Sunday, November 17, 2024

कोरोना असर – पर्यटनमा ‘ब्रेक’, सुनसान पर्यटकीय क्षेत्र


पोखरा, फागुन १९ पर्यटन व्यावसायीले फेब्रुअरीलाई पर्यटकीय सिजन सुरुवाती महिना मान्छन् । मेसम्म पर्यटनको मुख्य सिजन चल्छ । तर, योपटक सिजनको सुरुवाती समयमै विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा त्यसको मार पर्यटन क्षेत्रले नराम्ररी खेप्नुपरेको छ । अहिलेसम्म नेपालमा भाइरस संक्रमणकै कारण मानवीय क्षति नभईसकेपनि पर्यटकको आउजाउमा भने ठुलो असर परेको व्यावसायीले बताएका छन् ।

पर्यटनमा मानवीय आउजाउ नै मुख्य मानिन्छ । तर यो पटक विश्वव्यापी रुपमा हिडडुल नै रोकिने गरि भाइरस संक्रमण फैलिँदा त्यसको प्रत्यक्ष मार पोखराको पर्यटन क्षेत्रले खेपेको व्यावसायीको भनाई छ । चीनबाट सुरु भएको कोरोना भाइरस त्रास अहिले विश्वव्यापी फैलँदै जाँदा चिनियाँसँगै अरु मुलुकका पाहुनाको पनि आउजाउमा असर परेको व्यावसायीको भनाई छ ।

‘पर्यटनमा भाईरसको त्रास भयो । भाइरसको त्रास पर्यटन क्षेत्रमा घातक मानिन्छ,’ पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘विदेशी मात्र नभई आन्तरिक पर्यटनमा पनि अप्ठेरोको संकेत देखिएको छ ।’ भाइरस संक्रमणको त्रासले चिनियाँ पर्यटकको सबै बुकिङ रद्द भईसकेको र अरु मुलुकका पर्यटकले पनि नेपाल नआउने बताईसकेका छन । चिनियाँसँगै जापान, कोरिया लगायतका मुलुकका पर्यटक पनि नेपाल आउन नचाहेको व्यावसायीले बताए ।

नेपालमा मार्चमा करिब ४५ सय जापानी, १४ हजार चिनियाँ र ४५ सय कोरियन पाहुना आउने अघिल्ला वर्षको तथ्यांक छ । तर, अहिले यी सबै मुलुकका पाहुनाको आगमन करिब शुन्यमा झरेको छ । पश्चिमाञ्चल होटल संघ पोखरामा करिब ४०० होटल आवद्ध हुँदा करिब २२ हजार बेड संख्या रहेको अनुमान छ । एकरातमा ३० हजार पाहुना राख्नसक्ने क्षमता ती होटलसँग छ । त्यसबाहेक संघमा आवद्ध नभएका सयौं होटल रहेका छन् । ती सबै होटलका कोठा यो बेला रित्तिएको व्यावसायीले बताएका छन् ।

नेपाल आउने विदेशी पर्यटकमध्ये कतिपयले चीनलाई ट्रान्जिट बनाउँदै आउँदा अब ती पाहुनाको आगमन रोकिएको व्यावसायीको भनाई छ । ‘यो समय चिनियाँ पाहुनामा निर्भर थियो । तर, अरु पनि मुलुकका पाहुना नआउने सम्भावना छ । किनकी कतिपय मुलुकले आफन नागरिकलाई आउजाउमै रोक लगाउन थालिसकेका छन,’ उनले भने, ‘यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने यकिन नहुँदा झनै अप्ठेरो आइपरेको छ ।’

माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईले पोखरा आउन चाहेका कोरियाका सबै पाहुनाको बुकिङ रद्द भएको बताए । ‘फेब्रुअरीका लागि बुकिङ गरेको कोरियन पनि आएनन् । मार्च–अप्रिलमा कोरियनको बुकिङ नै छैन,’ भट्टराईले भने, ‘चिनियाँ नआउँदा नोक्सान खेपेका थियौ । अब त अरु मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुन थाल्यो ।’ नेपालमा यतिबेला जापानी पाहुना आउने सिजन पनि हो । तर, जापानी पाहुनाको बुकिङ पनि नआएको उनले बताए । ‘यूरोपियन मुलका पाहुनाको सानो आकारको बुकिङ अझै बाँकी छ । तर, त्यो बुकिङ अनुसार पाहुना आउने हुन् वा नआउने भन्नेमा आशंका छ,’ उनले भने, ‘सबैतिरका पाहुनाको आगमनमा असर पारेको हुँदा यूरोपियन मुलका पाहुना आउने सम्भावना कम छ ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार अघिल्ला वर्ष मार्च–अप्रिल महिनामा पोखराका होटलको अकुपेन्सी करिब ८० प्रतिशत हाराहारी हुन्थ्यो । केही आन्तरिक बाहेक अधिक हिस्सा विदेशी पाहुनाले ओगट््दा होटलको अकुपेन्सी ह्वात्तै उकालो लाग्थ्यो । अक्टोबर–नोभेम्बरमा जस्तै मार्च–अप्रिलमा पनि यहाँ प्रयाप्त पाहुना आउँदा व्यावसायी हौसिन्थे । अक्टोबर नोभेम्बरमा चाँडबाँड पर्ने भएकोले त्यो बेला बढी आन्तरिक पाहुना पोखरा आउँथे । तर यतिबेला विदेशीको सिजन हो । यो सिजन पदयात्रा र नेपालको हावापानी उपयुक्त हुने भएकोले पनि विदेशी बढी भित्रिन्थे । तर मार्च सुरु हुँदा पनि यो वर्ष बुकिङ न्यून रहेको उनले बताए ।

