६ भदौ, काठमाडौँ ।
वन्यजन्तुको अवैध चोरी शिकार नियन्त्रणमा अमेरिकाले नेपाललाई विभिन्न उपकरण तथा सामग्री सहयोग गरेको छ ।
अमेरिकाले स्थानीय समुदायलाई साढे ७ लाख डलरभन्दा बढी मूल्य बराबरका उपकरण सहयोग गरेको हो । निकुञ्ज रक्षक, स्वयंसेवी संरक्षक तथा स्थानीय समुदायलाई ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा तथा औषधि उपचार किट लगायतका सामग्री नेपालस्थित अमेरिकी दूतावासका उप–मिसन प्रमुख जेसन मिक्सले हस्तान्तरण गरे ।
मिक्सले अन्तर्राष्ट्रिय लागुऔषध तथा कानूनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरे । मिक्सले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेललाई ती सामग्री हस्तान्तरण गरे ।
ती सामग्री चितवनको सौराहस्थित कोषको जैविक विविधता संरक्षण केन्द्रलाई हस्तान्तरण गरिएको हो । यस्तो सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।