वन तथा वातावरण मन्त्री यादव नेफेजमा

काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल वातावरण पत्रकार समूहकाे नवनिर्मित भवन अवलाेकन पश्चात वातावरण पत्रकारहरूसँग उहाँले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भन्नुभयो, “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनाश गर्‍यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् ।”

मन्त्री यादवले आमनागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता बताउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गर्ने विश्वास दिलाउँदै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसअघि मन्त्री यादवलाइ नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीहरूले स्वागत गर्नुभएकाे थियाे । समूह महासचिव निमेष रेग्मीले वातावरण संरक्षण र दिगाे विकासका चुनाैतिहरूका बारेमा प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।

ताजा समाचार

सम्बन्धित समाचार