काठमाडौ, बैशाख २३ (हाकाहाकी)– पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।
पाँच वर्षमा भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको छ ।
अहिले १४१ सम्पदा पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत १७० सम्पदामा क्षति पुगेको थियो ।
उपत्यकामा क्षतिग्रस्त बनेकामध्ये १०१ अर्थात् ५९ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी ५४ अर्थात् ३२ प्रतिशत पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
भूकम्पले क्षति पुगेका सम्पदा पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बजेट व्यवस्थापन र समन्वयको काममात्र प्राधिकरणले गरेको हो ।