Tuesday, October 22, 2024

डढेलोले ७ सय हेक्टर वन सखाप

१२ वैशाख, काठमाडौं
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ ओटै स्थानीय तहका १ सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए । जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालय प्रमुख विष्णु अधिकारीले बताए ।

कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन् । दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको अधिकारीले जानकारी दिए ।


वन्यजन्तु गाउँमा
डढेलोबाट जोगिन जंगली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्’, मङ्गला गाउँपालिका– ५ का टीकानाथ कडेँलले भने ।

बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिका–६ उपल्लो दुःखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् । मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका उनको गुनासो छ ।

यसैबीच, गुल्मीमा खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको छ ।

यसैगरी, भोजपुर नगरपालिका–८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मंगलबार आगलागी हुँदा ४२ लाख रूपैयाँ बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । आगलागीबाट ४ लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी २ थान, मोबाइल द फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका उनले बताए ।

यसैगरी, तनहुँमा चालु आर्थिक वर्षमा १ सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार वैशाख पहिलो सातासम्म २३ वटा सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, ४ सय ८५ कबुलियती वन, ६ धार्मिक वन छन् । व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको थियो ।

म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, दु्रपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा पनि आगलागी भएको थियो ।

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी ३ वर्ष कैद वा ६० हजार रूपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।


–रासस

ताजा समाचार

सम्बन्धित समाचार