Tuesday, April 22, 2025

‘भिजिट नेपाल-२०२०’ लाई लक्षित गरेर सार्वजनिक सवारी चिटिक्क पारिने

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी महासंघबीच ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गर्दै सार्वजनिक सवारी नियमित सरसफाई गर्ने र मर्मत गर्ने सहमति भएको छ।

एक महिना भित्र सावर्जनिक सवारीमा डस्टवीन राख्ने, मर्मत गर्ने र सरसफाइलाई नियमित बनाउने सहमति भएको हो।

हाकाहाकीसँग कुरा गर्दै महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता रविकुमार पौडेलले भिजिट नेपाललाई मध्यनजर गर्दै गाडीको मर्मत गर्न आग्रह गरिएको बताए।

‘गाडीको अवस्था ठिक छैन, अधिकांशको सीट च्यातिएका छन्, कुचिएको लगायत विभिन्न समस्याहरू छन्। ती सबैलाई सक्दो छिटो व्यवस्थित गर्न हामीले आग्रह गरेका हौं,’ उनले भने।

भ्रमण वर्ष २०२०मा पर्यटकहरूमा नकरात्मक सन्देश नजाओस् भन्नका लागि यो अभियान शुरु गरेको एसपी पैडेलले बताए। ‘स्वच्छ र सफा वातावरणमा भ्रमण वर्ष सफल होस् भन्ने हामो चाहना हो,’ उनले भने।

त्यस्तै नेपाल यातायात व्यवासायी महासंघका महासचिव सरोज सिटौला आफ्नो गाडी आफै सफा गर्नुपर्ने बताउँछन्। ‘आफ्नो साधन म आफैँ सफा गर्छु भन्ने सोचको विकास गरौं,’ उनले भने।

सरकारले सडकको आवश्यक पूर्वाधारको कामहरू गर्नुपर्ने बताए। सडकमा भएका खाल्टाखुल्टी पुर्ने, धुलोको श्रोतहरू कम गर्नुपर्ने र पर्याप्त पानीको व्यवस्था गरिनुपर्ने बताउँछन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको उदहारण दिँदै सरकारको इच्छाशक्ति भएकामा यि कामहरू छिटै हुन सक्ने उनले दाबी गरे।

आफूहरू गाडीको सरसफाइ र मर्मत गर्न प्रतिबद्ध रहेको भन्दै उनले भने, ‘सडक मर्मत गर्न जरुरी छ। एकैछिन सडकमा गाडी कुदाउदा गाडीभरी धुलो हुन्छ । पानी छैन, त्यो अर्को कारण भयो। पूर्वाधारमा सरकारले काम ग-यो भने हामी सरकारसँग सहकार्य गर्न तयार छौं।’

भ्रमण वर्ष भन्दा बाहेक अन्य समयमा लागि पनि नीतिगत पहल गर्न जरुरी रहेको बताए। ‘सार्वजनिक सवारीमा डस्टविन राख्ने भनिएको छ। अब त्यो फोहोर विस्थापीत गर्ने कहाँ?।’ उनले प्रश्न गरे। ‘सरकारले यस्ता कुराहरूमा द्रुतगतिमा काम गर्न जरुरी छ,’ उनले थपे।

सरकारले यातायात क्षेत्रमा गर्न लागेको सुधारको प्रयासलाई समर्थन गर्ने बताउँदै महासचिव सिटौलाले सरकारले पनि व्यवसायीको समस्या पनि समाधान गर्नुपर्ने बताए। ७ वर्षदेखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै त्यसमा सरकारले ध्यान दिनुपर्ने बताए।

ताजा समाचार

सम्बन्धित समाचार