Wednesday, November 20, 2024

तरकारी तथा फलफूलकाे विषादी परीक्षण : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रयाेशाला बन्दै

काठमाडौँ – पछिल्लो समय विषादीयुक्त तरकारी भित्रन थालेपछि नेपालले आगामी आर्थिक वर्षबाट सम्पूर्ण सीमा नाकामा विषादी परीक्षण गर्ने भएको छ।

नेपाल बाहिरबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीको मात्रा बढी हुने चर्चा चलेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित नेपाल, भारत र चीनको गरी १२ वटा सीमा नाकामा विषादी परीक्षण गर्ने भएको हो।

हाल केन्द्रीय कृषि प्रयोगशालाले भारतबाट आयात हुने तरकारी तथा फलफूलको नमुना संकलन गरी विषादी परीक्षण गर्दै आएको छ। उक्त प्रयोगशाला सीमाबाट टाढा रहेकाले नमुना लिएर टाढा जानुपर्ने र बीचमा रोकिँदा तरकारी तथा फलफूल कुहिने समस्या बढेको गुनासो आएपछि भन्सारमै उच्च प्रविधिका विषादी परीक्षण उपकरण राख्न लागिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन्।

हाकाहाकीसँग कुरा गर्दै प्रवक्ता महर्जनले भन्सारमै विषादी परीक्षण गर्नुपर्ने कुरा उठेकाले विभागले अनुगमन गर्ने तयारी गरेको बताए।

‘विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा बढेको र सरकारले चेक जाँच नगरेको कुरा आइरहेको छ,’ उनले भने, ‘भन्सार मै प्रभावकारी तथा सहज परीक्षण गर्न उच्च प्रविधिका उपकरण राख्ने तयारी गरेका छौँ ।’
सीमामै प्रयोगशाला भएपछि टाढाका स्थानमा रहेका कृषि प्रयोगशालामा नमुना लगेर परीक्षण गर्नुपर्ने बाध्यता हट्ने प्रवक्ता महर्जनको भनाइ छ।

आगामी आर्थिक वर्षबाट शुरु गर्ने गरी तयारी गरिरहेको विभागले हाल परीक्षणका लागि आवश्यक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

एउटा विषादी परीक्षण गर्ने मेशिनको रु १५ लाखका दरले झण्डै दुई करोड बराबरको उपकरण खरिद गर्न लागेको विभागल विषादी परीक्षणका लागि आवश्यक जनशक्ति तयार पार्न तालिमको पनि व्यवस्था गरेको छ।

विभागका प्रवक्ता महर्जनका अनुसार उपकरण नेपाल नआउँदासम्म विषादी परीक्षण गर्ने जनशक्ति तयार हुने गरी तालिम चलिरहेको छ।

यसका साथै हाल सञ्चालनमा रहेको केन्द्रीय प्रयोगशालाको पनि क्षमता बढाउने तयारी भइरहेको प्रवक्ता महर्जनले जानकारी दिए।

हाल केन्द्रीय कृषि प्रयोगशालाले देशको विभिन्न सात स्थानबाट तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ। गुणस्तर विभागको प्रयोगशाला सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थल, चीनको दुई र भारतको नौ वटा नाकामा पनि परीक्षण हुने छ।

ताजा समाचार

सम्बन्धित समाचार