Sunday, September 8, 2024

वर्षाले पाकिस्तान–अफगानिस्तानमा जनधनको क्षति

३ वैशाख, काठमाडौं   
भारी वर्षा, वर्षापछिको पहिरो र डुवानमा परेर पाकिस्तानमा ठुलो जनधनको क्षति भएको छ । ३ दिनको अवधिमा ३६ जनाको ज्यान गरेको छ ।

मृतक अधिकांश किसान हुन् । पूर्वी पञ्जाब प्रान्तमा गहुँ काटिरहेका किसानहरूलाई चट्याङ लागेको र चट्याङबाट घाइते भएकाहरूको निधन भएको सरकारी अधिकारीहरूले जनाएका छन् । वर्षासँगै विभिन्न जिल्लामा घरका पर्खाल र छानो भत्किएपछि जनजिवन प्रभावित बनेको छ । 

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडीएमए)का अनुसार चट्याङसहितको वर्षा र मौसम उतारचढाव अझै केही दिन जारी रहने छ । पाकिस्तान सरकारले देशको दक्षिण पश्चिम क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

त्यसैगरी, बेमौसमी भारी वर्षा र बाढीले अफगानिस्तानमा पनि ठुलो जनधनको क्षति भएको छ । त्यहाँ ३ दिनको अवधिमा ३३ जनाको निधन भएको छ । प्रकोप व्यवस्थापन विभागकाअनुसार गत शुक्रबारदेखि हिमपात, वर्षा र बाढीमा २७ जना घाइते भएका छन् ।

६ सय भन्दा बढी घर पूर्ण र आंशिक रूपमा क्षति भएका छन् बताउँदै तालिवान नियन्त्रित राज्य विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता जनान सैकले भनेका छन्, ‘बाढीका कारण दुर्भाग्यवश ३३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । त्यसैगरी, ६०६ घरहरू आंशिक वा पूर्णरूपमा ध्वस्त भएका छन् ।’

अफगास्तिानका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा वर्षाको प्रभाव परेको छ । तुलनात्मक रूपमा क्षतिको ठुलो घटना फराह, हेरात, जाबुल र कान्दाहार प्रान्तमा बढी छ । अफगानिस्तानले बाढी, भूकम्प, हिमपहिरो, खडेरी जस्ता प्राकृतिक प्रकोपहरू सामना गर्दै आएको छ । अहिलेको भारी वर्षामा अधिकांश मृत्यु घरको छत खसेर भएको हो ।

वर्षाले करिब ६ सय किलोमटर सडक भत्किएको छ भने करिब २ हजार एकड खेतीयोग्य जमिनमा बाढी पसेको छ । गत महिना पनि वर्षा र बाढीले अफगानिस्तान ठुलो जनधनको क्षति भएको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

ताजा समाचार

सम्बन्धित समाचार