Wednesday, November 6, 2024

राप्ती नदीमा छाडिएको घडियाल कलकत्ता नजिकैको हुग्दी नदीमा

काठमाडौ, जेठ ११ (हाकाहाकी)– चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट राप्ती नदीमा छाडिएको एउटा घडियाल गोही भारतको कलकत्ता नजिकै हुग्दी नदीको चाकाडा भन्ने ठाउँमा फेला परेको छ ।

निकुञ्जको गोही प्रजनन केन्द्रको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत चैत ४ गते राप्तीमा छाडिएको सो गोही एक हजार ६२ किलोमिटर टाढा सो नदीमा पुगेको हो ।

यही जेठ ४ गते माछा मार्ने क्रममा जालमा गोही फेला परेको उहाँले जानकारी दिनुभयो । गोही राप्ती नदीबाट नारायणी नदी, गण्डक हुँदै कोशी पार गरेर हुग्दी पुगेको उहाँको भनाइ छ । गोही छोड्दा राखिएको नम्बरका आधारमा यहीको गोही भएको पहिचान गरिएको हो ।

उहाँका अनुसार विसं २०७१ जेठमा फूलबाट कोरलिएको सो गोही नदीमा छोड्दा ६८७ नम्बर राखिएको थियो । २ दशमलव ६ मिटर लामो सो गोही २६ किलोको थियो । पुच्छर काटेर नम्बर लगाएकाले गोहीको पहिचान गर्न सजिलो भएको हो । विश्वमा नै शङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही गङ्गा र आसपासका नदीमा मात्र पाइने गर्छ ।

नेपालमा हरेक वर्ष नदीमा गोहीको फूल सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छाड्ने गरिएको छ । तर गोही गण्डक को ब्यारेज कटेर भारततर्फ जाने क्रम बढेका छ ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ ।

नदीमा छाडिएकामध्ये राप्तिमा मात्र हालसम्म ८३५ गोही छाडिएको उहाँले जानकारी दिनुभयो । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बढ्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार