Tuesday, November 19, 2024

बजेट अभावले मन्त्रीकै निर्वाचन क्षेत्रमा १६ खानेपानी योजना अलपत्र

महेन्द्रनगर– मंसिर पहिलो साता कञ्चनपुर आएकी खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माणाधीन केही खानेपानीका योजनाको अनुगमन गरिन। खानेपानी आयोजनाको अनुगमन गर्दै उनले निर्माणाधीन योजनामा अब बजेट अभाव नहुने बताइन्।

तर, खानेपानी मन्त्रीकै निर्वाचन क्षेत्रमा बजेट अभावले निर्माणाधीन खानेपानीका योजनाले पूर्णता पाउन सकेको छैन्। उनको निर्वाचन क्षेत्रमा १६ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन्। निर्वाचन क्षेत्र नम्बर १ को पुर्नवास नगरपालिकामा ४, बेलौरी नगरपालिकामा ६, लालझाडी गाउँपालिकामा ५ र बेलडाँडी गाउँपालिकामा निर्माणाधीन १ खानेपानी योजनाले बजेट अभावमा पूर्णता नपाएको स्थानीय जनप्रतिनिधि बताउँछन्।

बजेट अभाव हुँदा बेलडाँडी गाउँपालिका–२ मा निर्माणाधीन खानेपानी आयोजनाले पूर्णता नपाएको बेलडाँडी गाउँपालिकाका प्रमुख धनबहादुर थापाको भनाई छ । ‘खानेपानी आयोजना निर्माण कार्य शुरु भएको वर्षौ भयो, बजेट अभावका कारण अहिलेसम्म पूर्णता पाएको छैन,’ उनले भने, ‘खानेपानीमन्त्रीसँग यो समस्या राख्दै आएका छौँ, उहाँले खानेपानीका योजनामा बजेट अभाव हुन दिदैनौँ त भन्नुहुन्छ तर पर्याप्त बजेट विनियोजन हुँदैन।’ खानेपानी योजनालाई पूर्णता दिन लाखौं रुपैयाँ आवश्यक पर्ने उनी बताउँछन्।

‘स्थानीय तहको बजेटले खानेपानीका योजना निर्माण गर्न सकिदैन्,’ उनले भने,‘एउटै योजना सम्पन्न गर्नका लागि गाउँपालिकाको पूरै बजेट लगाउनु पर्छ।’ लालझाडी गाउँपालिकामा निर्माणाधीन ५ खानेपानी आयोजनामा बजेट अभाव भएको गाउँपालिका अध्यक्ष मदनसेन बडायक बताउँछन्। उनका अनुसार लालझाडी गाउँपालिकाको वडा नम्बर ३ मा २ खानेपानी योजना, वडा नम्बर १ मा १, वडा नम्बर २ मा १ र वडा नम्बर ५ मा निर्माणाधीन १ खानेपानी योजनामा बजेट अभाव छ।

निर्माणधीन खानेपानी योजनालाई पूर्णता दिनका लागि करोडौं बजेट आवश्यक पर्ने उनको भनाई छ । ‘यी खानेपानी योजनालाई पूर्णता दिनका लागि केन्द्र सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘खानेपानीका अयोजनालाई सरकारले प्राथमिकतामा राख्नु पर्छ ।’ बेलौरी नगरपालिकामा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले निर्माण शुरु गरिएका योजनामा बजेट अभाव हुँदा अधुरै रहेको बेलौरी गाउँपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए । उनका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ५ मा २, वडा नम्बर ७ मा १, वडा नम्बर ६ मा १ वडा नम्बर २ मा १ र वडा नम्बर ८ मा निर्माणाधीन १ खानेपानी योजनामा बजेट अभाव छ । अधिकांश खानेपानी आयोजनामा बोरिङ मेसिन गाडेर ओभर हेड ट्यांकी निर्माण गरिए पनि पाइपलाइन विस्तार हुन नसकेको उनको भनाई छ । यसैगरी बजेट अभावले पुर्नवास नगरपालिकामा निर्माणाधीन ४ वटा खानेपानी योजना सम्पन्न हुन सकेको छैन् । आर्सेनिकको मात्रा उच्च भएको क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना शुरु भएपनि योजनाले पूर्णता नपाउँदा स्थानीय आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्।

१ सय ६४ योजना अलपत्र
कैलाली र कञ्चनपुरमा निर्माणधीन १ सय ६४ खानेपानीका आयोजना अलपत्र परेका छन् । बजेट अभाव भएपछि खानेपानीका आयोजना अलपत्र परेका हुन् । सरकारले कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०६४÷०६५ सालयता सञ्चालन गरेका खानेपानीका योजना सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख मोहनबहादुर कुँवर बताउँछन्।

‘बजेट अभाव हुँदा १ दशक अघि शुरु गरिएका खानेपानी आयोजना अहिलेसम्म सम्पन्न हुन सकेका छैनन्,’ उनले भने,‘आर्थिक वर्ष २०६४/०६५ मा सञ्चालन गरिएका योजना मध्ये अहिलेसम्म १ योजना मात्र सम्पन्न भएको छ ।’ सरकारले वार्षिक रुपमा कुल लागतको २३ प्रतिशत मात्रै बजेट विनियोजन गर्ने भएकाले खानेपानीका योजना सम्पन्न गर्न नसकिएको कुँवरको भनाई छ। उनका अनुसार सरकारले कैलाली र कञ्चनपुरका ७० प्रतिशत नागरिकलाई मध्यम तथा उच्च गुणस्तरको खानेपानीमा पहुँच पुर्‍याउने उद्देश्यका साथ खानेपानीका आयोजना शुरु गरेको थियो।

‘कैलाली र कञ्चनपुरका ८५ प्रतिशत नागरिक सरकारी मापण्डको खानेपानीको पहुँच बाहिर छन, ती मध्ये ७० प्रतिशत नागरिकलाई खानेपानीको व्यवस्था गर्ने लक्ष्य सरकारको थियो’, उनले भने । स्थानीय उपभोक्ताको सहयोग र बजेट पर्याप्त भए खानेपानीका योजना ३ वर्षभित्र सम्पन्न गर्न सकिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख कुँवर बताउँछन् । कैलाली र कञ्चनपुरमा निर्माणधीन खानेपानीका आयोजना सम्पन्न भएपछि यहाँका ७० प्रतिशत नागरिकले सरकारी मापदण्डको पानी प्रयोग गर्न पाउने उनको भनाई छ।

ताजा समाचार

सम्बन्धित समाचार