Thursday, April 24, 2025

अगाडि बढ्यो एकीकरण ट्रेल, अर्काे सेमिनार नयाँ दिल्लीमा हुने

काठमाडौँ– नेपाल एकीकरण गर्दा पृथ्वी नारायण शाहले प्रयोग गरेको बाटोहरूमा एकीकरण ट्रेल निर्माण सम्बन्धी एक सेमिनार भारतको नयाँ दिल्लीमा हुने भएको छ।

एकीकरण मार्ग निर्माणको दोस्रो प्रस्तुतीकरण दिल्लीमा हुने भएको हो। हाकाहाकीसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले आगामी मार्च २ मा सो सम्मेलन हुन लागेको जानकारी दिए। सबै राष्ट्रको सैनिक सहचारी नेपालमा नभएकाले दिल्लीमा गरिने भएको उनको भनाइ छ।

‘क्यानडा लगायत केही देशको दूतावास नेपालमा नभएकाले दिल्लीमा गर्न लागेका हौं,’ उनले बताए। सबै राष्ट्रको सैनिक सहचारी र देशका प्रतिनिधिको सहभागिताले नेपाल भम्रण वर्ष २०२० पनि सफल हुने विश्वास पाण्डेले व्यक्त गरे।

नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको एकीकरण मार्ग निर्माणका लागि पछिल्लो समय प्रत्येक प्रदेशमा तैनाथ पृतना हेडक्वार्टरमा एकीकरण मार्ग कार्यदल गठन भई कार्य अघि बढेको उनले जानकारी दिए।

यसका साथै एकीकरण मार्ग कार्यक्रम समन्वय कार्यालय पनि स्थापना गरिएको छ। एकीकरण अभियानसँग सम्बन्धित इतिहासका दुविधाहरूलाई सकभर सर्वस्वीकार्य बनाई पुस्तक प्रकाशन गर्न अनुसन्धान गरी प्रतिवेदन तयार गर्न र बृहद छलफलपछि पुस्तक प्रकाशन गर्ने सम्बन्धमा विज्ञहरूसँग सम्झैता पनि भएको उनले बताए।

एकीकरण मार्ग कायक्रमको अनुसन्धान, प्रकाशन तथा प्रबर्दन समीतिमा इतिहासविद्हरू प्रा डा. त्रिरत्न मानन्धर, प्रा दिनेश राज पन्त, प्रा कमल राज सिंह र सह प्रा डा. विनोद थापा रहेका छन्।

ऐतिहासिक तथ्यमा आधारित भएर विभिन्न गढी किल्ला, पदमार्ग, युद्धस्थलहरू वारे जनजागरण बढाउन डकुमेन्ट्री, ब्रोसर, साईनपोष्ट तथा होडिङ्ग वोर्डहरू राख्ने योजनामा रहेको उनले बताए।

प्रारम्भिक रुपमा नेपाल सरकारले सेनालाई पूँंजीगत तर्फ ४ करोड ६२ लाख र चालु तर्फ ३८ लाख ९ हजार रुपैयाँ वजेट विनियोजन गरेको थियो।

प्राथिमकताको आधारमा ४ करोड ५० लाखको लागतमा सिन्धुली जिल्लाको सिन्धुली गढी नजिक संग्रहालय निर्माण गरिदैँ छ। २०७७ असार सम्ममा बाहिरी स्वरुप र आश्विन महिनासम्ममा भित्री स्वरुप समेत निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस संग्रहालयको शिल्यान्यास उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले कार्तिक २४ गते गरिसकेका छन्।

यस्तै ८ लाखमा काभ्रे जिल्लाको पृथ्वी गढी थुम्की ईलाकामा भ्यु प्वाईन्ट स्थापना गरी सो ईलाकाको स्तरोन्नती गर्ने र यही २०७६ फाल्गुण महिना संचालन हुने एकीकरण मार्ग ट्रेकिङको समयमा सो उद्घाटन गर्ने गरी आवश्यक समन्वय गरिएको उनले जनाए।

एकीकरण अभियानको समयका गढी, किल्लाहरुको पहिचान गरी प्रोफाईल तयार गर्ने तयारी सेनाले गरिरहेको छ।

गोरखादेखी काठमाडौँसम्मको एकीकरण पद मार्गको सम्भाव्यता अध्ययन गर्ने र वृहत्तर सिन्धुली गढी पर्यटकीय क्षेत्र विकास गुरु योजना निर्माण गर्ने भएको छ।

एकीकरण मार्ग कार्यक्रम अन्तरगत जनजागरणको विविध गतिविधिहरू आयोजना गरिने छ। जसमा विभिन्न अवसर पारेर व्याटल सिमुलेशन र नाट्य प्रस्तुति, विजय उत्सव, सैनिक पोशाक तथा हतियार प्रदर्शन, सर्वसाधारणले फोटो खिच्न मिल्ने गरी स्न्याप शट प्वाईन्ट, फोटो प्रदर्शनी, राष्ट्रिय गीतहरुमा नृत्य एवं साँस्कृतिक प्रस्तुति, सैनिक कला प्रदर्शनी, सैनिक व्याण्ड प्रस्तुति, इतिहासविदबाट प्रवचन, एकीकरण पदमार्गमा पदयात्रा आदी जस्ता कार्यहरू संचालन गरिने छ।

नेपाली सेनाबाट नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन गरिने विभिन्न ८ वटा कार्यक्रमहरू मध्ये पहिलो चरणमा उपत्यका पृतना अन्तरगत काभ्रे जिल्लामा मिति २०७६ फाल्गुणमा आयोजना गरिने एकीकरण मार्ग ट्रेकिङ पनि रहेको छ। सो आयोजनापछि पृष्ठपोषणको आधारमा बाँकी ७ वटा पृतनाहरूमा उक्त पदयात्रा कार्यक्रम संचालन गरिने छ।

यो पनि पढ्नुहोस्ः

एकीकरण ट्रेल निर्माणका लागि नेपाली सेनाको ‘टास्कफोर्स’

नेपाल एकीकरणमा प्रयोग भएको मार्गमा ‘ट्रेल’ निर्माण हुँदै

ताजा समाचार

सम्बन्धित समाचार