काठमाडौ, जेठ २३ (हाकाहाकी)– नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा हरेक बर्ष प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ यस बर्ष पत्रकार यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सन् २०१९ को वातावरण पत्रकारिता पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो । ग्रामिण विषयमा स्नातक उत्तीर्ण बम यो पुरस्कार पाउने ३३ औँ पत्रकार हुन । उनी नेपाल साप्ताहिकमा आवद्ध छन् । नेवापसले तीन दशक अघिबाट प्रदान गर्दै आईरहेको यो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । र, साथमा प्रमाणपत्र पनि प्रदान गरिन्छ ।
समुहले यो पुरस्कार हरेक बर्ष आफ्नो बार्षिकउत्सवमा प्रदान गर्दै आएको छ ।
समूहले पुरस्कार छनौटका लागि पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव एवं पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेतीसहितको समिति गठन गरेको थियो । समितिले सन् २०१९ मा प्रकाशित र प्रसारित आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । यसरी प्राप्त समाचार, लेख, रचनालगायतका सामग्रीहरुको अध्ययन गरेर यस बर्षको वातावरण पत्रकारिता पुरस्कार पत्रकार यम बमलाई दिने निर्णय गरेको हो ।