कैलाली– पिकनिक, शैक्षिक भ्रमण, मनोरञ्जन होस् या घुमघाम आन्तरिक पर्यटकको रोजाइमा अब तालतलैया पर्न थालेका छन्।
घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, धनगढी उप–महानगरपालिका–७ देवरियामा रहेको जाखोर ताल, कैलारी गाउँपालिका–१ मा रहेको लट्ठहुवा र वडा नम्बर–३ मा रहेको कमल पोखरी ताल, कैलारीकै वडा नम्बर–९ मा रहेको कोइलही ताललगायतका जलाशययुक्त क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरू बढ्न थालेका छन्।
ताल क्षेत्रमा चराचुरुङ्गी, वनस्पति, माछा लगायतका जलचरको अवलोकनका साथै डुङ्गा सयर गर्न आन्तरिक पर्यटक तालतलैयामा आउने गरेका छन्। जाखोर ताल घुम्न आएका धनगढी उप–महानगरपालिका फूलबारीका सरिता मगर भन्छिन्, ‘पहिलाको तुलनामा जाखोर तालको स्वरूप निकै परिवर्तन भएकाले घुम्न आनन्द आउने भएको छ। ’जङ्गलका बिचमा ताल त्यो पनि फोहोर मात्र थियो पहिले तर अहिले निकै राम्रो भएको बताइन्।
विगतमा पिकनिक खान टाढा–टाढाका खोला तथा जङ्गलमा जानुपर्ने बाध्यता थियो। तर, अहिले नजिकैका जलाशययुक्त क्षेत्रमा पिकनिक खान आउनेको सङ्ख्या बढेको स्थानीय राम चौधरीले बताए। परिवार र साथीभाइको रोजाइमा घुम्न जाने स्थान यहाँका तालहरू पर्ने गरेको धनगढी उप–महानगरपालिका–१ का राजेश खड्काले बताए।
स्थानीय तहले यहाँका प्राकृतिक तथा कृत्रिम तालहरूको संरक्षण गर्न थालेसँगै आन्तरिक पर्यटक पनि बढेका हुन्। तर, अझै पनि तालको निरन्तर सरसफाइ र दिगो संरक्षणमा ध्यान नदिँदा तालहरू फोहोरले फुरिँदै गएका छन्। पूर्वाधार निर्माणसँगै ताललाई कुरूप बनाउने जलकुम्भी तथा फोहोरको निरन्तर सरसफाइ गरिनु आवश्यक छ।
धनगढी उप–महानगरपालिकाले जोखार ताललाई सुन्दर र आकर्षक बनाउनका लागि गुरु योजना तयार पारेको छ। जसअनुसार कामअघि बढेको उपमहानगरपालिकाले जनाएको छ।
गुरु योजनामा ताल वरिपरि ट्रयाक निर्माण, धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, सांस्कृतिक पहिचान झल्काउने सङग्रहालय, प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बिचमा पिकनिक स्थल, मेला स्थल, जाखोर तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, छेउमा साइकल ट्रयाक पनि रहनेको छ।
त्यस्तै घोडाघोडी नगरपालिकाले घोडाघोडी तालको संरक्षण,व्यवस्थापन र पर्यटन विकासका लागि गुरु योजना निर्माणको चरणमा रहेको जनाएको छ।
‘तालको संरक्षण र पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्रको गुरुयोजना निर्माण गर्दै छौँ।’ अहिले गुरुयोजनाको ८० प्रतिशत काम सकिएको नगरपालिकाकी प्रमुख ममताप्रसाद चौधरीले भने, ‘सबैसँगको समन्वयपछि यहाँका जीवजन्तु र चराका लागि संरक्षित क्षेत्र पारिस्थितिक प्रणालीलाई असर नपुग्ने गरी निर्माण गर्ने गुरु योजना तयार हुने छ।’
कैलारी गाउँपालिकाले यहाँ रहेको कमल पोखरी र लट्ठहुवा तालको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य भइरहेको जनाएको छ। कैलारी गाउँपालिकाभरि ठूलासाना गरी ४९ वटा ताल रहेका छन्।
तालको संरक्षण र पर्यटन विकासका लागि गुरुयोजना अनुसार काम हुने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए। उनले तालहरूको प्रचारप्रसारका साथै ताल वरपर बाल उद्यान, मिनी पार्क निर्माण तथा पर्यटकले माछा मार्न पाउने व्यवस्थासमेत गर्ने बताए।
कैलाली जिल्लामा सानाठूला गरी १ सय ९३ प्राकृतिक तालहरू रहेका छन्।