महेन्द्रनगर– कञ्चनपुर जिल्लामा स्थानीय तह, सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारको लगानीमा जताततै सडक निर्माण भइरहेका छन्। अधिकाश निर्माणधीन सडकको निर्माण कार्य सुस्त छ। निर्माण सुस्त हुँदा अधिकांश सडक धुलाम्य बनेका छन्।
निर्माणाधीन सडक पानी पर्नासाथ हिलाम्मे र घाम लाग्दा धुलाम्य हुन्छ। यो समस्या अहिले जिल्लामा जताततै छ। निर्माणाधीन सडकमा कतै खाल्डाखुल्डी त कतै निर्माण सामाग्री थुपारिएको छ। सडकमा जताततै खाल्डाखुल्डी हुँदा पानी पर्नासाथ ताल बन्छ। जिल्लाको दक्षिणी क्षेत्रसँग जोड्ने सडक निर्माणाधीन अवस्थामा छन्। तर, निर्माण शुरु भएको समयावधि सकिँदा समेत सडकले पूर्णता पाउन सकेको छैन।
कञ्चनपुरमा हुलाकी सडक र कलुवापुर–बेलौरी सडकले पूर्णता नपाउँदा अहिले सडक धुलाम्य भएको छ। साना तथा ठूला सवारीसाधन गुड्दा सडक धुलाम्य हुन्छ । सडकमा उड्ने धुलोले सडक छेउछाउमा रहेका घर तथा खेतबारी सेताम्मे हुने गरेको छ। समयमै सडक कालोपत्रे नहुँदा उक्त सडकमा यात्रा गर्नेले सास्ती भोग्नु परेको छ। सर्वसाधारण जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य भएका छन्। सडक छेउछाउका बस्तीमा बसोबास गर्नेको स्वास्थ्यमा समेत समस्या देखिन थालेको स्थानीय बताउँछन्।
कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडक र कलुवापुर बेलौरी सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज भएको बेलौरीका कृष्णप्रसाद गौतम बताउँछन्। ‘हुलाकी सडक र कलुवापुर बेलौरी सडक निर्माण कार्य शुरु भएको धेरै समय भयो । तर, अहिलेसम्म सडक निर्माण सुस्त छ,’उनले भने,‘सडक निर्माण सुस्त हुँदा सडक छेउछाउका स्थानीय बासिन्दा र यात्रु समस्यामा परेका छन्।’ सडकमा उड्ने धूलोले मानव स्वास्थ्यमा समेत समस्या देखिन थालेको उनी बताउँछन् । सडकमा धेरै खाल्डाखुल्डी र पानी पर्नासाथ हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने गरेको उनको भनाइ छ। लामो समयसम्म सडक निर्माण सुस्त हुँदा जनताले दुःख पाउने गरेको स्थानीय शिवराज कँडेल बताउँछन्।
‘विकास गर्दा केही अप्ठ्यारो हुनु स्वभाविक हो,’ उनले भने,‘तर, कलुवापुर बेलौरी सडक र हुलाकी सडकको निर्माणको काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले समस्या भोग्नु परेको छ ।’ निर्माण व्यवसायीले निर्माणाधीन सडकमा पानी छर्किनु पर्ने भएपनि कलुवापुर–बेलौरी खण्डमा त्यसो नगरेको उनको गुनासो छ । उनले निर्माण व्यवसायीलाई सडक निर्माणको काम तीव्र गतिमा गर्नुका साथै पानी छर्किन आग्रह गरे । सडकमा जथाभावी रुपमा निर्माण समाग्री थुपारिदा दुर्घटनाको समेत जोखिम बढेको छ ।
४ किलोमिटर मात्र कालोपत्रे
कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडक निर्माणको कार्य सुस्त छ । ६२ किलोमिटर हुलाकी सडक ३० महिनामा निर्माण गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । तर, ३३ महिनामा डोकेबजार–बेलौरी खण्डमा ४ किलोमिटर मात्र सडक कालोपत्रे गरिएको छ । हुलाकी सडक ३ प्याकेजमा निर्माण भइरहेको छ । उक्त सडक निर्माणको ६० प्रतिशत काम सकिएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इन्जिनियर पदमबहादुर मडै बताउँछन् । उनका अनुसार ३ प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएको थियो । पहिलो र दोस्रो खण्डको समयावधि ८ महिना थप गरिएको छ। डेकेबजार–बेलौरी २० किलोमिटर र बेलडाँडी–दैजीसम्म २२ किलोमिटर सडक निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ। दुबै प्याकेजको ६० प्रतिशत काम सकिएको इन्जिनियर मडैको भनाई छ। बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबाहंश सिद्धीसाई जेभीले पाएको छ। अहिलेसम्म बेलौरी–बेलडाँडी खण्डमा ५५ प्रतिशत मात्रै काम भएको छ । १ अर्ब ९ करोडभन्दा बढी लागतको हुलाकी सडक आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको छ।
कलुवापुर–बेलौरी सडकको काम सुस्त
व्यापारका लागि महत्त्वपूर्ण मानिएको कलुवापुर–बेलौरी सडक निर्माण गति नलिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। सडक निर्माणको जिम्मा पाएको सन्तोषी थेगिम जेभीले काम नर्गदा सडक धुलाम्मे र खाल्डाखुल्डीले भरिएको छ। सीमावर्ति भारतीय बजार खजुरियासम्म जोड्नका लागि ४ दशकअघि सर्वेक्षण गरिएको सडकले हालसम्म पनि पूर्णता पाएको छैन्। सडकले पूर्णता नपाउँदा सर्वसाधारणले जिल्ला सदरमुकाम महेन्द्रनगर पुग्नका लागि निकै कष्ट पूर्ण यात्रा गर्न बाध्य छन्। कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका स्थानीयको आरोप छ। कच्ची सडककै कारण २७ किमीको यात्रा तय गर्न यात्रुले रु १ सय ६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ।
खेतमा उत्पादित तरकारी बजारसम्म पुर्याउन समेत समस्या हुने गरेको किसान साइटु चौधरीले बताउँछन्। सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेको तरकारीले बजार नपाएको उनको भनाई छ। सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो। सन्तोषी थेगिम जेभीसँग १८ करोड २० लाखमा कलुवापुर–बेलौरी सडक निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कम्पनीले २०७५ भदौ १५ गतेभित्र निर्माण कार्य सक्नु पर्ने थियो । तर, निर्माण व्यवसायीले बजेट अभावको कारण देखाउँदै सडक निर्माणमा ढिलासुस्ती गरेको छ।