापनापछि सुरुका वर्षमा तयार भएको सोच हो यो भित्ते पत्रिका । त्यतिबेला न पत्रिका प्रकाशन गर्ने खर्च हुने गर्थ्यो न रेडियो र टेलिभिजननै चलाउने सम्भावना थियो । सस्तो, सजिलो तर महत्वपूर्ण उपाय थियो यो भित्ते पत्रिका । एउटा ठूलो कागजको पाना लियो, राम्रो अक्षरमा आफुले सकेको लेख्यो र सार्वजनिक ठाउँ र विद्यालयहरूमा टाँस्यो । यो वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने एउटा राम्रो उपाय थियो, केहि समय चल्यो पनि, र त्यो प्रभावकारी पनि बन्यो ।

तर, समय परिवर्तनसँगै सूचनाका माध्यमहरू पनि परिवर्तन हुँदै गए । नेवापसका त्यतिबेलाका अग्रजहरूले सूचनाका अन्य माध्यमको महत्व महसुस गर्दै आँखीझ्याल भिडियो पत्रिका सुरु गरे, दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रूपमा रेडियो सगरमाथाको स्थापना गरे र हाकाहाकी र फेस टु फेस नामक पत्रिका नै प्रकाशन गर्ने निर्णय गरे । रेडियो र भिडियो कार्यक्रम चल्दै गए, र दशकौंपछि पनि हाल चलिरहेकै छन् । तर हाकाहाकी र फेस टु फेस पत्रिकाहरू भने केही समय चलेपछि बन्द भए । धेरै वर्षपछि तिनलाई ब्युँताउने प्रयास भए तर फेरि केही समयमा बन्द भए । सिमित स्रोतसाधन र सूचनाका बदलिँदो स्वरुपका कारण म्यागजिन पत्रिका प्रकाशन कठिन हुँदै गयो, यस्ता अन्य थुप्रै म्यागजिनहरू पनि बन्द हुँदै गए ।

अब अहिले अनलाईन पत्रकारिताको जगजगी छ, बग्रेल्ती खुलेका छन् अनलाईन पोर्टलहरू । सैयौंको संख्यामा खुलेका यस्ता पोर्टलहरू बन्द पनि हुँदै छन् भने कतिपय जेनतेन चलेका छन् । नेवापसले पनि यहि बाटो पछ्याउँदै अनलाईन पोर्टल शुरु गर्यो – हाकाहाकीअनलाईनडटकम । केही समय चलेर सुशुप्त अवस्थामा रहेको यहि अनलाईन न्यूज पोर्टललाई अहिले नेवापसले हाकाहाकीडटओआरजीको रूपमा पुनः सुरु गर्ने जमर्को गरेको छ । व्यवसायिक पोर्टलका रूपमा नभएर एउटा संस्थाको पोर्टलका रुपमा यो हाकाहाकी सञ्चालन हुनेछ । वातावरण र दिगो विकासका मुद्दालाई प्राथमिकतामा राख्दै एउटा भिन्न पहिचान बनाएको हाकाहाकी र फेस टु फेस म्यागजिनहरुका पठनीय सामग्रीलाई अनलाईन पोर्टलमा समाहित गर्दै अघि बढ्ने हाम्रो प्रयास रहने छ । नेवापसका अन्य सूचनाका माध्यम रेडियो सगरमाथा, आँखीझ्याल साप्ताहिक भिडियो पत्रिका र नेवापसले बिगत धेरै वर्षदेखि बनाउँदै आएका थुप्रै भिडियो डक्युमेन्ट्रीहरू पनि यो पोर्टलमा हेर्न र सुन्न सकिनेछ ।

वन, वातावरण, वन्यजन्तु, जलवायु परिवर्तन, जलवायु कूटनीति, हरित अर्थतन्त्र, दिगो विकासका राष्ट्रिय-अन्तर्राष्ट्रिय विषय एवं मुद्दालाई यो अनलाइनले प्राथमिकतामा राख्दै आएको छ र आगामी दिनमा पनि राख्नेछ । नेवापसको मूल मर्म, लक्ष्य, उद्देश्यअनुरूप हाकाहाकी गैरनाफामूलक, गैरराजनीतिक तथा निष्पक्षअनलाइन पत्रिका हुनेछ । यसले दिगोपनका लागि विज्ञापन लिनेछ तर समाजप्रति जिम्मेवार वस्तु र सेवाको मात्रै । हाम्रो वातावरणलाई प्रदूषित गर्ने र जनताको स्वास्थ्यमा असर पार्ने कुनै पनि वस्तु वा सेवाको विज्ञापन हामी लिँदैनौं ।

त्यसैले, हाम्रो दिगोपनको प्रमुख आधार भनेको नै हाम्रा पाठक हुन् । तपाईं हामीसँग विभिन्न तरिकाले जोडिन सक्नुहुन्छ । एकातिर तपाईं हामीलाई सूचना, समाचार तथा लेख रचना पठाएर सहयोग गर्नु सक्नुहुन्छ भने हामीलाई सिधै आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ । हामीले गर्ने खर्च पारदर्शी रहने छ । ३७ वर्षदेखि अनवरत काम गर्दै आएको पारदर्शी संस्थाद्वारा सञ्चालित यस अनलाईन पत्रिकालाई दिनुहुने कुनै पनि सहयोग हामी खेर जान दिंदैनौं । तपाईंको सानो सहयोगले हाम्रा सम्वाददाताहरूलाई सम्बन्धित ठाउँमै पुगेर सत्यतथ्य खोजबिन गर्न र प्रमाणमा आधारित समाचार तयार पार्न मद्दत पुग्ने छ । तपाईंहरुको सहयोगले आमसञ्चार माध्यमका हेर्ने, पढ्ने र सुन्ने सबै विकल्प हाकाहाकीले नियमित पस्कने छ ।

समस्त पाठकमा हाम्रो अनुरोध- तपाईंहरू हामीलाई सहयोग गर्नुस्, आलोचनात्मक प्रतिक्रिया दिनुस्, र निरन्तर खबरदारी गर्नुस् । त्यस्तै खबरदारी हामी जिम्मेवार सरकारी निकायलाई गर्छौं, सरकारी तथा गैरसरकारी निकाय र अन्तर्राष्ट्रिय विकास साझेदारहरूको कामको निरन्तर निगरानी गर्छौं, नीतिगत विषयमा हस्तक्षेप गर्छौं र तपाईंहरूलाई सुसूचित गर्छौं । हामी विश्वास दिलाउन चाहन्छौं, तपाईंहरूको सहयोग खेर जाने छैन ।

ताजा समाचार

सम्बन्धित समाचार