गोलबजार (सिराह) – एक दशक अगाडिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदै छ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा छन् । यति धेरै इँटाभट्टाबाट निस्कने धुवाँको असर यहाँको बस्ती, धाँजा फाटेको खेत र आँपको बगैंचा चहारे पुग्छ ।
धुवाँ र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन । न कुनै खाद्यान्न उत्पादन हुन्छ । बस्तीका मानिस श्वासप्रश्वास समस्याले थलिएका छन् ।
गोलबजार मुसहरी वस्तीका रामा सदाय(नाम परिवर्तण) क्षयरोगबाट थलिएका छन् । गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्,‘सुरुमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जँचाउँदा टिबी रहेको थाहा भो ।’ सरकारी अस्पतालले निःशुल्क औषधि त दियो तर कामको चापले नियमित खान बिर्सदा अहिले रोगले झन् चापेको छ । घरमै थला परेका छन् ।
इँटाभट्टाले उत्पन्न गरेको प्रदूषणका सिकार सदाय मात्र एक्लो छैनन्, गोलबजारका अरु पनि थुप्रै मानिस धुवाँको कुहिरो छल्दै निस्सासिएर बस्न बाध्य छन् । गोलबजारका बहादुर सदाय भन्छन्, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो भएर बसिनसक्नु हुन्छ ।’ अर्का सगमलाल सदाय घरआँगन सबै कोइलाको कालोले भरिने बताउँछन्, ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ ।’
राजनीतिक, आर्थिक र सामाजिक रुपमा बलिया इँटा उद्योग सञ्चालकको प्रतिकार गर्ने साहस यी जनतासँग छैन । त्यसैले जति चोट खाए पनि चुपचाप छन् । ‘बोले मालिकले लात हानेर निकालिदिन्छ,’ आश्रितहरु भन्छन्, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ ।’
यहाँका मुसहरहरु वर्खाको तीन महिनाबाहेकको समय भट्टामा काम गरेर पेट पाल्छन् । बस्तीमै भट्टा टाँसिएकाले धूवाँको पहिलो सिकार पनि उनीहरु नै हुन्छन् ।
गोलबजारका स्थानीय भन्छन, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसकी लागिरहन्छ । बिहान उठ्दा नाकबाट कालैकालो निस्कन्छ । लाग्छ, रातभर धुवाँमा सास फेरेछु, बच्चाहरुलाई झन् कति गाह्रो हुँदो हो ।
बढ्दै क्षयरोगी इलाका स्वास्थ्यचौकी गोलबजारका प्रमुख निरञ्जन शाक्यका अनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्यसमस्या बढी रहेको देखिन्छ । दैनिक जचाउने आउने विरामीमध्ये चार पाँचजना श्वासप्रश्वासका विरामी रहेको उनले भने । यो नगरपालिकाका कूल १८ जना क्षयरोगीहरु यस स्वास्थ्य चौकीमा नियमित औषधी सेवन गर्न आउने गरेको शाक्यले बताए । इँटाभट्टाको धुँवाले (कार्वन डाईअकसाईड र कार्वन मोनोअकसाईड) वायुमा मात्र नभई पानी र माटोमा पनि नाकारात्मक प्रभाव पार्ने उनले भने ।
‘चारैतिर बस्तीको बिचमा इँटाभट्टा भएपछि प्रदूषणले मानव स्वास्थ्यलाई हानी गरिरहेपनि कोही बोल्न नसकेको स्थानीय बताउँछन् ।
एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार देशकै पहिलो नगर रहेको घरेलु कार्यालयका उद्योग अधिकृत राजेन्द्रलाल कर्णले बताए । अझ आठदशवटा इँटाभट्टाको लागतकट्टा भैसकेको छ नभए ३० को हाराहारीमा हुन्थ्यो ।
‘पहिलेदेखि नै यी उद्योग सञ्चालनमा छन्,’ उनले भने, ‘यति धेरै उद्योगबाट निस्किएको धुवाँ बस्ती छिरेपछि असर त पक्कै गरिहाल्छ ।’ यति धेरै इँटाभट्टाले कसरी एकै ठाउँ स्थापित हुन वातावरण मूल्यांकन प्रतिवेदन पाए, आफूलाई थाहा नभएको कर्णले बताए ।
प्रतिवेदन तयार पार्दा उद्योग कर्मचारी उद्योग दर्तास्थलमा आउनुपर्ने प्रावधान छ । तर, यहाँ दर्ता भएका उद्योगका हकमा त्यस्तो नभएको घरेलु कार्यालय नै स्विकार्छ । स्थलगत अनुगमन गरेरै प्रतिवेदन तयार पारेको भए यस्तो अवस्था आउने थिएन ।
घट्दै खाद्य उत्पादन
इँटाभट्टा (फिक्स चिमनी) ले फाल्ने हानिकारक धुवाँको प्रभावले गोलबजार नगरक्षेत्र मात्र होइन, आसपासका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ । जिल्ला कृषि कार्यालयको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुवाँले उत्पादकत्वमा असर र्पुयाएको निष्कर्ष निकालेको छ ।
कृषि कार्यालयका अनुसार जिल्लाको अन्य भागको तुलनामा यो क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील मानिन्छ ।
‘आँप, गहुँ, धानलगायत उत्पादन अन्यक्षेत्रको तुलनामा यहाँ अतयन्त कम छ’ स्थानीय प्रमोद यादवले भने,‘धुवाँले वातावरण प्रदूषित बनाउँदाको चरम असर यो क्षेत्रका रुखबिरुवा, अन्न उत्पादनमा देखिए छ ।
वायु प्रदूषणका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा रहेको हालै सार्वजनिक अन्तराष्ट्रिय अध्ययनले देखाएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा हालै सार्वजनिक ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको देखाएको हो ।
प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । ऊर्जा खपत गर्ने उद्योगमा केही न केही जलाइन्छ । त्यसले धुवाँ पनि फाल्छ । इँटा उद्योग मात्र नभई जैविक इन्धनमार्फत ऊर्जा खपत हुँदा धुवाँ निस्कन्छ । इँटा उद्योगमा कोइला बढी प्रयोग हुनाले धुवाँ बढी आउँछ । त्यसमा मिसिने विषालु एसपिएम भन्ने कणलाई गनेर मापदण्ड बनाइन्छ ।
तस्विरःमिथिलेश यादव