Sunday, August 24, 2025

अध्ययन भन्छ– जनावरहरू बोटबिरूवाको गोप्य आवाजमा प्रतिक्रिया दिन्छन्

७ भदौ, काठमाडौँ।

‘जनावरहरूले बोटबिरूवाले निकाल्ने आवाजमा प्रतिक्रिया दिन्छन् जसले गर्दा तिनीहरूबीच अदृश्य पारिस्थितिक प्रणाली हुन सक्ने सम्भावना खुल्छ’, यस्तो सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ ।

यो काल्पनिक तर्क होइन वैज्ञानिक अनुसन्धानको निचोड हो । इजरायलको तेल अभिभ विश्वविद्यालयको एक टोलीले पत्ता लगायो– बिरूवाहरू पीडामा पर्दा वा अस्वस्थ हुँदा चिच्याउछन् ।

यस्तै आवाज पाएपछि पोथी पुतलीहरू गोलभेडाको बोटमा अण्डा राख्न हच्किए । पीडामा रहेका बोट बिरूवामा अण्डा राख्दा अण्डा अस्वस्थ हुनसक्ने अनुमान पुुतलीले गरेका सो विश्वविद्यालयका अनुसन्धाताहरूको ठहर छ । २ वर्षअघिको अनुसन्धानबाट उनीहरूले पीडा र अस्वस्थ हुँदा बोटबिरूवा चिच्याउने तथ्य पाएका थिए ।

बोटबिरूवाले दिएको आवाजबारे कुनै जनावरले प्रतिक्रिया दिएको पहिलो अनुसन्धान दाबी गरिएको छ । यस्तो आवाज मानिसले महसुस गर्न नसक्ने प्रकृतिका हुने तेल अभिभ विश्वविद्यालयका प्राध्यापक योसी योभेलले बताए । ‘तर धेरै कीराहरू, चमेरा र केही स्तनधारी प्राणीहरूले बुझ्न सक्छन्’, उनी भन्छन् ।

अनुसन्धान टोलीको ठहर छ– सबै प्रकारका जनावरले बोटबिरूवाबाट सुनेका आवाजको आधारमा निर्णय गर्नेछन्, जस्तै परागकण गर्ने वा तिनीहरू भित्र लुक्ने वा बिरूवा खाने हुन सक्छन् ।

अब अनुसन्धान विभिन्न बोटबिरूवाहरूले दिने आवाज र अन्य प्रजातिले तिनीहरूको आधारमा निर्णय लिन्छन् या लिँदैनन् भन्नेमा केन्द्रित हुनेछ । ‘तपाईं सोच्न सक्नुहुन्छ त्यहाँ धेरै जटिल अन्तरक्रिया हुन सक्छन् र यो पहिलो चरण हो’, प्रा. योभेल भन्छन् ।

तेल अभिभ विश्वविद्यालयका प्राध्यापक लिलाच हडानीका अनुसार अनुसन्धानको अर्को क्षेत्र बोटबिरूवाले ध्वनिमार्फत एकअर्कालाई जानकारी पठाउन सक्छन् र प्रतिक्रियामा कार्य गर्न सक्छन् कि सक्दैनन् भन्नेबारेमा पनि हुनेछ । खडेरीको अवस्थामा बोटबिरूवाले आफूलाई चाहिले पानी संरक्षण गर्छन्/गर्दैनन् भन्नेबारे धेरैलाई खुल्दुली जगाउने प्रश्न हुनसक्ने उनको भनाइ छ ।

हडानी भन्छिन्, ‘यदि कुनै बोटबिरूवा तनावग्रस्त छन् भने यसबारेमा सबैभन्दा बढी चिन्तित जीव अन्य बोटबिरूवा हुन् र तिनीहरूले धेरै तरिकाले प्रतिक्रिया दिन सक्छन् ।’ उनका अनुसार पतंगले निकालेका आवाजका आधारमा पुतलीले बोटबिरूवामा अण्डा पार्छन् जसले उनीहरूको स्वास्थ्यलाई संकेत गर्छ ।

अध्ययन टोलीका अनुसार बोट बिरूवाले व्यक्त गर्ने ध्वनि स्थानीय अवस्थामा आउने परिवर्तन र भौतिक प्रभावमार्फत उत्पन्न हुन्छन् । प्राध्यापक हदानीका अनुसार वनस्पति र जनावरले आफ्नो पारस्परिक फाइदाका लागि आवाज उत्पादन गर्ने र सुन्ने क्षमता विकास गरेका छन् ।

‘यदि बोटबिरुवाहरू यसको लागि लाभदायक भए भने तिनीहरू धेरै आवाज वा ठूलो आवाज बनाउन विकसित हुन सक्छन् र जनावरहरूको श्रवणशक्ति तदनुसार विकसित हुन सक्छ ताकि तिनीहरूले यो विशाल मात्रामा जानकारी लिन सकून्’, उनी भन्छन् । उनकै शब्दमा– यो एक विशाल, अन्वेषित क्षेत्र हो ।

यस्तो अनुसन्धानको पहिलो पाटो पोथी पुतलीहरूमा केन्द्रित छ । जसले सामान्यतया गोलभेडाको बोटमा आफ्नो अण्डा दिन्छन् ताकि लार्भा निस्किएपछि तिनीहरूलाई खान सकून् ।


इलाइफ जर्नलमा प्रकाशित । स्रोत बीबीसी

ताजा समाचार

सम्बन्धित समाचार