‘यूरोपियन मुलुक सहित अमेरिकातिर पनि भाईरस संक्रमण फैलिँदा झनै गाह्रो भएको छ । सबैतिर जोगिन गाह्रो भयो,’ पराजुलीले भने । पराजुलीका अनुसार केही आन्तरिक र फाट्टफुट्ट रहेका विदेशीका कारण यहाँका होटलको अकुपेन्सी यो बेला बढीमा १५ प्रतिशत रहेको अनुमान छ । ‘पर्यटनमा कठिन परिस्थिति आईपरेको छ । यो अप्ठेरो कहिलेसम्म लम्बिन्छ भन्ने यकिन भएन । भाइरसले कुन रुप लिन्छ भन्ने पनि यकिन छैन,’ उनले भने । जलवायु परिवर्तनको मार खेप्ने क्रममा विश्वभर नै नयाँनयाँ भारइसको चुनौती थपिँदै गएको उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारत र नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको बताईसकेकोले पनि यसको असर लम्बिने संकेत व्यावसायीले पाइसकेका छन् । ‘पर्यटन मात्र नभइ उद्योग धन्दा सधैतिर यसको असर पक्का छ । पर्यटन व्यावसाय त झनै अप्ठेरो अवस्थामा पुगेको छ,’ उनले भने, ‘आन्तरिक पाहुना पनि आउने सम्भावना छैन ।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का पूर्व अध्यक्ष सुर्य भूजेलका अनुसार चिनियाँको आगमन शुन्य भएको र अरु मुलुकका विदेशी पनि आउन डराएका छन् । एकाध भारतीय र केही आन्तरिक पाहुनाको भरमा व्यावसाय संचालन गरेको उनले बताए । ‘सिजनको सुरुवात हो । यतिबेला चिनियाँसँगै अरु मुलुकका पाहुनाको आगमन हुँदा हामीलाई व्यस्त बनाउँथ्यो । तर, पाहुना नै आउने अवस्था रहेन,’ उनले भने, ‘यो बेला चिनियाँसँगै फ्रान्स, स्पेन, इटली, अमेरिकन, जापानी पाहुना आउने समय हो । तर, चिनियाँसँगै अरु मुलुकका पाहुनाका आगमन पनि कम भईसकेको छ ।’

पर्यटकीय सिजन चल्दा बेलुकीपख चम्किने लेकसाइड सुनसान छ । रेस्टुरेन्ट सुनसान छन् । बाटो खालि देखिन्छ । चहलपहल नै कतै देखिन्न । व्यावसायी खिन्न अवस्थामा देखिने गरेका छन् । ‘भूकम्पपछिको अवस्था भन्दा पनि सुनसान बनेको छ,’ उनले भने, ‘भूकम्पको बेला बरु पर्यटकले सहयोगीको भावना देखाएर आउन चाहेका थिए । योपटक सबैतिर आउजाउ रोकिने अवस्था आउँदा झनै सुनसान भयो ।’

अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले राजनीति, भूकम्प, नाकाबन्दी, डेंगी भन्दा पनि कोरोना भाईरस झनै डरलाग्दो भएको र त्यसको नोक्सान हिसाब गरिसाध्य नभएको बताए । ‘कहिले भूकम्प त कहिले बाढि, अनि राजनीतिक, सामाजिक हुँदै अहिले भाइरसको समस्याले व्यावसाय तहसनहस भएको छ,’ भट्टराइले भने, ‘ठुला मात्र नभई गाउँमा खेतीपाती र पशुपालन गर्ने किसान पनि कोरानाको मर्कामा छन् । संक्रमण नै फैलिएको नभई भाइरसका कारण ब्यापारमा गिरावट आएको छ ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन विदेशी पाहुना आउँदा पनि भाइरस संक्रमण फैलिने त्रास रहेको बताउँछन् । ‘स्वास्थ्य जोगाउनै हम्मेहम्मे हुने अवस्था आइप¥यो,’ उनले भने, ‘भाइरस संक्रमणको मार एकवर्ष पर्ने निश्चित छ । व्यावसाय भन्दा पनि स्वास्थ्य अवस्था जोगाउन समस्या भएको छ ।’ व्यावसाय दोश्रो प्राथमिकतामा पुगेको उनले सुनाए । ‘पहिलो प्राथमिकता त कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्ने रह्यो,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार