Sunday, August 24, 2025

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’

८ भदौ, बागलुङ ।
बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि यस्तो विधि अपनाइएको हो ।

एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गतको बोक्से–सिगाना सडक निर्माणका क्रममा खसेको पहिरो रोकथाम गर्दै सडक संरक्षण गर्न निर्माण व्यवसायी कर्ण विल्डर्सले एक दर्जन पहिरोमा नेपियर जातको घाँस रोपेको छ । कालोपत्र सडकलाई टिकाउन जोखिमयुक्त स्थानको पहिचान गरी बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको कर्ण विल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिए ।

यसको प्रयोगले सडकको संरक्षणसँगै प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याउने श्रेष्ठको भनाइ छ । बायो इञ्जिनियरिङमार्फत ढुंगा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य सहयोगसँगै स्थानीयलाई घाँसमा समेत सहयोग पुर्याउने गरी नेपियर जातको एक हजार ५ सय भन्दा बढी बिरूवा रोपिएको उनले बताए ।

सडक चौडा बनाएर कालोपत्र गर्द एक दर्जन स्थानमा पहिरो खसेको थियो । पहिरोको दिगो समाधानका लागि पूर्वाधारको काम त कालोपत्रअघि नै गरिन्छ । ‘त्यससँगै अहिले बर्खामा पहिरोमा बायो इञ्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ’, श्रेष्ठले भने, ‘पहिरो खसेको र सम्भावित पहिरोको जोखिम स्थानको पहिचान गरेर नेपियर जातका बहुवर्षीय घाँस लगाइएको छ जसले पहिरो रोकथामसँगै किसानको पशुपालनलाई सघाउँछ ।’

नेपियर उखुजस्तो देखिने बहुवर्षीय घाँस हो । यसको उचाइ २–३ मिटर अग्लो र धेरै झाङ हाल्न सक्ने भएकाले बायो इञ्जिनियरिङ प्रविधिमा प्रयोग गरिन्छ । बायो इञ्जिनियरिङअन्तर्गत काँस, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ । अर्कातर्फ पानीको मुहान सुक्नबाट जोगाउने भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए ।

पहाडी क्षेत्रमा विकास निर्माण गर्दा हरित व्यवस्थापनमा समेत ध्यान दिन थालिएको उनको भनाइ छ । ठूल–ठूला पहिरो समेत बायो इञ्जिनियरिङमार्फत रोकथाम भएको मिश्रले बताए । नेपालको पहाडी भेगमा विकाससँगै भू–क्षय दर घटाउन बायो इञ्जिनियरिङ प्रविधि उपयुक्त मानिन्छ ।

‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको १० किमि कालोपत्र सकेर निर्माण व्यवसायीले बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथाम, मासिएको सिँचाइ कुलो, गोरेटोबाटो निर्माण गरिरहेको छ । उक्त सडक २९ करोड ३७ लाख ८८ हजार रूपैयाँमा २ वर्षअघि सडक डिभिजन कार्यालयले कर्ण विल्डर्ससँग ठेक्का सम्झौता गरी कालोपत्र गरेको हो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार