Tuesday, November 19, 2024

सुदूरपश्चिममा जलविद्युत : सम्भावना धेरै, उत्पादन कम

महेन्द्रनगर – सुदूरपश्चिम सबैभन्दा बढी जलविद्युत उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिम प्रदेशमा मुलकभरिको कुल जलविद्युत उत्पादनको २२ प्रतिशत उत्पादन क्षमता छ । यहाँ १८ हजार १ सय ४९ मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ।

तर, सुदूरपश्चिम प्रदेशमा हालसम्म ४२.८ मेगावाट मात्रै जलविद्युत उत्पादन भएको छ । सुदूरपश्चिममा जलविद्युत उत्पादन क्षमता धेरै भएपनि थोरै मात्र उत्पादन गर्न सकिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्ण बताउँछन् । उनका अनुसार सुदूरपश्चिममा ३० मेगावाटको चमेलिया, ८.५ मेगावाटको नौगाड, ३.३ मेगावाटको कपाडीगाड र १ मेगावाटको जेउलीगाड गरी ४२.८ मेगावाट विद्युत उत्पादन भएको छ।

जलविद्युत उत्पादनको सम्भावनालाई सदुपयोग गर्न सके सुदूरपश्चिम प्रदेशको आर्थिक स्तरलाई समृद्ध बनाउन सकिने उनी बताउँछन् । ‘जलविद्युत आर्थिक वृद्धि र आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण साधन हो,’ उनले भने, ‘तर, सरकारले विद्युत उत्पादनमा पर्याप्त लगानी गर्न सकेको छैन् ।’ सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट क्षमताका ९ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको विद्युत विकास विभागका सूचना अधिकारी निशा रिजाल बताउँछिन । उनका अनुसार ५४ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजना निर्माणको तयारी भइरहेको छ । सुदूरपश्चिममा वृहत् कर्णाली चिसापानी आयोजनाको क्षमता १० हजार ८ सय, पञ्चेश्वर आयोजनाको क्षमता ६ हजार ८ सय, पश्चिम सेतीको आयोजनाको क्षमता ७ सय ५० र एसआर सिक्स आयोजनाको क्षमता ६ सय ५२ मेगावाट रहेको छ।

यी आयोजना निर्माणको विषय वर्षौदेखि उठे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्युत विकास विभागको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका बझाङमा कालङ्गा १५.३ मेगावाट, कैलालीमा कापडीगाड ३.३ मेगावाट, दार्चुलामा मकरीगाड १० मेगावाट, नवगाड १ मेगावाट, माथिल्लो नवगाड ८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेको छ।

यसैगरी, बझाङमा सनिगाड १०.७ मेगावाट, माथिल्लो कालङगाड ३८.८ मेगावाट र डोटीमा माथिल्लो गड्डीगाड १.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेका छ । ५४ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता भई निर्माणको चरणमा रहेको विद्युत विकास विभागका सूचना अधिकारी रिजालको भनाई छ।

उनका अनुसार विद्युत खरिद सम्झौता भई बझाङको जागडीगाड, सानो सुनीगाड, डोटीको माथिल्लो गड्डीगाड, दार्चुलाको नवगाड र चमेलिया निर्माणको चरणमा छन्। सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादनका लागि प्रति मेगावाट करिब २० करोड रुपैयाँ खर्च हुने सूचना अधिकारी रिजाल बताउँछिन् । सुदूरपश्चिममा रहेको जलविद्युत उत्पादन क्षमता अनुसार करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्च हुन्छ । विद्युत विकास विभागको तथ्यांक अनुसार नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ। विद्युत उत्पादनका लागि पुँजी लगानीको व्यवस्थापन, विदेशी लगानीकर्ताको आकर्षण, विद्युत खरिद सम्झौता गर्नमा चुनौती रहेको विद्युत विकास विभागका सूचना अधिकारी रिजाल बताउँछिन्। सुदूरपश्चिम प्रदेश सरकारले जलविद्युत उत्पादनलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने उनको भनाई छ।

सुदूरपश्चिम डेढ वर्षमा आत्मनिर्भर हुुने
सुदूरपश्चिम प्रदेश डेढ वर्षभित्र जलविद्युतमा आत्मनिर्भर हुने भएको छ। सुदूरपश्चिम प्रदेशको बझाङ बालंगा बेसिनका ३ जलविद्युत आयोजना निर्माण भएपछि सुदूरपश्चिम प्रदेश आत्मनिर्भर हुनेछ । कालंगा बेसिनका आयोजनाको निर्माण कार्य तीव्र रुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्ण बताउँछन्। उनका अनुसार कालंगा बेसिनको अपर कालंगा ३८.४६ मेगावाट, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट विद्युत उत्पादन हुनेछ।

सुदूरपश्चिम प्रदेशमा करिब ६४ मेगावाट विद्युतको माग रहेको उनी बताउँछन् । उनका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा ४२.८ मेगावाट विद्युत उत्पादन हुन्छ। बझाङका ३ आयोजनाबाट विद्युत उत्पादन भएपछि सुदूरपश्चिम प्रदेशको आफ्नो उन्पादन १०६.८ मेगावाट विद्युत हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार